सुमन बुढाथोकी
यो एउटा सामान्य मान्छे हो। यो मान्छे महान भनिएकाहरुलाई नैसर्गिक शंकाको दृष्टिले परबाट हेर्थ्यो। कुनै महानताको भूत कहिल्यै सवार भएन उसमा। संसारका खुराफातहरुमा कम्तीमा अर्को थप्न हिचकिचाहट थियो उसमा। अर्को अर्थमा, अकर्मण्यताले उसलाई जुम्सो तुल्याएको थियो। संसारको भेडियाधसानबाट निवृत्त भएर आफ्नै मगजको अँध्यारो सुरुङमा घस्रिएर अन्तर्विरोधहरुको खिचातानीमा क्रमशः चिथोरिँदै निर्धो भएको यो मान्छे कुनै अर्थ पनि वुद्धिमान थिएन। मनको कमजोर थियो। वुद्धिको कच्चा थियो। प्रसस्त आध्यात्मिक ‘गोरु’ थियो। आत्मज्ञानको नाममा प्रष्ट भन्न सकिने एउटै मात्र कुरा थियो – उसलाई आफ्नो मगजको साँघुरो सीमा थाहा थियो र दुर्भाग्यको कुरा यसमा उसलाई पक्का अन्धविश्वास थियो।
साँझको गोधूलि आकाश झ्यालबाट टाेलाउँदै हरिलाल उत्पादनशील जवानी आफ्नो मगजको सीमाना खोजेर बिताएछ। नभएको संभावनामा भन्दा भोगिरहेको यथार्थमा ऊ अल्मलिएछ। चौध वर्ष! उसले गन्यो। दोहोरिएर आउने हरेक दिनहरू। एसिड झैँ पोल्ने अस्पष्ट विचारहरु। नवीनतासँगको काँतर डरले खुम्चाउदै कोठाको एक कुनामा कोचिएको एक थान समस्याग्रस्त अस्तित्वको पीडादायी चौध वर्षहरू। ‘रामको वनवास पनि ठीक चौध वर्षको थियो!’ उसले हास्यास्पद तुलना गर्यो। र निराधार निश्कर्ष सुनायो आफैँलाई – ‘भोलि बिहान नयाँ हुनेछ।’ ‘हुनैपर्छ!’ भन्यो। र आफूभित्रको आश्वस्त आवाज सुन्न पर्खेर बस्यो!
झ्यालको शीशामा साँझको बेसारे प्रकाश ठोकिन आएको छ, आकाशको पश्चिमी भागमा एउटा अर्को दिन अस्ताउँदो छ। लामो निश्वास छोड्यो। हजारौँ पटक सोचेका वासी विचारको नमीठो स्वाद मनभित्र रुमलिएको थाहा पायो तर आश्वस्त आवाजको कुनै ठेगान भएन। अन्तिम अस्त्र थियो – जसरी चौध वर्ष एउटा निराधार आदर्शवादी रुमानी तनावमा जिन्दगीका संभावनायुक्त स्वरणीम दिनहरू दाउमा थाप्यो र शून्य हात पार्यो, त्यस्तै अब नयाँ अन्धविश्वासले पुरानोलाई प्रतिस्थापन गर्नेछ। जीवनको अनिश्चितता, परिवेशको निस्पृहता र जगतको रहस्यमयता अब अरू सोच्नुपर्ने आवश्यकता रहेन। कसैबाट जीवन अनुमोदन गराईराख्नुको अर्थ रहेन।
भोलि हरिलाल सबेरै सडकमा निहुरिएर बरालिने छैन। अनीँदो रातको भारी बोकेर ज्वरग्रस्त पहेँलो अनुहारको उदासीले दिनको सलामी दिने छैन। अगाडि पछाडि रुने हाँस्न कोही नभएको हरिलालको जिन्दगी ह्वाङ्ग फैलिएको स्वतन्त्रताको एङ्जायटीले थलिएको मात्र हो, संभावनाको ढोका बन्द गरेर उदास भैदिएको मात्र हो – सकिएको होइन। नरम भागहरू घोटिएर नछोइने भएको मात्र हो, संवेदना मरिसकेको छैन। थाकेर परेलीबाट सपनाहरू लुप्त भएको मात्र हो, मरुभूमि भैसकेको छैन। हरिलालको तर्क र भावना आपसमा घोलिएर निर्णयहीन मात्र भएको हो, मगज हराइसकेको छैन। आफूलाई छरिन नदिने पागलपनले आफैँमा हराएको हरिलाल खासमा हरिलाल नै हो, मालपोतको सुब्बा रामलाल या सिपाही गोपाल या अरू कोही होइन। परिचयको लेबल उसले कहिल्यै पनि चाहेन। मात्र ऊ नेपाली मान्छे हो!
र, बिस्तारै, चौध वर्ष लगाएर, हिँडेर कहीँ नपुगेको यो मान्छेले सबथोक गुमायो जुन उसले प्राप्त गर्न खोजेन अर्थात् केही पनि गुमाएन – जीवनको चौध वर्ष बाहेक!
हरिलाल! हरिलाल! हरिलाल!
कोठाको भित्तामा कुँदिएको हरिलालको चौध वर्ष कुनै अपराधको सजाय भोग्न जेलमा बितेका होइनन्, हरिलालको तुवाँलोग्रस्त चेतनाको जेलमा बितेका थिए। आफैँ कैदी, आफैँ जेलर। हरिलाल आँखामा आत्मबोधको तातो आँसु लिएर सूर्यास्तपछिको धमिलो आकाशमा आफ्नो मूर्खतापूर्ण चौध वर्षहरूलाई क्रमशः अन्धकारमा विलीन भएको देख्दैछ।
हरिलाल! हरिलाल! हरिलाल!
अब यो कोठा जेलस्तो प्रतीत हुँदैन। एउटा नवजात उज्यालो मुस्कुराहट व्याप्त छ – बिजुली बत्तीको, हरिलालको मस्तिष्कभित्र फक्रँदो नवीन अनुभूतिको, अर्को एउटा प्राणघातक आत्मबोधको!
ऊ बिस्तारै हिँडिरहेको थियो अगाडि कहाँ हो कहाँ तन्किएर गैरहेको धुलौटे बाटोमा, जहाँ अपेक्षाहरू चकित पर्छन् अनपेक्षित उद्घाटित हुने वस्तु, मान्छे र घटनाको तीब्र गतिमा, ओइरो लाग्ने रिँगटामा – विचार बन्ने र भत्कने भुकम्पको धक्काहरुले, निश्कर्षहरूको गठन र विगठनमा- जसलाई जीवन भन्छन्।
हरिलाल सधैँ बिस्तारै हिँडिरहेको हुन्छ, मन्द गतिमा । उसको पाइताला मात्र होइन हृदय र मगज पनि, मुस्कान र अधर पनि, जीवन पनि! कसैको करेसाबारीमा उखुको पातजस्तो। बेनियम हावाको झोँका आएर हल्लाएर जान्छ, फेरि आउँछ, जान्छ र उखुको निहुँरिएको पात चार दिशामा हल्लिन्छ र पूर्ववत् आफूमा फर्किन्छ। निस्पृह घाम साक्षी हुन्छ, उदासीन जूनतारा हेरिबस्छन्। हरिलाल बादल हो। बिस्तीर्ण आकाशमा बेघर फकिर बनी चीसो वायुमण्डलमा कहाँ कहाँ पुर्याइन्छ। समस्याहरूको सूरसा मुखहरुमा निक्लन्छ, बाहिर ओकलिन्छ र फेरि निलिन्छ र ओकलिन्छ। प्रतिकार गर्दैन कारण प्रतिकार गर्न ऊ जान्दैन। क्रान्तिकारी गफ सुनेर थाकेपछि बानी बसेको छ निर्विरोध उभिएर घटनाहरूको रमरम, तीखो, आहत भोगेर लामो निश्वास लिएर छोड्ने! यथार्थको ठोस जमिन टेकेर पनि अमूर्त संवेदनाको अम्मली हो हरिलाल। आधुनिक समाजको कोलाहलमा आत्माको चीर खामोशी हो हरिलाल। दृष्टिकोणहरूको कोलाजमा, दृश्यहरूको मोन्टाजमा एउटा ग्याप हो हरिलाल। घटनाहरूको निरन्तरता बीचमा सानो स्पेस हो हरिलाल। भट्टीमा सयौँ हरिलालहरुले थरी थरीका मदिरा भरेर पिउने काँचको गिलास हो हरिलाल। र, जे पिउँछ या जे पिलाइन्छ, त्यो मन्द विष हो व्यवस्था ! हरिलालको एउटा कथा छ औसत दुःखको, औसत अन्यायको! कसले सुन्नेे? ऊ एउटा सस्तो भोट! पार्टीको सदस्यता लिन नसक्ने गुमनाम! जसमाथि कुल्चिएर हिँडिरहन्छ!
अघाएको मान्छे भन्छ – कति सुन्दर संसार!
पेट छाम्दै हरिलाल भन्छ – हो र? हुन सक्छ।
अघाएको मान्छे यसो समाज सेवा पनि गरौं न भन्छ।
हरिलाल सही थाप्छ – परोपकार परम धर्म!
अघाएको मान्छे बाइबल बोल्छ- दाइने हातले गरेको परोपकार देब्रेले पत्तो नपाओस्।
हरिलाल उपनिषद् निल्छ – संसार भ्रम हो, भोक भ्रम हो, तृप्ति भ्रम हो, म अलप हुने संसार पर मेरो घर छ- मेरो सामान कसैको नासो हो, मेरो शरीर उसको बाँसुरी हो – मेरो अभाव उसको आजको संगीत हो। भोलि अर्को संगीत उसैले बजाउला जुन आज उसले बजाएको भन्दा भिन्दै होला।
भोको मान्छे उपनिषद् निल्छ जहाँ भनिएको छ – जीव खानेकुराकै रुप हो, खानेकुरा नै संसार हो। संसार भ्रम हो, भोक भ्रम हो। यो खेल भ्रम हो। जीत हार भ्रम हो।
बाइबलले भँगेरा र लिली खानेकुराको चिन्ताले मर्नुपर्दैन, ईश्वरले हेर्छन् भन्छ। बाइबल पढेर ढाडिएको मान्छे भोको पेटले परोपकार गर्छ, उपनिषद् पढेर भ्रम काटेर हाँस्ने भोको मान्छे पनि परोपकार गर्छ।
धर्मले मर्नु नै बाँच्ने सही काइदा हो भन्छ।
राजनीतिले पनि जनताको सहमति लिएर या नलिएर मार्नु नै अभीष्ट ठानेको देखिन्छ।
धर्म र राजनीति मर्ने उपाय हुन्।
धर्म स्वेच्छाले मर्ने कला हो। राजनीति करले र अनिच्छाले मर्ने बाध्यता हो।
हरिलालको अनुसार यो देशमा धर्म र राजनीति मर्ने चल्तीको दुई सर्वसुलभ उपाय हुन्!
भोक नि? भो ऊ रिसाउँदै ङिच्च हाँस्छ!
असोजको शीतल बिहान। शनिबार – गल्लीमा साबिकको हतारो हल्ला गरिरहेको छैन। फुर्सद गुनगुन गर्दैछ। टोलको मन्दिरमा हजुरबाहरु भजन गाउँदैछन्। आकाशमा प्लेन गुज्रिरहेको छ। कतै कुकुरको बथान हल्ला गर्दैछन्। भित्री गल्लीमा हिंड्दा घरहरूबाट परिवारको मीठो जिन्दगीको गुनगुन सुनिन्छ – आमाले पूजाको घन्टी बजाएको, नानी हाँसेको, गीत बजेको, तरकारीको मन्द सुवास – गल्लीको प्रत्येक घरमा परिवार छन्, प्रत्येक परिवारमा दुनियाँको अनिश्चितता र असुरक्षाको विरुद्ध जीवनप्रति स्वभाविक आस्था छ – मुहारमा मुस्कान, शरीरमा फुर्ती छ। कतै विवेकी समझदारी होला रक्षा कवच, कतै मक्किएको सम्झौता र विश्वासको भरेभोली टुट्ने अन्तिम धागो। कतै बच्चाहरू सदाचारको कखरा आमाबाको सुन्दर सम्बन्धको किताबमा पढ्दै दुनियाँमा ‘असल’ प्रति स्वस्थ आस्था हुर्काउँछन्। कतै ठूलाहरुको झूट र बनावटी जिन्दगीको खोक्रोपन देखेर चकित हुँदैछन्। कतै सोच्दैछन्- संसारमा पूर्ण सेतो र पूर्ण कालो केही छैन, मान्छे देव र दैत्यको सम्मिश्रण पो रहेछ।
गल्लीमा रातमा फुलेर बिहान झरेको पारिजातको फूलको सुगन्ध मडारिएको छ – मृत फूलको जीवन्त सुगन्ध। ऊ बोटमा हाँसेर क्षणमा झरेको कसैले देखेन। दैलो उघार्दा आमाको नजरमा म्वाइँ खाने उही पारिजात भुइँभरि। टोलमा कोही पारिजात जस्तो खोज्नु आवश्यक छैन। अपेक्षा घटना अघिको प्रतिक्रिया हो – यथार्थको परिभाषा र सीमा बाँधेर अपेक्षाले स्वभाविक यथार्थलाई नमीठो र कुरुप पार्छ।
हरेक वर्ष असोजमा मनोरम बिहान आउँछ। भँगेराको कोरसमा टोलको जीवनको कक्टेल संगीत बजाउदै। कहिले झरिलो, कहिले सुख्खा, कहिले भुइँ कुहिरोको ओढ्ने ओढेर कहिले कसैको जन्म दिवस या मृत्यु दिवस बनेर। लामो समय एउटै टोलमा बस्दा यसको गन्हाउने नाली, हिले धूले बाटो, र कुरौटे अपजसे मान्छे आदि कुरुपको परिभाषा नाघेर स्वभाविक बन्छन्। रातमा उदासी या बिहानमा अफ्टेरो लतारेर हिंड्ने गरिब अनुहार र सधैं रवाफ पोतेर अत्तर फैलाएर हिंड्ने धनी अनुहारमा फरक नदेख्ने वैरागी तिनका मुहार पछाडि कृयाशील विचार र भावना गमेर फिस्स हाँसि रहेको देखिन्छ।
चिया पसलमा देश बदलिएको दृश्य धेरै देखिन्छ – गफमा।एक, देश यूरोप र अमेरिकी खेलमा डुब्दैछ। दुई, अराजकता बढ्नु सामान्य मनोवैज्ञानिक प्रतिक्रिया हो बढ्दो अव्यवस्था र अनिश्चितताको। तीन, नेतृत्व विदेशी दलाल भएको देश असफल हुन कुनै आइतबार कुर्न पर्दैन। चार, संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ भन्दैमा सरकारको अपमान नगर्नुस्, देशद्रोहको मुद्दा लगाइन्छ। पाँच, सदाचारको नियम सरकार र जनता दुवैको लागि समान हो। शीष्ट भएर असन्तुष्टि व्यक्त गर्नु नागरिक कर्तव्य र अधिकार हो। हामी कुनै कठोर सैनिक शासनको होइन लोकतन्त्रको नागरिक हौं। छ, अबको दश वर्षमा हद सम्म भए नेपाल श्रीलङ्का हुन्छ। अरु अपेक्षा गर्नुभयो भने मूर्खहरूको सूचीमा तपाईँ एक नम्बरमा सूचीकृत….गफ!
बाहिरको कल्याङमल्याङ कानमा ठोकिन्छ। कुनै प्रतिक्रिया छैन। आँखा उघार्दैन। श्वासमा ध्यान दिन्छ एकछिन र मौनतामा अडीरहन्छ। बिस्तारै शरीरको हरेक अङ्गमा ध्यान हिंडाउंछ। फेरि टाउकोमा फर्किन्छ। आज हरिलाललाई साबिकको हतार छैन। अबेरसम्म ओछयानमा शवासनमा रहेर पर्दाबाट पसेर असरल्ल पोखिएको उज्यालो सिलिङमा हेरिरहन्छ। त्यहाँ साबिकको कोलाहल विचार मडारिएको छैन। कोठाको भित्तामा र सिलिङमा अक्सर आफ्नो आन्तरिक डर, अन्यौलता र नैराश्य देख्दै दिनको आन्दोलनमा होमिने हरिलाललाई आज समाचार सुन्ने इच्छा छैन, पत्रिका पसलसम्म आफूलाई घिसार्ने आवश्यकताबोध छैन। आङ तानेर ओछयानमा बसेर बाहिर चर्केको असोजको घाम हेर्छ, भाले बासेको र पर मोटरको हर्न बजेको सुन्छ। आजदेखि भोक प्यास पनि नलागे हुन्थ्यो भन्ने विचार मनको सतहमा उत्रिने बित्तिकै ऊ हाँस्छ। अष्टावक्र गीताको सुरुको कुनै श्लोकको अर्थ गम्छ – म मेरो इन्द्रीयहरू होइन। इन्द्रीयहरू टाँसिने सांसारिक वस्तुहरू म होइन। इन्द्रीयहरूले पैदा गर्ने संवेदना म होइन, विचार म होइन – म दुःख होइन, सुख होइन, इच्छा होइन, क्रोध होइन, मोह होइन, डर होइन र मृत्युमा कुहिएर जगतमा मिसिने शरीर पनि म होइन। म के हुँ?
बितेका चार महिना हरिलाल बेकामे बस्यो। अल्पाहारी या जलाहारीमा सीमित भएर दुब्लाउदै सिक्रो रुख भयो। वर्षौंको एक्लो ऊ आफ्ना मानवीय भावनाको आवाज सुनेर वरिपरिका मान्छेको कोलाहल रमिता हेरेर उदेक मानी बस्यो। हरेक मान्छे सानो घेरोमा फनफनी घुमिरहेको देख्यो। पायो आफू झन् छोटो दाम्लोले बांधिएको पशु हो। अरुले अलिक परसम्म तन्केर हरियो घाँस चर्छन्। ऊ नजिकै जेजस्तो सुकेको पतिङ्गर झार छ त्यै चर्छ र जीवनको दुःखमय केही दिन अरू लम्ब्याउँछ। रमितामा भिज्न सक्नेहरु रमाइलो गर्छन् र यसको आदतले आफूलाई कुनै बहानामा बिर्सेर हाँस्छन्। ऊ परबाट रमिता हेर्छ र रमिता गर्न नसकेकोमा आफूलाई अलिकति अनौठो लिइदिन्छ। केही फरक छैन। कोही त आनन्दको प्यासले, आफ्नो दाम्लो तन्काउने व्यग्रताले दाम्लै चुंडाएर अरुको चरणमा घुस्छन्, अरुलाई यातना दिएर मार्छन् – प्रेमको नाममा, समानताको नाममा, जातको नाममा, निर्वैयक्तिक ईश्वरको नाममा, कानुनको कच्चा पदार्थ धर्मको नाममा, न्यायको साधन कानुनको नाममा, मुक्तिको नाममा आदि।
हरिलालको हृदयमा लामो समयदेखि एउटा उदासी छाएको छ जब उसले आफूलाई नियालेर हेर्न थाल्यो अनायासै कुनै दिन। आफूलाई हेर्ने आदत बसेको उसले थाहा पाएन। उभित्र निस्कृयता छायो। र दिउँसै सपना देख्न लाग्यो। हरिलालको सपना प्रष्ट छैन। आकाशको अनुहार जस्तै बदलिरहने उसको सपनामा एउटा कुरा कहिल्यै बदलिदैन- आकाश!
‘हरिलालले हिजो आत्महत्या गरेछ।’ कसैले भन्यो। लोकप्रिय शासनमा साधारण मान्छे मर्ने मुख्य कारण? ठीक! भोकले मरेको पनि हुन सक्छ! पीरले पनि!
त्यसैले हरिलाललाई मैले पत्रिका पसलमा नदेखेको। त्यसैले हरिलालले झ्यालको पर्दा खोलेन, ओछयानबाट उडेर सिलिङमा आफ्नो मानसिक यातनाको प्रतिविम्बन देखेन, समाचार सुनेन- लोकतान्त्रिक गणतन्त्र नेपालको ‘संविधान दिवस’ पनि मनाएन! जहाँ सत्ताधारी उत्सव मनाउँदै हेलिकोप्टरबाट टुँडिखेलमा फूल वर्षाउँछ, भोकले मर्नुभन्दा दानमा पाएको एक छाक भात खान सडकमा बसेका मान्छेको लस्करलाई खिज्याएर!
नखोलिएको सत्य के हो भने हरिलालको हत्या भएको हो। रमिते प्रहरीले आत्महत्या भनिदिए। जान्नेहरु भन्छन् ‘सरकार’ भन्ने भयानक रोगबाट ग्रसित हरिलालले ‘पत्रिका’ भन्ने औषधि सेवन गर्थ्यो। केही समय यता औषधि एकदम अपाच्य र कडा भएकोले ऊ थलियो। औषधिमा रोगको मात्रा बढी भएर मरेको हरिलालले आत्महत्या गर्यो भनेर कसरी भन्ने? कसैले भन्यो।
कसैले नबुझी ऊ हरायो उदासीन अस्तित्वको दृश्यबाट। पछाडि एउटा बिर्सिइँदै जाने हल्ला छोडेर!
( लेखक बुढाथोकी पेशाले अधिवक्ता हुन् । )
Психолог или психотерапевт к кому идти Психолог психотерапевт психоаналитик 051
https://t.me/s/TopTg777_KENT
3 risks of using anabolic steroids
References:
Valley.md
can i drink creatine while fasting
References:
creatine breaks fast (output.jsbin.com)
dianabol cycle chart
References:
testosterone trenbolone Dianabol cycle
is 4 units of hgh a day bad
References:
hgh booster supplement [jobdoot.com]
illegal muscle enhancers
References:
Dbol Reviews Bodybuilding|Acybgnrqsav7_Irjao9Rzq7E7R5T8L7Yoq:***
Цитаты короткие. Цитаты про ум. Цитаты про вселенную. Про питер цитаты. Мудрые советы на каждый день. Цитаты со смыслом короткие. Хорошие цитаты из книг.