Nepal Viral
जुन 20, 2025

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै


ललितपुर । देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न भई आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विधिवत उद्घाटन हुँदैछ । ललितपुरको ग्वार्को चोकमा बनेको यो ओभरपास राजधानीको ट्राफिक व्यवस्थापनमा ऐतिहासिक उपलब्धि मानिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेर निर्माण कार्य थालेको हो । दुई वर्षमा सक्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थपिँदै निर्माण २०८१ पुस ८ गते मात्र पूरा भएको हो । निर्माणको ढिलाइ, प्राविधिक जटिलता र डिजाइन परिमार्जनका कारण योजनाको लागत करिब १४ करोड रुपैयाँले बढेको छ ।

सुरुवातमा १७ करोडमा सम्झौता गरिएको यो योजना अन्ततः ३१ करोड ४६ लाखमा सम्पन्न भएको हो । निर्माण कम्पनीलाई तोकिएको समयमा काम नसकाएकाले १ करोड ४७ लाख हर्जाना पनि तिराइएको छ ।

कुल ५७६.२ मिटर लम्बाइको ओभरपासमा चार लेनको सडक सञ्चालन हुनेछ । ग्वार्कोबाट लगनखेल र सातदोबाटोतर्फ छुट्टाछुट्टै ३२० र १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ । ट्राफिक जामको मुख्य केन्द्र बनेको ग्वार्कोमा अब सहज सवारी आवागमन हुने काठमाडौँ ट्राफिक प्रहरी प्रमुख दीपक गिरीले बताएका छन् ।

तर विशेषज्ञहरू अझै पनि सिसीटिभी, बत्ती र सुरक्षा पूर्वाधारको अभावलाई चुनौती मान्छन् । पूर्वाधारविद् गजेन्द्र थपलियाले ओभरपास र अन्डरपास भविष्यका आवश्यकता भएको बताउँदै अन्य चोकहरूमा पनि यस्ता योजना तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उद्घाटनपछि यो ओभरपास नेपालको सहरी पूर्वाधारको माइलस्टोन बन्ने विश्वास गरिएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ