Nepal Viral
जुलाई 30, 2025

आज राति आकाशमा सातै ग्रहले परेड खेलेकाे हेर्न सकिने

काठमाडौं । आज राति आकाशमा सात ओटै ग्रहहरू एकैसाथ देखिने भएका छन् । खगोलशास्त्रीहरूका अनुसार मौसम सफा भए यो दृश्य सूर्यास्तपछि पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ । 

बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको हो । यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।  

उज्याला ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ । तर, अरुण र बरुण ग्रह भने केही धमिलो देखिने भएकाले तिनीहरूलाई हेर्न टेलिस्कोप प्रयोग गर्नुपर्नेछ । 

गत जनवरी १८ देखि नै आकाशमा ग्रहहरूको परेड सुरु भएको थियो । तर आज भने सबै ग्रह एकैपटक हेर्न सकिने भएको हो । यसै हप्ताबाट आकाशमा ग्रहहरूले परेड खेलेको देखिन छाड्ने छ। 

सौर्यमण्डलमा ग्रहहरूले एउटै गतिमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । तर सूर्यसँगको दुरीका कारण यसलाई एक पटक परिक्रमा गरिसक्न लाग्ने समय भने ग्रहअनुसार नै फरक पर्न जान्छ । बुध ग्रहले सूर्यको परिक्रमा पृथ्वीको ८८ दिनमा नै पूरा गर्छ भने बरुणलाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको १६५ वर्ष लाग्छ । कक्षमा आ-आफ्नै गतिमा घुमिरहने सबै ग्रहलाई पृथ्वीबाट एकैपटक देखिनु दुर्लभ मानिन्छ । 

यसपछि सबै ग्रहहरूलाई एकैसाथ आकाशमा परेड खेलेको हेर्न १५ वर्ष पर्खिनुपर्नेछ । अब सन् २०४० तिर मात्र यस्तो दुर्लभ खगोलीय संयोग हेर्न सकिनेछ

One thought on “आज राति आकाशमा सातै ग्रहले परेड खेलेकाे हेर्न सकिने”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ