जिचेन स्याङ्तान
अकबर बादशाहले आफ्नो उड्नेवाला परेवालाई बाज्रा खुवाउने गर्थे भनेर अबु फजलले आफ्नो पुस्तकमा लेखेका छन्। यसले के प्रमाणित गर्छ भने भारत तथा पाकिस्तानमा आजकालका परेवापालकले बाज्रा खुवाउने प्रचलन बिल्कुल नयाँ होइन। यो प्रचलन आजभन्दा झन्डै चार सय वर्ष अघि नै अभ्यासमा थियो र यसको सुरूवात मुगल बादशाहरूले गरेका थिए। उनीहरूले आफ्ना अन्य परेवालाई भने सात प्रकारका अनाज मिसाएर खुवाउने गर्थे। पछि मुगलहरूको पतनपछि भारत तथा पाकिस्तानका परेवापालकले पनि यही अभ्यासलाई पछ्याउँदै गए।
भारत (पाकिस्तानसहितको) का विभिन्न ठाउँमा प्रशस्त मात्रामा बाज्रा फल्थे भनेर पनि अबु फजलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। त्यसबेला प्रशस्त मात्रामा बाज्रा फलाउने भारत (पाकिस्तानसहितको) का प्रमुख ठाउँहरूमा मल्वा, गुजरात, अजमेर, खानदेश, लाहोर, आग्रा, अलाहवाद, अवध र मुल्तान पर्दथे। यसका साथै सर्वाधिक मात्रामा फल्ने तीन अनाजमा धान, गहुँ र बाज्रा पर्थे। र, यी नै अनाजबाट आफ्नो दैनिक छाक टार्ने गर्थे। मुगल बादशाह जाहँगिरले आफ्नो जीवनीमा आधारित पुस्तक तुज्क-ए-जाहँगिरीमा समेत लजिजा (बाज्रा र केराऊ मिश्रित खिचडी) को स्वादको बारेमा वर्णन गरेका छन्। जुन परिकार उनले गुजरातमा देखेका/भेटेका थिए। यसैगरी २४ घण्टामा एक पटक मात्र खाना खाने मुगलदरबारका विद्वान महावत खानले समेत आफूले खाने खानामा बाज्रा र केराऊ मिश्रित खिचडी (लजिजा) लाई अनिवार्य रूपमा समावेश गर्ने गर्थे।
बाज्राको उत्पत्तिलाई हेर्ने हो भने यो अनाज फलाउने सुरूवात अफ्रिकाको पश्चिमी भागबाट भएको देखिन्छ। समयक्रममा बिस्तारै त्यसबेलाका मानिसहरूले बसाइँसराइका क्रममा हिन्द महासागर पार गरेर यो अनाजलाई एशियामा भित्राएका थिए। खासगरी त्यसबेलाको भारतमा।
( लेखक स्याङ्तान नेपालका परेवापालक हुन् । )