पिताराम पन्थी
नागरिकको अभिभावक मानिएको सरकारले आफ्ना कारणले जनताको मानसिक स्वास्थमा पारेको असर बारे कति जानकार हाेला ? मेरो हकमा भने राष्ट्र , मातृभूमिकाे बारेमा चासो राख्दा मानसिक स्वास्थ्यमा प्रभाव परेको कुरा मलाइ कताकता अनुभव भइरहेको छ । यसमा मेरो आफ्नै उदाहरण यहीँ लेखमार्फत प्रस्तुत गरेकाे छु ।
आजभन्दा तिन वर्षपहिला मैलै मेरो युटुवमा रहेको पन्थीरक पोडकास्टमा कन्टेन्टहरु बनाउँदा राजनीतिक कन्टेन्टहरुमा हात हालेँ । जतिजति रिसर्च गर्दै गए त्यति धेरै नकारात्मक कुराहरु मात्र भेटिए। बेचेका, खाएका जस्ता अनेक घाेटालाका काण्डहरु शाेधकाे क्रममा देखिए । उहीँ लहरो तान्दा पहरो गर्जिन्छ भनेझैँ जति गहन अध्ययन गर्दै गयो त्यति ठुलो भ्वाङ देखिन थाल्यो । अनि महसुस हुन थाल्यो, देशलाई स्वार्थी जमातले यसरी पो लुटेका रहेछन् । देशलाई यसरी पो कमाई खाने भाँडो बनाएका रहेछन् । देशमा अस्थिरता यसरी पो भइरहेको रहेछ । पहिलेको नेपाल अनि अहिलेको नेपाल । अनि देशको पिर पर्न थाल्यो । टेन्सन हुन थाल्यो । मेरो मानसिक स्वास्थ्यमै असर पर्ने र्छाँटकाँट देखेपछि राजनीतिक कन्टेन्ट बनाउन छाडेर व्यक्तिगत अनुभवमा आधारित कन्टेन्टहरु बनाउए । उक्त कुराले भने आनन्द दिइएकाे पाइयो ।
अर्को उदाहरण हिजोआज आम जनताले भन्नेगरेको आठाैँ प्रदेशमा छु । यहाँ आफूले आफूलाई चिनाउन खोज्दा -आइ एम फ्रम द कन्ट्रि अफ द माउन्ट एभरेष्ट” त ढुक्कले भन्न सकिन्छ। गर्व पनि आभास हुन्छ तर ढुक्कले गाैतम बुद्धकाे जन्मभूमि भन्ने परिस्थिती छैन किनकी केही समयअघि थाइल्यान्ड घुम्न जाँदा त्यहाँको एक वात अरुण भन्ने मन्दिरमा गाैतम बुद्ध इन्डियामा जन्मेका हुन भनेर लेखेको पर्चा बाँड्दै गरेको देखेँ ।
मैले उठाउन खोजेको विषय हो देशका नेतृत्वकर्ताहरुको कारणले नागरिकहरुको मानसिक स्वास्थ्य बिग्रँदो अवस्थामा छ । देशको नेतृत्व गर्नेहरुलाइ राम्रो भाषाले सम्बोधन गर्नेहरु यहाँ कमै भेटाउँछु मैले । कसैलाइ किन विदेश जान खोजेको त अथवा किन विदेश आको त भनेर सोध्दा देशमा हामिजस्ता पहुँच नभकोलाइ केहि गर्ने वातावारण नै छैन भनेर भनिन्छ । मैले पनि यही भन्छु । सोझो मेसोले काम गर्नेहरु विरलै सफल भएका छन् ।
विदेशमा बसेर नेपालमा केहि गर्छु भनेर आउनेहरु पनि सरकारी नीति र प्रक्रियाकै कारणले निराश भएर फर्केको देखिन्छ । अझ, लाजमर्दो कुरा त टोले गुण्डाको कारणले आफूले चाहेजस्तो ठाउँमा केहि गर्न नसकेको देखिन्छ । आँटेको काम गर्ने वातावरण नमिल्दा पनि मान्छे निराश भएका घटना थुप्रै छन् । यसरी पनि आम जनताको मानसिक स्वास्थ्यमा असर परेकाे छ ।
अर्को कुरा मैले करिव एक दशक भन्दा बढि निजि विद्यालयमा पढाएँ । दश वर्षमा १२ वटा स्कुल फेरेहुँला । मैले नेपालका साधारण स्कुलदेखि नम्वर वान स्कुल सम्म पढाएँ तर शिक्षक भएकोमा खुसी छु भनेर भनेको एकजना पनि भेटिन । खुसि नहुनुले निराशाको सङ्केत गर्दछ । यो भन्नु पनि मानसिक स्वास्थ्यकै कुरा हो ।
विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको पाइन्छ भनेर भनेको छ । त्यस्तै नेपालको मानसिक स्वास्थ्य सम्वन्धी राष्ट्रिय नीतिले पनि मानसिक रोगको तत्काल विद्यमान दरको कुरा गर्दा नेपाली समाजको साथ साथै अरु मुलुकमा समेत कूल जनसंख्याको करीव २० प्रतिशत जनता कुनै पनि उमेरमा मानसिक रोगबाट पीडित भएको कुरा सर्वस्वीकृत तथ्य हो भनेर भनेको छ । मानिसमा मानसिक स्वास्थ्य बिग्रनुमा क्लिनिकल्ली धेरै कारणहरु हुन सक्लान तर हाम्रो देश नेपालको राजनैतिक अवस्था र यसले युवाहरुमा ल्याएको नैराश्यता पनि एउटा मुख्य कारण हुन सक्छ भन्ने मेरो व्यक्तिगत ठम्याइ हो ।
एउटा उदाहरण हेराैँ, उद्यमशिलताबाटै मुलुकमा केही गर्ने अठोट र दृढता बोकेका तर चारैतिरको हण्डरबाट पार हुन नसकेपछि इलामका एक युवा उद्दमी प्रेम आचार्यले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनताको सार्वभौम थलो भनिएको संसद भवन अगाडी नै आफैंले आफैंलाई आगो लगाएर आत्मदाह गरे । यो देशकै कारणले एउटा उद्दमीको मानसिक स्वास्थ्यसगँ सम्बन्धित विषय हैन र ? यो त नैराश्यताको चरम बिन्दुमा पुगेर लिएको निर्णय हो तर यस्ता प्रेम आचार्यहरु कति होलान् ? छानविन समितिले त प्रेम आचार्यकै गल्ति देखायो क्यार ।
यस्ता उदासिनताहरु धेरै ठाउँमा भेट्न सकिन्छ । सरकारबाट आश्वाशन पाउने, अनुदानको आस दिने, अनि ऋण खोजिखोजि व्यक्तिगत लगानी गर्ने, सरकारको तर्फबाट झमेला दिने, पहुँच नपुग्ने कारणले केहि पाउन नसकेर, ऋणमा डुबेर, सबै बन्द गरेर विदेशीनु परेको मेरै गाउँको दाइको आफ्नै कहानी छ । यसमा सरकारबाट सहयोग नपाउनु एउटा निराशा, थालेको काम बन्द गर्नु अर्को निरासा, ऋण लाग्नु अर्को निरासा, पारिवारिक विछोड अर्को निरासा । यति निराशा हुँदाहुँदै कसले भन्न सक्छ व्यक्तिको मानसिक अवस्था ठिक छ भनेर । यस्ता मान्छेहरु नेपालमा कति होलान् ?
संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ ले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा मान्यता दिई राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (२०२० देखि २०२६) बनाई कार्यान्वयनमा ल्याएको छ । गुणस्तरीय स्वास्थ्य तथा मानसिक सेवालाई सबै नागरिकमाझ सर्वसुलभ बनाउनु राज्यको अनिवार्य दायित्व हो । तर यहाँ त राज्य नै मानसिक स्वास्थ्यको कारण बन्न पुग्यो ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई समाजले फरक दृष्टिले हेर्छ अर्थात संकुचित नजर छ तर अन्तर्राष्ट्रिय परिवेशमा म नपालबाट भन्दा विदेशीहरुले हेर्ने नजर पनि फरक छ । काममा होस् कि, इम्मिग्रेसनमा होस् कि, ठुला ठुला अन्तर्राष्ट्रिय कन्फेरेन्सहरुमा होस् कि अथवा कुनै अन्तराष्ट्रिय प्ल्याटफमहरु जहाँ नेपालीहरुले आफ्नो दक्षता प्रतिस्पर्धा गर्ने ठाउँहरुमा होस् । प्राय: ठाउँहरुमा नेपालीहरुले नेपाली भएकै कारणले तिता अनुभवहरु प्राप्त गरेका छन् । यस्ता भोगाइहरु भोग्न राज्यले बाध्य बनाएको छ । यसले मानिसहरुलाइ फ्रस्ट्रेटेड बनाको छ । साथसाथै मानसिक स्वास्थ्य बिगारिदिन पनि सहयोग गरेको छ ।
अन्त्यमा, देशका नागरिकको मानसिक स्वास्थ्य ठिक हुनको लागि राज्यले अभिभावकत्व निर्वाह गर्न सक्नुपर्छ । मानसिक स्वास्थ्यका लागि लिइएका नीतिहरू कार्यान्वयन हुनुपर्छ । पहुँचको भरमा मात्र गर्ने कामहरु निरुत्साहित गर्नुपर्यो । राज्यले जिम्मेवारी बोध र जवाफदेहि मात्र बन्न सके कार्यान्वयन पक्षमा सुधार ल्याउन सकिन्छ । देशको राजनीति सुध्रनु पर्छ । राज्य सञ्चालकहरुको प्रवृत्ति फेरिनुपर्छ । झोले लक्षित हैन कि साधारण युवा लक्षित उद्दमशिलताका व्यावहारिक कार्यक्रमहरु सञ्चालनमा आउनुपर्छ । सरकारको सबै नागरिकलाई हेर्ने नजर समान हुनुपर्छ । सरकारी प्रक्रिया झन्झटमुक्त बनाउनुपर्छ ।