Nepal Viral
अप्रिल 28, 2025

संसदमा देखिएको विवादले अध्यादेशका प्रतिस्थापन विधेयकहरू जोखिममा

काठमाडौँ । चैत १३ गतेदेखि निरन्तर अवरोध हुँदै आएको संघीय संसद्का दुवै सदन १७ गते पनि चल्न सकेनन् । विशेष गरी नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षीहरूले संसद् अवरुद्ध गर्दै आएका थिए ।

तर, आइतबर प्रतिपक्षीहरू नै २ धारमा उभिए । कुलमानकै विषयलाई लिएर संसद् अवरुद्ध गरेका प्रतिपक्षीहरूबीच राजतन्त्र र गणतन्त्रको पक्षमा अर्को बहस छेडियो । यही विषयमा विवाद हुँदा आइतबारको संसद् बैठक नै अवरुद्ध भयो । सत्तापक्ष र प्रतिपक्षको विरोधका बीच गणतन्त्रवादी र राजतन्त्रवादीको टकरावका कारण अवरुद्ध भएको प्रतिनिधिसभा बैठक आज (सोमबार) ११ बजेका लागि राखिएको छ । त्यस्तै, ११ः२५ बजेका लागि राष्ट्रियसभा बैठकको समय तोकिएको छ ।

प्रतिस्थापन विधेयक पारित गर्ने आज अन्तिम दिन
पटक–पटक संसद् अवरोध हुँदै गर्दा त्यसको प्रत्यक्ष असर सरकारले ल्याएका ५ वटा अध्यादेश र त्यसका लागि संसद्मा दर्ता भएका प्रतिस्थापन विधेयकमाथि परेको छ । राष्ट्रियसभामा बहुमत पुर्याउन नेपाली कांग्रेस र नेकपा एमालेले भूमिसम्बन्धी अध्यादेशको ‘बलि’ दिए पनि प्रतिपक्षीहरूको विरोधका कारण सदनमा भएको बहुमतले पनि काम गरिरहेको छैन ।

प्रतिनिधिसभाबाट पारित भएका ती प्रतिस्थापन विधेयकहरू अहिले राष्ट्रियसभामा पुगेर अड्किएका छन् । भन्नलाई प्रबुद्ध व्यक्तिहरूको सदन भनिए पनि राजनीतिक दलको प्रभाव राष्ट्रियसभामा पनि देखिएको छ । प्रतिनिधिसभाले प्रधानमन्त्रीको जबाफ खोजिरहँदा राष्ट्रियसभा पनि त्यही अड्को थापेर बसेको छ । जबकि प्रधानमन्त्रीले राष्ट्रियसभामा पनि जबाफ दिनुपर्ने माग भने छैन ।

यदि आज (सोमबार) पनि उक्त प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पुगेन भने निष्क्रिय हुने पक्का छ । तर, एमालेका प्रमुख सचेतक महेश बर्तौला भने आज जसरी पनि पारित हुन्छ भन्नेमा आफूहरू विश्वस्त रहेको बताउँछन् । ‘आज ११ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्नुहुन्छ । त्यसपछि दुवै सदन सहज रूपमा अघि बढ्नेमा हामी विश्वस्त छौँ,’ बर्तौलाले भने, ‘राष्ट्रियसभाबाट ३ बजेभित्र प्रतिनिधिसभामा सन्देशसहित पारित भएको प्रतिस्थापन विधेयक आउँछ र राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउँछौँ भन्ने हाम्रो हिसाब छ । अब हेरौँ सोमबारको अवस्था के हुन्छ ?’

संसद्को त्यो २४ मिनेट…

राजावादी र गणतन्त्रवादीबीच जुहारी

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीहरू उभिएर संसद् अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिपक्षी सांसदलाई सम्झाउँदै देशको राजनीतिक परिस्थिति नयाँ–नयाँ अवस्थामा रहेकाले सभा सञ्चालन गर्न आसन ग्रहण गर्नुस् भन्दै थिए । तर, विपक्षीहरूले सभामुखलाई टेरेनन् ।

‘आज सडकमा आगो बलेको छ, त्यही बलेको आगोलाई ठिक ढंगबाट नियन्त्रण गर्न पनि सभा सञ्चालन हुनु जरुरी छ । त्यो गर्नका लागि माननीयहरूले आसन ग्रहण गरेर सुरु भएको सभा सञ्चालन गरौँ,’ सभामुखले फेरि आग्रह गरे । प्रतिपक्षीहरूको ‘रो’बाट रास्वपा सांसद् गणेश पराजुली ‘राज्य जबाफदेही भएन, अनाहकमा नागरिकले ज्यान गुमाउनुपर्यो भन्दै थिए । सभामुख पनि १८ गते प्रधामन्त्रीले संसद्मा आएर सम्बोधन गर्ने भन्नुभएको छ’ भन्दै प्रतिपक्षीहरूलाई थम्थमाउँदै थिए । एमाले प्रमुख सचेतक बर्तौलाले संविधान व्यवस्थामाथि प्रहार भइरहेको र यस विषयमा संसद्मा छलफल गर्न पाउनुपर्ने भनिरहेका थिए ।

सभामुख पनि पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दै थिए । तर, संसद्मा भइरहेको अवरोधले अर्कै मोड लियो । एकाएक विषयान्तर भएर राजतन्त्र र गणतन्त्रको कुरा उठ्यो । कांग्रेस सांसदहरू ‘गणतन्त्र हामीले ल्याएको हो’ भन्दै कराउन थाले । कांग्रेस सांसद ठाकुर गैरे संसद् चल्नुपर्छ भनिरहेका थिए । र, हलमा निकै ठुलो होहल्ला भइरहेको थियो । त्यसपछि सभामुख संसद् सचिवालयका कर्मचारीसँग छलफलमा लागे । सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव एकराम गिरी सभामुखलाई ‘अहिले कसैलाई बोल्न दिइयो भने पनि तनाव नै हुन्छ, बरु १५ मिनेट रोकिदिऊँ’ भनेर सल्लाह दिइरहेका थिए ।

सांसद्हरू बसेको ठाउँबाट ‘कुनको नेता हो आगो लाउन उक्साउने ?’ भन्दै एक सांसद चिच्याइरहेका थिए । त्यसपछि माहोल झनै बिग्रियो । यत्तिकैमा सत्तारुढ कांग्रेस सांसद रामहरि खतिवडाले ‘जसले राजावादी हुँ भन्छ, त्यो गणतन्त्र विरोधी हो त्यसलाई कारबाही गर्नुपर्छ’ भने । यसको प्रतिवादमा राजेन्द्र लिङ्देन उत्रिए र छातीमा हात ठोक्दै ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्दै जबाफ फर्काए ।

सत्तापक्ष र प्रतिपक्षीसँगै सुरु भएको विवाद राजावादी र गणतन्त्रवादीमा पुगेपछि अवस्थालाई साम्य पार्न सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । पछि आइतबारको उक्त बैठक नै स्थगित भयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ