सिलिगुढी । हिमवत्खण्डका सभ्यता, भाषा, साहित्य, कला, संस्कृति, इतिहास र दर्शनका विषयमा अध्ययन–अनुसन्धान, खोज–अन्वेषण तथा गोष्ठी, सेमिनार र प्रकाशन गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ गठन भएको हिमवत्खण्ड कला–साहित्य–संस्कृति मञ्च, अन्तर्राष्ट्रिय समितिको प्रथम तथा विशेष बैठक भारतको पश्चिम बंगाल, सिलिगुढीमा सम्पन्न भएको छ।
मञ्चका अध्यक्ष डा. विजय सुब्बाको अध्यक्षतामा सम्पन्न बैठकमा सह–संयोजक डा. खगेन शर्मा (असम) सहित सिक्किम, दार्जिलिङ, असम, मिरिक, नेपाल र सिलिगुढीका प्रतिनिधिहरूको उपस्थिति थियो। नेपालबाट प्राज्ञ शशी लुमुम्बू र अशोककुमार राई, मिरिकबाट अजम प्रधान र विजय बान्तवा कैलाशी, सिलिगुढीबाट मिलन रुचाल, देविका मंग्राती राई, जय क्याक्टस र सुधा राई लगायतको सहभागिता रहेको थियो।
बैठकले बैरागी काइँला, गंगाप्रसाद उप्रेती, केके कर्माचार्य, डा. तुलसी भट्टराई, हरिहर शर्मा (नेपाल), प्रा.डा. गंगाप्रसाद प्रसाई, प्रा.डा. दिवाकर प्रधान, विन्द्या सुब्बा (भारत), भारती लिम्बू (थाइल्यान्ड), ठाकुरप्रसाद गुरागाईं (म्यानमार), प्रा. पुष्पा शर्मा, केएन शर्मा (सिक्किम) र ठाकुरसिं पौडेल (भुटान) लाई मञ्चको सल्लाहकारमा मनोयन गरेको छ।
त्यसैगरी प्रा. जगत्प्रसाद उपाध्यायलाई सदस्य सचिव चयन गरिएको छ भने नेपालबाट शशी लुमुम्बू, अशोककुमार राई र फूलमान वल सचिवालय सदस्य बन्नुभएकाे छ । विभिन्न स्थानबाट साहित्यकार, कलाकार र संस्कृतिविद्हरूलाई सदस्यमा मनोयन गर्दै बैठकले संगठनको संरचना फराकिलो पारेको छ।
बैठकले ‘हिमवत्खण्ड’ नामक जर्नल र त्यही नामको अर्धवार्षिक साहित्य–कला तथा संस्कृतिप्रधान पत्रिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष डा. सुब्बाका अनुसार आगामी बैठक कात्तिक ८ गते (अक्टोबर २५) शनिबार सिलिगुढीस्थित देवकोटा संघमा बस्नेछ, जसमा आगामी अन्तर्राष्ट्रिय सम्मिलनको स्थान निर्धारणसहित अन्य महत्वपूर्ण निर्णय हुनेछन्।
यस विशेष बैठकलाई हिमवत्खण्ड क्षेत्रमा फैलिएको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सम्पदालाई जोड्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।