Nepal Viral
अप्रिल 28, 2025

सरकार फेरिरहने देश ( कविता )



मिम बहादुर परियार

एकादेशमा मेरो देश छ
जसकाे ,सरकार छ महिना वर्षदिनमा ढलिरहन्छ
एउटाले घटाउँछ  , ढलाउँछ
अर्कोले जाेड्छ , नयाँ बनाउँछ
ढलिसके पछि, नयाँ बनिसके पछि
केही थान सत्ताकाे चाैतारीमा बस्छन्
केही ओर्लन्छन् ।

अरु देशमा समस्या फेरिन्छन्
विकासका रुप समयसमयमा देखिन्छन्
अनुसन्धान अविस्कारबाट नयाँनयाँ चिज आइरहन्छन्
प्रगतिपथकाे रफ्तार दिनहुँ फेरिन्छ
साैभाग्यवश पाँच वर्षसम्म एउटै भेटिरन्छन् ।

उसाे त बेलाबेलामा तेता पनि फेरिन्छ
गरिबी फेरिन्छ , विकास देखिन्छ
कुसंस्कार खाल्डोमा पुरिन्छ ,नवीन ज्ञानकाे पालुवा झुल्किन्छ
उता
काम नगर्ने ठग भ्रष्ट , राष्ट्रघातीहरु पनि फेरिन्छन्
जाकिन्छन् कहिल्यै नदाेहाेरिने गरि ।

मेरो देशमा ठ्याक्कै उल्टाे छ
यहाँ फेरिन्छन् दाैरासरुवाल ,कुर्सी ,खाट र गाडी
मान्ठ पनि फेरिन्छन् तर बारम्बार उनै दाेहरिन्छन्
भ्रष्ट पाराजित असफल
एकपटक दुईपटक तीनपटक… यस्तै रेस खेलिरहन्छन् ।

यहाँ नफेरिएका केबल दुख न हुन्
विकटकाे रुप हेर्दै कहालिलाग्दो छ
गरिबीको अनुहार सदियाैंदेखि उस्तै छ
झुत्राे छानाे टाेलाएकाे , विकास अलपत्र परेको
निष्ठा हाराएकाे ,जुगाैंजुग भएको छ ।

यहाँ फेर्न नमिल्ने विचार पनि एक हाे
हिजो बाउकाे पालामा जे थियो आज छाेराकाे दिनमा उहीँ छ
याे गयो, त्यो आयो, जुन जाेगी आएपनि कान चिरिएकै उखान छ
यहाँ आँसुको मुहान भने आज पनि जिउँकाे तिउँ छ
अविरल अनन्त ।

यहाँ केहीकेही  धेरै फेरिरहन्छन्
बार र सारअनुसार
साहबहरुका जिब्रोकाे स्वादहरु
मैसाँबका लालीहरु
यहाँ बदलिरहन्छन् रवाफका सप्तरङ्गी बाेटहरु  ।

यहाँ गाडेर बसेका गरिबका घाउ पनि हुन्
दलित मधेसी याेनिक अल्पसंख्यकका पीडा छन्
जसको न कसलाई मतलब न कुनै मर्म
सकभर सत्ता शक्ति र शासक यिनलाई अजर बनाउन सुरमा छन्
एकादेशभित्र  मेरो देश छ
जसको कथाव्यथा यस्तै छ , उस्तै छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ