काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणकाे नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ भएको छ । याे आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कुलमान घिसिङले नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गएकाे वर्षको तुलनामा विदेशी मुद्रा जापानी यानमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवम् औसत बिजुली बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताउनुभएको छ । अहिले नाफामा कमी आए पनि आउँदाे वर्षमा वृद्धि हुने उहाँको दाबी छ ।
कार्यकारी निर्देशक शाक्यका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् क्षमता ३ हजार ५ सय ९१ गिगावाट पुगेको छ । प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको छ । यस्तै राष्ट्रिय ग्रेड पहुँच झन्डै ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।
प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४ सय ३४ मेगावट विद्युत् उत्पादन क्षमता थप भएको छ ।