दलित अगुवा भन्छन् “रिंकुकुमारी दलित भएकै कारण न्याय दिलाउन कठिन भइरहेको छ “

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न माग गर्दै मुसहर संघर्ष समिति सिरहाले लहानमा प्रदर्शन गरेको छ ।
संघर्ष समितिका अगुवाहरुले घटना भएको २० दिन बितिसक्दा पनि मुख्य आरोपितहरू पक्राउ नपरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् । समितिका अगुवा गंगा सदायले भने, “मुख्य दोषीहरू अझै पनि फरार छन् । उनीहरूलाई कानुनी कठघरामा उभ्याउन हाम्रो समुदाय आन्दोलनमा उत्रिएको हो ।”
त्यस्तै, अगुवा अरुण सदा भन्छन्, “रिंकुकुमारीलाई दलित भएकै कारण न्याय दिलाउन कठिन भइरहेको छ । प्रहरी प्रशासनले पीडकलाई जोगाउन खोजेको देखिन्छ । जबसम्म दोषीलाई पक्राउ गरी कडा कारबाही गरिँदैन, हाम्रो आन्दोलन जारी रहनेछ ।”
प्रदर्शनका क्रममा लहानस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग एक घण्टा अवरुद्ध भएको थियो ।
गत माघ २७ गते राति शौच गर्न बाहिर गएकी रिंकुकुमारीलाई स्थानीय तीन युवाले सामूहिक बलात्कार गरेका थिए । पीडित किशोरी भोलिपल्ट बिहान घर फर्केपछि, घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको थियो । वडासदस्यसहित स्थानीय नेतृत्वमा पञ्चायती बैठक बसेर घटना ढाकछोप गर्न खोजिएको परिवारको आरोप छ ।
तर माघ ३० गते साँझ रिंकुकुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परिन् । ढोका बाहिरबाट बन्द गरिएको अवस्थामा शव फेला परेकाले परिवारले उनको मृत्यु शंकास्पद भएको दाबी गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर मुख्य आरोपितहरू अझै फरार छन् । पीडित पक्षले दोषीलाई चाँडो पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ