काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले स्टन्टको राजनीति दीर्घकालीन नहुने बताएका छन् । माओवादीले अग्नि सापकोटासँग भिजिट भिसा प्रकरण साटेको ज्ञानेन्द्र शाहीको आरोपको जवाफमा पुनको यो प्रतिक्रिया आएको हो ।
सत्ता पक्षसँग सहमति गरेर संसद्को गत्यावरोध अन्त्य गर्ने कदमलाई छेपारे प्रवृत्ति भन्दै माओवादी अध्यक्ष प्रचण्डमाथि उनी खनिंदै आएका छन् । यसबारे पत्रकारले सोधेको प्रश्नमा पूर्वमन्त्री पुनले शाहीलाई हावादारी कुरा गर्ने मान्छेको संज्ञा दिए ।
विगतमा पनि शाहीले वाहियात, तर्कहीन र हावादारी कुरा गरेको जनाउँदै उनले यसले कहीँ पनि पुग्न नसकिने प्रष्ट पारे । सस्तो लोकप्रियताका लागि राजनीति नगर्न पुनले सुझाव पनि दिए ।
‘ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रुपले सम्मान गर्दछु । तर प्रवृत्तिगत रुपले उहाँसँग हाम्रो सहमति छैन । विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसैदिन कुलमानलाई हटाउनु भयो । त्यसैदिन कुलमान साट्यो भन्नुभयो’, उनले भने, ‘यस्ता वाहियात, तर्कहीन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन । उहाँ एउटा युवा राजनीतिज्ञ हुनुहुन्छ । सस्तो लोकप्रियताबाट स्टन्ट गरेर राजनीति चल्दैन ।’