अक्ल्याण्ड । आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् । बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’ थिए, जसलाई उनले ‘असहनशील’ व्यवहार भनेर स्वीकार गरेका हुन् ।
बेयलीले सोमबार घटनाप्रति माफी माग्दै त्यसलाई विवादभन्दा पनि ‘बहस’ को संज्ञा दिए । उनले मन्त्री पदबाट राजीनामा दिए पनि सांसद पदमा भने कायम रहेका छन् ।
उनी विवादमा तानिएको यो पहिलो अवसर भने होइन । उनले गत अक्टोबरमा वाइन उद्योगका कर्मचारीलाई ‘लुजर’ भन्दै आफ्नो निधारमा हातले ‘एल’ शब्दको आकार बनाएका थिए ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनका अनुसार यो घटना गत मंगलबार भएको थियो भने बेयलीले शुक्रबार आफ्नो राजीनामा पेस गरेका थिए । बेयली न्युजिल्याण्डको संसद्मा पहिलो पटक सन् २०१४ मा निर्वाचित भएका थिए । राजनीतिमा आउनअघि उनी आर्थिक क्षेत्रमा क्रियाशील थिए ।