टीकापुर साहित्य महोत्सव’ को दोस्रो संस्करण यही फागुन २४ गतेदेखि सुरू हुने भएको छ।
२६ गतेसम्म आयोजना हुने महोत्सव नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुनेछ। टीकापुरवासीले पहिलो पटक नेपाली कला साहित्यका बहुप्रतिभाशाली विद्वान व्यक्तित्व अभि सुवेदीको विद्वतासँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन्।
महोत्सवमा २१ बहस सत्रहरू रहने भएका छन्। जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नेछन्।
गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा.ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।
नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बिपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्नेछन्।