नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले पुरुष, महिला, यू-१९ र यू-१६ क्रिकेट टिमका लागि तय गरिएका विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको हो।
क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार नेपाली पुरुष क्रिकेट टोली आगामी वर्ष निकै व्यस्त रहनेछ। टोलीले १२ महिना घरेलु क्रिकेट खेल्नुका साथै १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ।
क्यानले टी-२० विश्वकप छनोट र आइसिसी लिग-२ लाई प्राथमिकतामा राख्दै तालिका तयार गरेको जनाएको छ।
पुरुष क्रिकेट टोलीले अप्रिलमा हङकङमा हुने टी-२० सिरिज खेल्नेछ। मे महिनामा यूके भ्रमणपछि जुनमा स्कटल्याण्ड, नेपाल र नेदरल्यान्ड्सको सहभागितामा आइसिसी विश्वकप लिग-२ खेल्नेछ।
टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोली श्रीलंका र भारतका विभिन्न स्थानमा प्रशिक्षण क्याम्पमा सहभागी हुनेछ।
अक्टोबरमा नेपालले ओमानमा हुने विश्वकप छनोट खेल्नेछ भने नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ मा प्रतिस्पर्धा गर्नेछ। डिसेम्बरमा नेपालले ओमान र यूएईसँग आइसिसी विश्वकप लिग-२ तथा टी-२० सिरिज खेल्नेछ।
महिला क्रिकेट टोलीले पनि सन् २०२५ मा विभिन्न महत्वपूर्ण प्रतियोगिता खेल्नेछ। नेपालले थाइल्यान्डमा हुने महिला टी-२० विश्वकप छनोटमा सहभागिता जनाउनेछ। यस्तै, नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम तय गरिएको छ।
भुटानले नेपाल भ्रमण गर्ने तय भएको छ भने नेपालले युगान्डा, युएई र नेदरल्यान्ड्ससँग सिरिज खेल्नेछ। महिला इमर्जिङ टिम्स एसिया कप पनि थाइल्यान्डमा हुनेछ।
घरेलु प्रतियोगितातर्फ नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण नोभेम्बरमा आयोजना गरिनेछ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मार्चमा हुनेछ।
जय ट्रफी पुरुष एलिट कप, राष्ट्रिय टी-२० च्याम्पियनसिप, महानगरपालिका कप, पिएम कप लगायतका प्रतियोगिता पनि वर्षभर आयोजना गरिनेछन्।
क्यान सचिव पारस खड्काले नेपाली क्रिकेट खेलाडीको ग्रेडिङ चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन्।
