काठमाडौँ- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजकसमेत रहेका राजावादी आन्दोलनका फिल्ड कमान्डर दुर्गा प्रसाईलाई काठमाडौँ प्रहरी परिसर पुर्याइएको छ।
झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याइएका प्रसाईँलाई सिधै काठमाडौँ प्रहरी परिसर लगिएको हो।
भारतको आसममा पक्राउ परेका प्रसाईँलाई झापासम्म स्थलमार्गबाट ल्याएर त्यहाँबाट हवाई मार्गबाट काठमाडौँसम्म ल्याइएको हो।
झापाको भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणमा रहकै अवस्थामा प्रसाईँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताएका छन्।
आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको उनको दाबी छ। ‘म आत्तिएको छैन। यो तस्करविरुद्धको लडाइँ हो। अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि….’, उनको दाबी छ।
भारतमा पक्राउ परेका भएपनि प्रहरीले नेपालबाट नै पक्राउ परेको जिकिर गर्दै आएको छ। नेपाल-भारत सुपुर्दगी सन्धि नभएका कारण भारतमा पक्राउ परेका व्यक्तिलाई पनि आफ्नो देशभित्र पुर्याएपछि मात्र पक्राउ परेको विषय सार्वजनिक गर्ने प्रहरीको अभ्यास छ।
चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
सोही दिन सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए। घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए। ५ जना अझै अस्पतालमा उपचाररत छन्।