काठमाडौं गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गरे पनि विस्तृतमा बताएनन् । ‘राति प्रहरीले त्यससम्बन्धी अपरेशन चलाएको थियो, तर संख्याबारे अहिल्यै भन्न सकिएन’, उनले नेपालभाइरलसँग भने ।
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।