काठमाण्डौ – विशेष अदालतले काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ अर्थात घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
विशेष अदालतले मेयर बस्नेतलाई घुस दिने पद्मा कोलोनीका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेको छ । कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि बस्नेतलाई घुस दिएको कसूर ठहर अदालतले गरेको छ ।
यस्तै अदालतले बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ । उर्मिलाले घुस रिसवतको रकम लिए खाएको वा भुक्तानी गर्न लगाएको तथ्य नदेखिएको भन्दै अदालतले सफाइ दिएको हो ।