रैथाने खानपिन संस्कृति विकास गर्नुपर्नेमा मेयर बालेनकाे जाेड

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय परिकार, धर्म, संस्कृति, र कलालाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार स्वयम्भू महोत्सवको उद्घाटन समारोहमा बोल्दै उनले नेपालको मौलिक विशेषता स्थानीय खानपान, कला, धर्म, र संस्कृतिमा रहेको उल्लेख गरे।

उनले महोत्सवले यी पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

मेयर साहका अनुसार नेपाली परिकारहरू अत्यन्त पौष्टिक छन्, जसलाई अहिले विदेशीहरू पनि सिकेर खान थालेका छन्।

उनले भने, ‘हाम्रो विशेषता नै हाम्रो परिकार, धर्म, संस्कृति, र कला हो। यी सबै एक अर्कासँग जोडिएका छन्, र यस्ता महोत्सवले यसलाई प्रचार-प्रसार गर्ने अवसर प्रदान गर्छ।’

उनले नयाँ पुस्ताले पोषणयुक्त खानाको महत्त्व बुझ्न थालेको उल्लेख गर्दै स्थानीय परिकारहरूमा उच्च पोषण मूल्य रहेको जानकारी विस्तार गर्नुपर्ने बताए।

‘हाम्रो परिकारमा भरपुर पोषण छ, तर हामी यसबारे प्रचार गरिरहेका छैनौं। विदेशीहरूले नेपाली खानाको महत्त्व बुझ्दै यसलाई अपनाउन थालेका छन्, त्यसैले यसको प्रवर्द्धन आवश्यक छ,’   उनले थपे।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ को आयोजनामा स्थानीय पहिचान र सम्भावना प्रवर्द्धन गर्ने उद्देश्यसहित एक हप्ते स्वयम्भू महोत्सव शनिबारदेखि सुरु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ