अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच विवाद हुँदा आज दिनभर तनावग्रस्त बन्यो । स्थानीय एक युवक र युवतीबीच अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर झडप हुँदा ५ जना प्रहरीसहित १५ जना घाइते भएका छन् । 

झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी र केटी पक्षको घर अगाडि रहेको कवाडी गोदाममा आगजनी भएको प्रहरीले जनाएको छ । 

मुसलमान समुदायको केटी र धोवी थर भएका केटाबीचको प्रेम विवाहलाई लिएर दुई समूहबीच विवाद भएको थियो । झडपको स्थितिलाई  नियन्त्रणमा लिन ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो ।

घाइतेहरुको भैरहवा र जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थल वरपर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार केटाका भाइलाई केटी पक्षका आफन्तले कुटपिट गरेपछि विवाद चर्किएको थियो र मंगलबार दुई समूहबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ