मिम बहादुर परियार

मैले सहनाई बजाए
उसले जनै लगायाे
ऊ छुत भयो
म अछुत भए ।

उसले डाेरी लगायाे
चाेखाे भयो
हेरक ठाउँमा चल्ने भयो 
मैले पाइन
म नचल्ने भए ।

एउटा डाेरीकाे तागत
अचम्मको छ 
त्यसको जात छ
थर छ, चलन छ
रबाफ अहंकार सबै छ
रेखा काेरिदिएकाे छ
सिमा निर्धारण गरिदिएको छ।

नाथे डाेरीले
मान्छे मान्छेबीच पर्खाल बनाइदियाे
स्वागत बहिष्कारको नीति सुनाइदियाे ।

बर्षाैदेखि बाँधेको छ
बन्द गरेकाे छ
सम्बन्धका ढाेका
राखिदिएकाे छ साँध
बाँडेकाे मान्छे
भाँडेकाे छ समाज ।

धागोकाे लठ्ठाले
मलाई पर बसाइँ दियो
पराँइ बनाइदियाे
ठाउँ देखाइदियाे 
उसलाई ठूलो बनाइदियाे
मान्छे नचिन्ने बनाइदियाे ।

हेर्दा देख्दा सुन्दा
उसको र मेरो भगवान एकै हाे
भाषा भूगोल धर्म उहीँ हाे
मर्दा पर्दा चाहिने हामी नै हाे
सँगसँगै गाएका थियौं
राेएका थियौं हाँसेका थियौं ।

तर एउटा डाेरीले
जात देखाइदियाे
साथ भत्काइदियाे
भित्र बाहिर बनाइदियाे
मुटु छियाँछियाँ पारिदियाे
दुनियाँलाई हँसाउँदै
आफ्नाे औकात देखाइदियाे ।

जनैधारी साथी
अब बिउँझिने कि ?
साथ दिने कि
यस्ता विभेदकारी डाेरी
कतिन्जेल लगाउँछाैं शरीरमाथि
पुगेन र अब
धित् त मर्नुपर्ने हाे ?
धेरैलाई डाेरीले बाँधिसक्याैं
मारिसक्याैं, बगाइसक्याैं
अब त भयो हाेला ?

साथी साथकाे अन्तिम आग्रह
मान्छे बनाैं साथी
कि सबैलाई मिल्ने बनाउँ
हाँसीहाँसी  लगाउँ
हाेइन भने बगाउ भगाउ र भत्काउ
धेरै भयो अति भयो 
खति भयो ,
मति देखाउँ ।

जागाैं जलाउँ चुडाँउ
बाधक डाेरी
विभेदकारी डाेरी
विखण्डनकारी डाेरी ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ