विष्णुमतीमा  कारसहित बगेकी युवतीको सकुशल उद्धार गर्ने स्थानीय तथा प्रहरीहरु सम्मानित

काठमाडौंको विष्णुमतीमा गएराति कारसहित बगेकी युवतीको सकुशल उद्धार गरेका स्थानीय तथा प्रहरीहरु सम्मानित भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उद्धार कार्यमा संलग्न तीन प्रहरी र दुई स्थानीयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

गएराति सवा १० बजेतिर टोखा नगरपालिका–६, ग्राण्डी अस्पतालपछाडि विष्णुमती किनारबाट धुम्बाराहीका अंकुश सिंहले चलाएको बा.प्र ०१–०३१६१४१ नम्बरको कार अचानक खोलामा खसेको थियो । उनी तत्काल गाडीबाट हामफालेर जोगिए । 

तर, खोलामा युवतीसहित कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । लगत्तै खटिएको टोलीले स्थानीयको सहयोगमा युवतीको सकुशल उद्धार गरेको थियो । उनी टोखाकी भावना ओली हुन् ।

सम्मान गर्दै काठमाडौं प्रहरीका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले एक डोरीको भरमा आफ्नो जीवन जोखिममा राखेर उद्धारमा खटिएका प्रहरी र नागरिकप्रति धन्यवाद व्यक्त गरे । 

उक्त कार्य समुदाय–प्रहरी साझेदारीको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै भने,  ‘विपद्को समय अत्यन्त कठोर हुने र त्यस्तो अवस्थामा एक जीवन बचाउनुसमेत ठूलो सफलता हुन्छ । जस्तोसुकै संकटमा पनि नागरिकलाई सहायता गर्न प्रहरी सदैव तयारी अवस्थामा रहन्छ ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ