काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन मनाउन निर्मल निवास पुगेका एक दलितमाथि दुर्व्यवहार भएको पाइएको छ । सार्वजनिक एक भिडिओमा हातमा दुबोको बुकी बोकेर गएका ति व्यक्तिलाई ज्ञानेन्द्रकै अगाडि उनका सहयोगीले ‘उता जाउ’ भन्दै दुर्व्यवहार गरेको देखिन्छ ।
पूर्व राजाको जन्मदिनमा हिजो महाराजगञ्जस्थित निर्मल निवास सर्वसाधारणको लागि खुला गरिएको थियो । ती व्यक्ति पनि घन्टौं लाइन बसेर शुभकामना दिन ज्ञानेन्द्रसम्म पुगेका थिए । उनले हातमा दुबोको बुकी र उपहार (सायद कपडा) टक्र्याउँन खोज्दै ज्ञानेन्द्रलाई नमस्कार गरेको भिडिओमा देख्न सकिन्छ ।
त्यसपछि ज्ञानेन्द्रले पनि नमस्कार फर्काउँदै उनको नाम सोध्छन् । तर, उनले अक्मकाउँदै नाम भनेपछि नजिकै रहेका निर्मल निवासका सहयोगीले ‘जाउ जाउ उता जाउ’ भन्दै हातले पन्छाएको देखिन्छ ।
सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओमा ती व्यक्तिले ज्ञानेन्द्रतिर देखाउँदै ‘म उहाँलाई नै दिन्छु’ भन्दाभन्दै सहयोगीले पन्छाएर छेउमा पुर्याएको र उनको हातको दुबो लिँदै अर्का सहयोगीलाई दिएको देखिन्छ ।
यसरी दलितमाथि दुर्व्यवहार भएपछि दलित अभियन्ताहरुले आपत्ति जनाएका छन् । एक अभियन्ताले भनेका छन्, ‘राजा सबैको साझा भनेको यहीँ होला, दान मानसिकताको उपज ।’
कतिपयले भने ती व्यक्तिलाई नै कटाक्ष गरेको देखिन्छ । सुरेन्द्र देउवाले ‘यस्तो अपमान हुँदा पनि किन राजा खोज्या ?’ भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्, ‘जुन धर्मले दलितलाई मान्छे स्वीकार्दैन, शुद्रहरु किन बौलाउँछन् हो ?’
सन्तोष परियारले पनि उस्तै प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘यत्तिको औकात देखाइदिँदा पनि बुद्धिको बिर्को खुल्दैन भने जीवनभर मानिस बन्न सकिन्न ।’

