एकाएक पूर्वराजा ज्ञानेन्द्र शाह कसको इसारामा सलबलाए

काठमाडौं । ०६२–६३को जनआन्दोलनपछि भूमिकाविहीन अवस्थामा रहेको नेपालको राजसंस्था २०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर बाहिरिएका थिए ।

सरकारले उनलाई बस्नका लागि निर्मल निवासको व्यवस्था गरिदियो । सुरक्षाकर्मी दियो । राज्य सञ्चालनबाहेक कुनै पनि क्षेत्रमा प्रतिबन्ध लगाएन ।  शाहले आफू संलग्न कम्पनीहरुको व्यापार विस्तारमा अप्रत्यक्षरुपमा भूमिका खेल्न थाले । 

नारायणहिटीबाट बाहिरिएका पूर्वराजा शाह केही समय मौन बसे । केही वर्षदेखि उनी सार्वजनिक कार्यक्रममा देखा पर्न थाले । उनले जारी गर्ने विज्ञप्ति वा सन्देशमा पनि पूर्वराजा लेख्न छाडे । बहालवाला राजाकै झल्को दिनेगरी उनले शुभकामना सन्देश तथा विज्ञप्ति जारी गर्न थाले ।

उनै शाह करिब एक महिना पोखरा बसेर आइतबार काठमाडौं फर्किएका छन् ।  उनी काठमाडौं फर्किने क्रममा पोखरा र काठमाडौं विमानस्थलक्षेत्रमा उनका समर्थकहरूले शक्ति प्रदर्शन गरे । हजारौँ समर्थकलाई सडकमा उतारेर उनी गाडी चढेर सँगसँगै निर्मल निवास पुगे ।

शाह गाडीमा तथा समर्थक पैदलै विमानस्थलबाट निर्मल निवास पुगेका थिए । पूर्वराजालाई नै र्‍यालीमा सहभागी गराएर समर्थकहरु सडकमा निस्किएका हुन् । र्‍यालीका क्रममा उनीहरुले सदाझैँ ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरे । 

गणतन्त्रकोे प्रतीक राष्ट्रपतिका विषयमा र्‍यालीमा कुनै विरोध सुनिएन ।  तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भने उनीहरुले ‘निकृष्ट’ भाषामै नाराबाजी गरे । 

र्‍यालीमा देखिएको रोचक दृष्य हो –भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर । पूर्वराजा ज्ञानेन्द्रसँगै र झन्डै उत्रै आकारमा राखिएको तस्बिरलाई पूर्वराजाजत्तिकै महत्व दिएको देखिन्थ्यो । 

‘राजतन्त्र पुनःस्थापना गरौं’, योगी आदित्यनाथ लेखिएको तस्बिरमा हिन्दुवादी प्रदीप विक्रम राणा लेखिएको छ । 

उक्त तस्बिर पूर्वराजा ज्ञानेन्द्रको पछि–पछि दुई युवाले मोटरसाइकलमा बोकेर र्‍यालीमा सहभागी भएका थिए । 

र्‍यालीमा यसअघि बैंकहरुविरुद्ध आन्दोलन गर्ने अभियान्ता दुर्गा प्रसाईं पनि सहभागी थिए । उनै प्रसाईंले झापाको बिर्तामोडमा नागरिक अभिनन्दनका नाममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराएका थिए । 

त्यसपछि प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्दा सहभागी हुने र नहुनेमा राप्रपामा विवाद भएको थियो । 

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानबहादुर शाही समर्थन गर्न जानुपर्ने पक्षमा थिए भने अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने पक्षमा उभिएका थिए ।  पार्टीमा विवाद भएपछि प्रसाईंको आन्दोलनमा पुगेर प्रवक्ता शाहीले भाषण नै गरेका थिए भने सामाजिक सञ्जालमार्फत रवीन्द्र मिश्रले आह्वान गरेका थिए । 

त्यही विषयलाई लिएर वरिष्ठ उापध्यक्ष मिश्र र अध्यक्ष लिङदेनबीच वाकयुद्धसमेत चलेको थियो । त्यसक्रममा राप्रपा अध्यक्ष लिङ्देनले बैंकको पैसा खाएर तिर्दिन भन्ने व्यक्ति ठग हुने र त्यस्तासँग आन्दोलनमा सहकार्य हुन नसक्ने बताएका थिए । 

आइतबार उनै प्रसाईं पूर्वराजा सँगसँगै गाडीमा विमानस्थलदेखि निर्मलनिवाससम्म पुगे ।  विमानस्थलसम्म राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत थिए । आफ्ना समर्थकका साथमा विमानस्थलदेखि निर्मल निवाससम्म पुगेका शाह र्‍यालीमा गाडीभित्रै उभिएर समर्थकलाई हात हल्लाइरहेका थिए ।

यसबाट शाहले नै आन्दोलनको नेतृत्व गरेको सन्देश दिने प्रयास पनि गरिएको केही जानकारहरुको टिप्पणी छ । त्यसो भए पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ आन्दोलनको नेतृत्व गर्न तयार भएका हुन् त ? 

पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठक आइतबारको प्रदर्शनलाई आन्दोलन भन्न नमिल्ने तर्क गर्छन् । झन् पूर्वराजाले आन्दोलन वा त्यसको नेतृत्व गर्ने कुरा त परिकल्पनासमेत गर्नु नहुने उनको बुझाइ छ । 

“आज कहाँ आन्दोलन भएको छ र ! सबैले राजालाई पोखराबाट फर्कने क्रममा विमानस्थलमा स्वागत गर्ने भनेका होइनन् र ?,” प्रतिप्रश्न गर्दै डा. पाठकले बाह्रखरीसँग भने, “नागरिकले राजालाई स्वागत गरेका हुन् र उहाँ स्वागतमा सहभागी हुनुभएको हो ।” 

 डा. पाठकले अहिले आन्दोलनको विषय पनि नउठेको बताए । 

“आन्दोलन हुने भए त आन्दोलनको खाका बन्ला कार्यतालिका बन्ला, सार्वजनिकरुपमा नै भनेर आन्दोलन होला नि !,” पाठकले भने, “अहिले कुनै आन्दोलनको घोषणा भएको छैन । यसलाई आन्दोलन भन्न पनि मिल्दैन ।” 

स्रोतका आनुसार आइतबारको कार्यक्रमका पक्षमा पूर्वराजा ज्ञानेन्द्र शाहमात्र नभएर राप्रपा अध्यक्ष लिङ्देनसमेत थिएनन् । अन्तिमसम्म लिङदेन विमानस्थल नपुग्दा राजावादीहरु विभाजित भएको अर्थमा विश्लेषण हुने र सन्देश राम्रो नजाने बताइएपछि लिङ्देन सहभागी भएको स्रोत बताउँछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ