Nepal Viral
अक्टोबर 11, 2025

भुटानलाई पाखा लगाउँदै नेपाल एसिसी यू–१६ इस्ट जोन कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार समूह ‘ए’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै नेपाल लगातार चार खेलमा जित निकालेर सेमिफाइनल पुगेको हो । 

भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो । भुटानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सुयोग भट्टराई र सचिन भट्टले दुई/दुई विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । नेपालका लागि युवा ब्याटर रौनक श्रीवास्तवले सानदार शतकीय पारी खेले । उनले १३२ बलमा १६८ रनको आक्रामक शतकीय पारी खेलेका हुन् । त्यसक्रममा रौनकले १६ चौका र ५ छक्का प्रहार गरे ।  

भुटानविरुद्ध नेपालको सुरुआत अपेक्षाकृत रहन सकेन । १७ रनमै दुवै ओपनर गुमाएको नेपालको पारीलाई रौनकले सम्हाले । उनले तीन महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए ।

तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गरे । शिवान्शंले ५२ बलमा पाँच चौकासहित ५४ रन बनाए । त्यसपछि चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीले ६१ बलमा ७२ रन जोडे । सुगमले ३३ बलमा चार चौकासहित ३५ रनको योगदान दिए ।

पाँचौं विकेटका लागि रौनकले जोय थापासँग मिलेर शतकीय साझेदारी गरे । उनीहरूबीच १३० बलमा १७० रनको साझेदारी बन्यो । जोय ६७ बलमा सात चौकासहित अविजित ६१ रनमा रहे । अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसीले आज १४ बलमा सात रन मात्र बनाए ।

ओपनर सस्तैमा पवेलियन फर्किए पनि रौनकसहित अरू ब्याटरको प्रदर्शन उत्कृष्ट रह्यो । रौनकले यही प्रतियोगितामा इन्डोनेसियाविरुद्धको खेलमा ७१ बलमा आठ चौका र २ छक्कासहित ८८ रन बनाएका थिए ।

यस्तै, उनले सिंगापुरविरुद्ध ४० रन जोडे । जापानविरुद्धको खेलमा भने रौनकले ब्याटिङमा मौका पाएनन् । उनले घरेलु क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

रौनकले गत महिना मात्र लुम्बिनीबाट खेल्दै गण्डकी प्रदेशविरुद्ध ११७ बलमा २१७ रनको कीर्तिमानी दोहोरो शतकीय पारी खेलेका थिए । उनले आफ्नो सानदार लय इस्ट जोन कपमा पनि जारी राखेका छन् ।   

नेपालले अब सेमिफाइनलमा बुधबार मलेसियाको सामना गर्नेछ । नेपालले हालसम्म इस्ट जोन कपमा लगातार तीनपटक उपाधि जितेको छ ।

नेपालले सन् २०२३ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो । नेपाल यसपालि पनि उपाधि दाबेदार टिमको सूचीमा शीर्ष स्थानमा छ ।