अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको तीव्र विवादपछि युरोपका नेताहरूले युक्रेनको समर्थनमा आवाज उठाएका छन् । जर्मनी, फ्रान्स, स्पेन, पोल्याण्ड र नेदरल्यान्डका नेताहरूले युक्रेनको पक्षमा सामाजिक सञ्जालमा सन्देशहरू पोस्ट गरेका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रत्यक्ष रूपमा प्रत्येक नेतालाई धन्यवाद दिँदै जवाफ दिएका छन् ।
युक्रेनी राष्ट्रपति अहिले लन्डनमा छन्, जहाँ बेलायती प्रधानमन्त्री कियर स्टार्मरले युक्रेनको समर्थनमा एक सम्मेलन आयोजना गरेका छन् । डाउनिङ स्ट्रिटका अनुसार, प्रधानमन्त्री स्टार्मर युक्रेनप्रति अडिग समर्थन जनाउँदै आएका छन् ।
यो घटनाले पछिल्लो शुक्रबार ओभल अफिसमा भएको ट्रम्प र जेलेन्स्कीबीचको विवादलाई लिएर ध्यान आकर्षित गरेको छ । ट्रम्पले जेलेन्स्कीलाई रूससँग सम्झौतामा पुग्न दबाब दिँदै भनेका थिए, ‘नत्र हामी बाहिर जानेछौं ।’ उनले युक्रेनी राष्ट्रपतिविरुद्ध आक्रोश व्यक्त गर्दै भने, ‘तपाईंले तेस्रो विश्वयुद्धका लागि जुवा खेल्नुभएको छ ।’
युरोपका नेताहरूले युक्रेनको पक्षमा सन्देशहरू पठाएपछि, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने, ‘रूस आक्रमणकारी हो, युक्रेन पीडित हो । हामीले तीन वर्षअघि युक्रेनलाई सहयोग गर्न र रूसमाथि प्रतिबन्ध लगाएर ठीक गरेक थियौँ, र हामी यसलाई जारी राख्नेछौं ।’ नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक शोफले भने, ‘अब हामी युक्रेनलाई पहिलेभन्दा धेरै समर्थन गर्छौं । हामी युक्रेन र यसको जनताका लागि, र युरोपका लागि दीर्घकालीन शान्ति चाहन्छौं ।’
जर्मनीका चान्सलर ओलाफ शोल्जले भने, ‘युक्रेनका नागरिकभन्दा शान्ति चाहनुहुने अरु कोही छैन ।’ स्पेनका प्रधानमन्त्री पेड्रो सन्चेजले भने, ‘युक्रेन, स्पेन तपाईंको साथमा छ ।’ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले लेखे, ‘प्रिय जेलेन्स्की, प्रिय युक्रेनी साथीहरू, तपाईंहरू एक्लै हुनुहुन्न ।’
त्यसैगरी, हंगेरीका प्रधानमन्त्री विक्टर अर्बानले ट्रम्पको समर्थन गर्दै लेखेका छन्, ‘दृढ पुरुषहरूले शान्ति गर्छन्, कमजोर पुरुषहरूले युद्ध गर्छन् । आज राष्ट्रपति ट्रम्पले शान्तिको लागि साहसिक कदम चाले ।’
यो घटनापछि, इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले युक्रेनी समस्यामा अमेरिका, युरोप र अन्य साझेदारहरूको सम्मेलनको आह्वान गर्दै आगामी दिनमा युक्रेनी शान्ति सम्झौतामा सैन्य सहयोगको आवश्यकता हुने कुरा उल्लेख गरेकी छिन् ।