मिमबहादुर परियार
राजतन्त्रताका नेपाली समाजभित्रको अनेकतालाई एकता देखाउन चार जात छत्तीस वर्णको फूलबारी भनियो। संघीय गणतन्त्रात्मक शासन पद्धतिमा विभिन्न जातजाति, धर्म संस्कार भेषभूषा, भाषा भूगोलमा छरिएका नेपाली समाजलाई सयौं थुङ्गा फूलका माला हामी नेपाली भनेर बिम्ब दिइयो। जसको सार उद्देश्य भनेको भिन्नभिन्न जातजाति एउटै हुन्, समान छन्, मिलेर बसेका छन् भनिएको हो। तर वास्तविक नेपाली समाजको चित्र राष्ट्रिय गानमा वर्णन गरिए जस्तो छ त?
निश्चितरूपमा छैन। समाजिक गतिविधि हेर्दा, मानिसको जीवन पद्धति हेर्दा, दिनहुँ घट्ने घटनाका प्रकृति हेर्दा, जात, धर्म, संस्कार रीतिरिवाजलाई अध्ययन गर्दा नेपाली समाज चिराचिरामा विभाजित छ। आवरणमा मिलेको देखिए पनि भित्रीरूपमा मिलेको छैन। नातागोता मिल्दैन, चुलोचौका मिल्दैन, सम्बन्ध विस्तार हुँदैन, कुल मिल्दैन, एकै धर्मावलम्बी बीच दुरी कायम छ। यस्तो अवस्थालाई कसरी मिलेको भन्न सकिन्छ?
समाजशास्त्रीय कोणबाट हेर्ने हो भने नेपाली समाज र उसले अपनाएको धर्म संस्कार, त्यसले सृजना गरेको जुन वातावरण छ, मानसिकताको विकास भएको छ, त्यो अति डरलाग्दो, कहालिलाग्दो र भयावह छ। हिन्दु धर्ममा आधारित जात व्यवस्थाले दिनहुँजसो दलित समुदायमाथि जातकै आधारमा गालीगलौज, कुटपिट, हत्या जस्ता घटना घटेका छन्। ग्रामिण भेगमा दलित समुदायले पाइला पाइलामा जातीय विभेद भोग्नु परेको छ। यहीँ भदौभित्र राष्ट्रिय मिडियाले केही जातीय विभेदका घटना प्रकाशन र प्रसारण गरेका छन्। जस मध्ये दुई वटा घटनालाई पंक्तिकारले सारांशमा समावेश गरेका छन्।
पानी लिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाचोककी १२ वर्षीया दलित बालिका फुलसरी मंग्रान्ती (सार्की) लाई निर्घात कुटपिट गरि घाइते बनाइयो। तर प्रहरीले उजुरी लिन मानेन।
फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन्। त्यस्तै राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उनका पति सुमन खातीलाई यहीँ भदौ ८ गते सोमबार राति ८:०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले निर्घात कुटपिट गरेका थिए। सात महिनाकी गर्भवती चन्द्रकलालाई कुटपिटमा संलग्नले जातको कुरा निकाल्दै तथानाम गालीगलौज समेत गरेका थिए।
गत जेष्ठ ९ गते पश्चिम रूकुमका नवराज विकसहित ६ युवाको हत्याको प्रमुख कारण जात रहेको कुरा संसदबाट गठित छानबिन समितिले पनि पुष्टि गरिसकेको छ। यस्तो माहोलमा हामी कसरी मिल्यौं?
दलितमाथि गैरदलित समुदायको जातीय दमन समाजको कुनाकुनामा देख्न सकिन्छ। पानी पँधेरोमा देखिन्छ। सामुदायिक भवनमा देखिएको छ। कोठा खोज्दा देखिएको छ। अन्तरजातीय प्रेमीको हत्या भएको छ।
नवराज विक, फूलसरी मंग्राति, चन्द्रकला लाम्गादे प्रतिनिधिपात्र हुन्। जातीय विभेदले हजारौं दलितको ज्यान लगेको छ। काठमाडौं तथा अन्य ठूला सहरका युवायुवतीलाई सुन्दा यस्तो पनि हुन्छ र भन्ने लाग्ला। यथार्थमा अझैसम्म दलितको लागि सिमाना तोकिएका धेरै गाउँ नेपाली समाजमा अस्तित्वमा छन्। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा यस्ता गाउँ छन् जहाँ जातको आधारमा प्रवेश गर्न मिल्ने-नमिल्ने छुन मिल्ने बस्न मिल्ने- नमिल्ने ठाउँ गैरदलितले दलितका लागि भनी छुट्याएको भेटिन्छ। सामाजिक कार्यमा अलग्गै बस्न भनिन्छ। दलित समुदायबाट गैरदलितले स्थापना गरेको कथित रीतिरिवाज विरुद्ध गए दलित जरिवानाको भागिदार हुनुपर्छ।
राज्यको कानुन यस्ता ठाउँमा एका देशको कथा भएको छ। गैरदलितले दलितमाथि स्थापित गरेको मुल्य मान्यता कडा र अमानवीय छ। राज्यको कानुन, संवैधानिक हकअधिकारको त्यस्ता ठाउँमा कुनै मतलब हुँदैन। दलितले गैरदलितको भाँडाकुँडा छुँदा, घर आँगनमा टेक्दा, अन्तर जातीय विवाह गरेमा कस्तो सजाय दिनेबारे गैरदलितको आफ्नै नियम कानुन छ। देशको कानुन भन्दा दरा, खोलाका चैन ठूला भन्नेहरु छन्।
नेपालको कानुन अनुसार जातीय छुवाछूतका घटनाका पिडक सजायको भागिदार हुन्छन्। संविधानमा जात, लिङ्ग, वर्णको आधारमा हुने विभेदयुक्त जुनसुकै कार्य गरे दण्डित हुने कानुन छ। तर विडम्वना अहिलेसम्म राज्यको नियमकानुनले पिडक र पीडितलाई छोएको छैन।
कलाकार कविता नेपाल लेख्छिन्, ‘जात व्यवस्था नमासेसम्म देशका करिब ६० लाख दलितको मुक्ति सम्भव छैन। मूलतः हिन्दू वर्णाश्रम व्यवस्थाको उपज हो, जात व्यवस्था। जसले हिन्दू धर्मलाई आफ्नो मूल धर्म मान्छ, ऊ जातप्रथाबाट पूर्णतया मुक्त हुन असम्भव छ। धार्मिक अन्धताबाट मुक्त नभएसम्म दलितहरूले सधैँ उत्पीडन भोगिरहनु नै पर्छ।’
जबसम्म जात व्यवस्था खारेज हुँदैन तबसम्म हामी आत्मीयताका साथ मिल्ने सम्भावना ज्यदै न्यून हुन्छ। मानिस बाँडिएपछि जुट्नेभन्दा टुट्ने बढी हुन्छ। नेपाल समाज टुट्नेतर्फ अग्रसर हुँदैछ।
सर्सर्ति हेर्दा पहिलाको तुलनामा दलितमाथि जातीय विभेद केही कम भएको छ। परिवर्तनका केही आयाम देखिएका छन्। केही परिवर्तनलाई नकार्न सकिदैन, केही गैरदलितको साथ समर्थनलाई नजरअन्दाज गर्न मिल्दैन। तर परिवर्तन जुन अनुपातमा हुनुपर्ने थियो त्यो भएको छैन। एकाइसौं शताब्दीको वैज्ञानिक युगमा जातीय विभेद घटना घटेको देख्दा लाजमर्दो हुने स्थिति छ।
अर्कोकुरा यति सानो भूगोलमा ७० वर्षदेखि चलिरहेको दलित आन्दोलनले गतिलो दिशा नलिनु आफैंमा चकित पार्ने प्रकारको छ। विगत सात दशकयता राष्ट्रले धेरै राजनीतिक परिवर्तन देखेको छ तर दलित हकअधिकारको सवालमा दलित आन्दोलन रबरको बेलुनमा हावा भरिएर रङ्गिचङ्गि देखिएको जस्तो छ। जसको अस्तित्व एक मसिनो सिन्काको छेस्कोले समाप्त पारिदिन्छ। वर्तमान दलित आन्दोलनको अवस्था त्यस्तै छ।
समाजमा दिनहुँजसो जातीय विभेदका घटनाक्रमले दलितको अवस्था कस्तो छ त्यो हामीमाझ छर्लङ्ग छ। अर्को विडम्बनापूर्ण कुरा दलित दलितभित्र आफैंमा मेल छैन। एकता छैन। छैन अपनत्व। एकता मिलापभन्दा फुट ज्यादा देखिएको छ। जसको प्रभाव दलित आन्दोलनमा स्पष्ट देखिन्छ। दलित समुदायको अवस्थामा देखिएको छ।
मुखले, हाउभाउले, भाषणमा सबैले हामी नेपाली भने पनि यथार्थमा ‘म’ ‘मेरो’ मानसिकतामा टुंगिएको छ। म र मेरो मानसिकताले एकलकाँटे प्रवृत्तिको विकास गर्छ। सामुहिकभन्दा व्यक्तिवादी प्रवृत्तिलाई टेवा पुर्याउँछ। नेपाली समाज भावनात्मक हिसाबले टुटेको छ, फुटेको छ।
जातीयताको आधारमा गैरदलित समुदायको चेपुवामा परेको दलित समुदाय कसरी मिलेर बसेको भन्न सकिन्छ। गालीगलौज मारपिट, निषेधाज्ञा सामना गर्नु, कसैको उच्च जातीय अहंकारवादी रवैया सहेर बस्नुलाई मिलेर बसेको कसरी भन्न मिल्छ? कसैको दमन सहेर बस्नुलाई कसरी सामाजिक भाइचारा छ भन्न सकिन्छ। यो सरासर अपराध हो। सिमान्तकृत समुदायमाथि मूलधारमा राज गर्दै आएको थिचोमिचो हो। यहीँ परिपाटीलाई कथित समाजका अगुवाहरूले मिलेर बसेको भन्नू कति जायज हो?
शब्दमा हामी मिलेर बसेका छौं भने पनि नेपाली समाज व्यवहारमा कहिल्यै मिलेर बसेको छैन। भलै एकै धर्म संस्कार रीतिरिवाज, भाषा भेषभुसा, घर आँगनको साँध मिले पनि मानिस कहिल्यै मिलेनन्। समुदाय, जातजातिको मन कहिल्यै मिलेन। आपसी हार्दिकता देखिएन। समाजमा घटेका घटनाले मिलेका छैन आपसी मित्रता। थुनछेकको सांस्कृतिक परिपाटीले नेपाली समाजको असली चित्र पर्दापर्ण गर्छ। हामी मिलेर बसेका छैनौं भन्नेका तथ्य हाम्रा आफ्नै गतिविधिले जनाउँछ। दलितको भोजभतेरलाई गैरदलितले बहिस्कार अथवा अस्वीकार गर्छ भने कसरी मिलेको भन्न सकिन्छ?
नेपाली समाज जबसम्म कथित दलित र कथित गैरदलितबीच अन्तरघुलन हुँदैन। निर्विवाद रूपमा रोटी र बेटीको सम्बन्ध हुँदैन तबसम्म कुनै पनि हिसाबले नेपाली समाज एक हुँदैन। आपसी मेलमिलाप देखिँदैन। समाजिक र संस्कृतिको लागि नेपाल राज्यभित्र जति पनि जातजाति धर्मावलम्बी छन् तीनमा संकिण सोचको अन्त्य हुनुपर्छ। म भन्दा माथि उठेर हामी भन्ने मानसिकता देखिनुपर्छ। सामाजिक भाइचारा बिगार्नेमाथि कानुनी कारबाही हुनुपर्छ। जातिगत थिचोमिचोको जनस्तरबाट विरोध जनाउनुपर्छ। समाजको प्रत्येक तहमा धार्मिक सांस्कृतिक र समाजिक हार्दिकताको स्थापना हुनुपर्छ। अनिमात्र तमाम नेपालीमा एकता, मित्रता र हार्दिकता देखिन्छ।
अफ्रिकी मुलुकको रूवाण्डाका जातीय युद्व हामीले देखेका छौं। सुडानको विभाजन देखेका छौं। भारतीय धार्मिक दङ्गा हेरेका छौं। अब पनि हामीले पाठ सिकेनौं भने कहिले सिक्ने? घटना घटिसके पछि, हिंसात्मक गतिविधि पश्चातको सिकाई त्यति राम्रो हुँदैन। हाम्रा अगाडि प्रशस्त उदाहरण छन्। बेलैमा सिकौं, बुझौं फुट्नुभन्दा जुट्नु राम्रो। टुट्नुभन्दा मिल्नु राम्रो। ‘म’ भन्दा ‘हाम्रो’ राम्रो हो। हामीले सबैलाई समेट्ने काम गर्छ जबकि म शब्दले एक व्यक्तिमा सिमित राख्छ। एक्लोको अस्तित्व ढिलो चाडो समाप्त हुन्छ।
hgh spray kaufen
References:
8fx.info
dianabol only cycle results
References:
Valley.Md
before and after hgh
References:
Wehrle
legal steroids dekka
References:
anabolics steroids
anabolic steroids acne
References:
androgenic effects (https://saga.iao.ru:3043/kristina68u66)