काठमाडौं । नेपाली बजारमा राइड शेयरिङ सेवाको प्रतिस्पर्धा बढ्दै गर्दा नयाँ कम्पनी जुमजुमले आफूलाई ‘काठमाडौंको सबैभन्दा सस्तो’ सेवाको रूपमा प्रस्तुत गरेको छ । विद्यार्थी र दैनिक यात्रुलाई लक्षित गर्दै एफवन सफ्ट ग्रुपले विकास गरेको यो एपले आफ्नो न्यूनतम राइड शुल्क ४० रुपैयाँ तोकेको हो ।
राइड शेयरिङ बजारमा पठाओ र इनड्राइभको हिस्सा तुलनात्मक रूपमा धेरै छ । तर नवप्रवेशी राइड शेयरिङ प्लेटफर्म जुमजुमले सस्तो शुल्कमार्फत यात्रुहरूलाई आकर्षित गर्ने रणनीति अपनाएको देखिन्छ ।
तुलनात्मक रुपमा पठाओको न्यूनतम राइड शुल्क ५७ र इन्ड्राइभको ६० रुपैयाँ रहेको छ । जुमजुम एपमार्फत राइड गर्ने यात्रुले अन्य प्लेटफर्मको तुलनामा पाँचदेखि २० प्रतिशतसम्म सस्तोमा सेवा पाउने दाबी कम्पनीले गरेको छ ।
“पठाओ, इन्ड्राइभ र जुमजुम एपबिच तुलना गरेर हेर्ने हो भने जुमजुमकै भाडा सस्तो पर्न आउँछ,” कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, “साथै नियमित यात्रुले समय समयमा प्रोमो कोड र अन्य अफर समेत पाउँछन् ।”
कम्पनीले नयाँ ग्राहकलाई आकर्षित गर्न पहिलो दुई राइडमा ६० प्रतिशत छुट समेत दिँदै आएको छ । साथै राइडरहरूलाई आकर्षित गर्न कमिसन दर अन्य प्रतिस्पर्धी कम्पनीभन्दा पाँच प्रतिशत कम राखिएको जुमजुमको दाबी छ ।
मूल्यका हिसाबले देशका मुख्य दुई राइड शेयरिङ प्लेटफर्मसँग जुमजुमलाई टेकपानाले पनि तुलना गरेर हेरेका थियो । उदाहरणका लागि टेकपानाको कार्यालय रहेको महादेवस्थानदेखि गोङ्गबु बसपार्कसम्म राइड शेयरिङको बाइकमा जाँदा जुमजुममा १५४, इनड्राइभमा २१० र पठाओमा २३९ रुपैयाँ देखायो । यस हिसाबले जुमजुममा जाँदा यो यात्रा इनड्राइभभन्दा ५६ रुपैयाँ र पठाओभन्दा ८५ रुपैयाँ सस्तो देखियो । जुन तपाईँले तलका स्क्रिनशटहरूमा पनि देख्न सक्नु हुन्छ ।
त्यस्तै कम्पनीले राइडरहरूलाई दैनिक १,५०० रुपैयाँसम्म बोनस र थप ५०० रुपैयाँसम्म रेफरल बोनस पनि उपलब्ध गराउँदै आएको छ । यस बाहेक जुमजुममा प्रयोगकर्ताले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सकिने फिचर पनि समावेश गरेको छ ।
त्यस्तै कम्पनीले पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा र यात्रु तथा चालक दुवैका लागि कार्यालयबाटै समस्या समाधान गर्ने व्यवस्था मिलाएको छ । एपको सेवाबाट विद्यार्थी र कम आय भएका यात्रुले विशेष लाभ लिइरहेको जुमजुमको भनाइ छ ।
राइड शेयरिङ बजारमा सस्तो विकल्पको रूपमा उपस्थिति जनाएको कम्पनीले आगामी दिनमा सेवाको विस्तार, गुणस्तर र स्थायित्वमा अन्य योजना समेत ल्याउने तयारी रहेको कुरा उल्लेख गरेको छ ।