Nepal Viral

भारतीय सार्प सुटर गुड्डु पटेल पक्राउ


काठमाडौं : आन्दाजी ४० वर्षीय गुड्डु पटेल भारतको रक्सौलका स्थायी बासिन्दा हुन्। उनी नेपाल नियमितजसो आउने जाने गर्थे तर कसैलाई पत्तो हुँदैनथ्यो। २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा उनले हानेको गोली लागेर सर्लाहीका लाल मोहम्मदको हत्या भयो। यसपछि गुड्डु पटेलको यथार्थको खोजी नेपालले गर्न थाल्यो। प्रहरीको उच्च खोजीको सूचीमा परे। 

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा पेस्तोलसहित आएका अज्ञात व्यक्तिले मोहम्मदलाई लखेटी–लेखेटी गोली हानेका थिए। बा ६ च ५१५२ नम्बरको गाडीलाई एक फन्को लगाएपछि मोहम्मद ढलेका थिए। उनलाई गाडीबाट बाहिर निस्कन लाग्दा पछाडिबाट गोली प्रहार भएको थियो। 

भारतीय नागरिक नेपाल आएर दिनदहाडै नेपाली व्यावसायीको हत्या गर्नु सानो विषय थिएन। आफ्नै गाडीमा घर पुगेका मोहम्मदलाई सुटर गुड्डुले गाडीमा फन्को लगाउदै दौडाउँदै गोली दागेका थिए। मोहम्मदलाई गोली प्रहार गरेको भिडियो सार्वजनिक भएपछाडि प्रहरी यो निष्कर्षमा पुग्यो, गोली हान्ने व्यक्ति प्रोफेसनल सुटर हो।  

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार उनै गुड्डु पटेल काठमाडौं आएको सूचना प्रहरीले पाएको थियो। आइतबार साँझ उनलाई टोखाबाट झोर जाने बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले फेला पार्‍यो। प्रहरी देख्नासाथ भाग्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर सुटर गुड्डु घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रवक्ता आचार्य भन्छन्, ‘गुड्डु पटेल रक्सौलका स्थायी बासिन्दा हुन्। भारतमा पनि उनको क्रिमिनल रेकर्ड रहेको छ। विभिन्न समूहसँग पैसा लिने र अपराधमा संलग्न हुने उनको समूहको काम रहेको थियो। उनै पटेल अब भने नेपाल प्रहरीको नियन्त्रणमा रहेका छन्। उनी बोल्न सक्ने अवस्थामा भए पनि प्रहरीसँग बयान दिन नमानेको र कुरा गर्न नचाहेको प्रवक्ता आचार्यले जानकारी दिए। उनको खुट्टामा गोली लागेको छ।

२०७९ असोज ३ मा काठमाडौंंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो। प्रहरीका अनुसार उनको हत्यामा गुड्डुु सुटरको भूमिकामा रहेका थिए। प्रवक्ता आचार्यका अनुसार लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। मोहम्मदको हत्या गर्ने योजनाकार बब्लु पासवान घटनाको डेढ वर्षपछि वीरगन्जबाट पक्राउ परेका छन्। उनी लागुऔषध र हतियारसहित गत वैशाखमा वीरगन्जमा पक्राउ परेका थिए। 

नेपालका गार्मेन्ट व्यवसायीलाल मोहम्मदको हत्या भएको घटनामा संलग्न भारतीय सार्पसुटर गुड्डु भने फरार रहँदै आएका थिए। गोठाटार घटनामा संलग्न भएका र पक्राउ गरिएकासँगको बयानका आधारमा प्रहरीले घटनाका सार्पसुटर गुड्डु भएको निष्कर्ष निकालेको थियो। प्रहरीको उच्च निगरानीमा रहेका गुड्डु बेलाबखत नेपाल आउने जाने गरेको सूचना प्रहरीले पाएको थियो। तर लोकेसन फेला पारेको थिएन। आइतबार उनले प्रयोग गरेको ह्वाट्सअप नम्बरका आधारमा लोकेसन ट्र्याक गरेर प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनी नेपाल कहिलेदेखि आएर बसेका हुन् ? उनीसँग को–को आएका छन्। के गर्न आएका हुन् ? उनको नेपाल कनेक्सन के के रहेको छ, अनुसन्धानका क्रममा खुल्ने प्रवक्ता आचार्यले जानकारी दिए

सर्लाहीको हरिवनका ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए। २०६४ असारमा धोबीखोलामा गोलीप्रहारवाट हत्या गरिएको अवस्थामा बलराम पटुवाको शव भेटिएको थियो। पटुवाको हत्या मोहम्मदले गरेको आरोप लागेको थियो। यो घटनामा मोहम्मद १० वर्ष जेल बसेर रिहा भएका व्यक्ति हुन्। मोहम्मद जाली नोट कारोबारमासमेत संलग्न भएको आशंका गरिएको थियो। भारतीय सार्पसुटरबाट मोहम्मदको हत्या भएपछि कतै यो घटनामा पनि जाली नोट कारोबार जोडिएको त छैन भनेर प्रहरीले अनुसनधान पनि अगाडि बढाएको थियो। उपत्यका अपराध अनुसन्धानका प्रवक्ता काजीकुमार आचार्य भन्छन्, ‘अपराधीको मृत्युसँगै उसले गरेको अपराध पनि मर्छ भन्ने फौजदारी सिद्धान्त रहेको छ। यो विषय पनि मोहम्मदको मृत्युसँगै यसै सेलायो।’ 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ