निता घतानी
२०७१ साल भदौ ५, मेरो जीवनको सबैभन्दा पीडादायी दिन।
हाम्रो प्यारी दिदी, जो हाम्रो परिवारको उज्यालो थिइन्, परिवारको सहारा बनिसकेकी थिइन्। एकाएक एकदिन अचानक हामीबाट बिदा भइन्।
हामी सामान्य परिवारबाट हौं। हाम्रो परिवार सादा जीवनशैलीमा ठूलो खुसीका साथ बसिरहेको थियो। आमाबाबुका हामी ४ जना छोराछोरी , जेठी दिदी, म, अनि मेरो मुनिका दुई भाइहरू। एक अर्काको माया, साथ, र समझदारीले हाम्रो घर सधैं उज्यालो हुन्थ्यो । कहिलेकाहीँ सम्झन्छु त्यो पुरानो दिन, पुरानो घर — जहाँ दुःख पनि रमाइलो लाग्थ्यो, किनभने हामी एकअर्काका साथ थियौं।
परिवार भनेको सम्पत्ति होइन, साथ रहेछ, जसले जस्तोसुकै दुःखको पहाडलाई पनि रमाइलोमा बदलिदिन्छ। म गर्व गर्छु म यहीँ सामान्य परिवारको हिस्सा हुँ।
२०७१/०२/ २९ गते हामी हिँडेर टिचिङ हस्पिटल गएका थियौ। डाक्टरले केही दिन भर्ना गरेर हेराैन भन्न्नु भयो ।
दुई महिना अस्पतालमा साथ दिए, दिन–रात म उहाँसँगै थिएँ । भाइबहिनीको पढाइ र भविष्य, बुवा मम्मिलाई सुख ,
दिदिले धेरै सपना देखेकी थिइ । जीवन र मरणकाे दाेसाधमा बसेकी मेरी दिदीका आँखामा अझै केही गर्ने आट चम्किरहेको हुन्थ्यो, तर त्यो चमक बिस्तारै बिलाउँदै गयो।
दिदीकाे जीवन रक्षाकाे निम्ति काठमाडौं र सिलिगुडीको यात्राले म कमजोर बनिसकेको थिए। मेरो हिम्मत मेरो साहारा मेरो आँखैअगाडि दिदिको शरीर कमजोर हुँदै गएको थियो । विडम्बना म असहाय भएर हेरिरहेँ। हजार प्रयास गरेँ, माया दिएँ, आँसु बगाएँ , तर समयका अगाडि म कमजोर परेँ। जीवनकाे यो कठिन लडाइँमा मेरो माया, आशा र प्रार्थनाहरू पर्याप्त भएनन्। समय यस्तो पनि आयो हामीले दिदीले खेपेका अस्पतालका कष्टहरु हेर्न नसकेर, सबै परिवार मन्दिरमा गएर प्रार्थना गरेका थियौं ।
“भगवान, अब हाम्रो लतालाई मुक्ति देऊ, उसको पीडा अन्त्य गर।” त्यो दिन हामी सबैले मन्दिरमा शिर झुकाएर आँसुका साथ यो प्रार्थना गर्नु बाध्य भएको थियौ ।
दिदी टिचिङ हस्पिटलमा नै दिन प्रतिदिन कमजोर हुँदै थिइन् ।
म रातको अँध्यारोमा एउटा निश्चित स्थान भर्याङमा बसेर रुने गर्थें। त्यो बखत मलाई लाग्थ्यो भर्याङले मेरो मौन पीडा बुझ्थ्यो,मेरो निःशब्द आँसुको साक्षी थियो।
एक दिन दिउँसो त्यहीँ पुग्दादेखेँ।त्यो त लास निकाल्ने ठाउँ रहेछ।त्यो क्षणले हृदय चिरियो,र त्यो पनि बिरानो भयो।अब त्यो स्थान सम्झिँदा दिदीको पीडा, मेरो आँसु, र मृत्युको मौनता एकैपटक मनमा आइरहन्छ ।
किड्नी फेल भएर जीवनसँग लडिरहेकी थिइन् ।दुई महिनासम्मको उपचार, आशा र प्रार्थनाबीच… एक महिना सिलिगुडीको गर्मी र गाडी भित्रको बसाइ पछि अन्ततः मैले दिदीलाई जिउँदो होइन,सेतो कपडामा लपेटिएको अवस्थामा सिलिगुडी निओटिया हस्पिटलबाट घर ल्याएँ।
बुबाको एउटै इच्छा थियो ।मेरो छोरीलाई नयाँ कुर्ता–सुरुवाल लगाइदिन पाए हुन्थ्यो। त्यो इच्छा…दिदीको लासमा नयाँ एकजोर कुर्ता–सुरुवाल लगाएर पुरा गरियो।मैले दिदीलाई खुसीसाथ घर ल्याएको होइन,मनभित्रका , अनेक आँधीसहित असह्य चीत्कार लाचार बाबुआमा र बालक भाइको साथ पीडा बोकेर ल्याएको थिएँ। त्यो दृश्य, त्यो पीडा…शब्दले बयान गर्न सक्दिन। सुइको पिडा र मेसिनको आवाजले थाकेर चुप बसेकी मेरी दिदी,नयाँ लुगामा चुपचाप, अन्तिम पटक घर फर्किएकी थिइन्।
हजारौं मान्छेलाई साक्षि राखेर मौन भएर हावामा बिलाएर बिदा गइन। सबैभन्दा धेरै पीडा त मेरा बुवा मम्मिले सहनुभयो। आफ्नो आँखै अगाडि रहरले हुर्काएको पहिलो सन्तानलाई गुमाउनु कति असह्य हुँदो रहेछ, त्यो मैले उहाँहरूको मौनता, रुँदै–रुँदै रात काटेको पीडामा महसुस गरेको छु ।
बुवाको गहिरो मौनता र मम्मिको छटपटाहटले घरभित्रको आकाश नै रित्तिएको जस्तो लाग्थ्यो। आफ्नो सन्तान गुमाउने पीडा यो संसारको सबैभन्दा भयानक, सबैभन्दा निस्वार्थ पीडा हो।
किनभने त्यो पीडाको गहिराइ केवल वहाँहरूले मात्रै बुझ्न सक्छन्। बुबा मम्मिको मौनता, त्यो अनकथित आँसु र छटपटाहट, घरको हरेक कुनामा अनगिन्ती यादहरू,तर कुनै आवाज, कुनै शब्दले त्यो शून्यता भरिदिन सक्दैन।
हामी अरु तिनैजना छोराछोरी उहाँहरूका लागि सान्त्वना बन्न खोज्यौं, तर दिदीको ठाउँ कहिल्यै भरिएन।आज पनि कहिलेकाहीं मम्मिले एक्लै रोएको देख्दा मन भक्कानिन्छ।
अब त मेरो छोरी सङ भेट नभई मर्छु होला यो शब्दहरूले मुटु टुक्राटुक्रा भएको जस्तो हुन्छ ।
दिदीलाई सम्झिँदै बुबाले नजर झुकाउँदा, त्यो नजरमा हजारौं अपूरा सपना र शब्दहरू देखिन्छन्। बुवा मम्मिले त्यो पीडा मौन भएर भोगिरहनु भएको छ। तर जीवन अघि बढिरहेको छ, पीडालाई हृदयमा बोकेर दिदीको सम्झनामा हामी बाँचेका छौं।
दिदीको निधनले घरमा गहिरो शून्यता छायो। बिशेष गरि चाडपर्वहरू खल्लो लाग्छन्। बुवा मम्मि हामी कहिले खुशी हुन सक्नु भएन ।विदेशमा रहेका भाइको अनुपस्थिति पनि अझ धेरै पीडालाई बढाउँछ। तर हामी उहाँको सम्झनामा बलियो बन्यौं, उहाँका अधुरा सपना पूरा गर्ने दृढ संकल्पसहित अघि बढिरहेको छौ ।
मेरो परिवार सामान्य थियो, बुबाको एक्लो कमाइमा चार छोराछोरी हुर्किरहेका थियौं। त्यसैले हामीसँग धेरै सुविधाहरू थिएनन्, हाम्रो हातमा राम्रो मोबाइल थिएन जसले हाम्रा खुसीका पललाई तस्बिरमा कैद गर्थ्यो।
सायद यदि त्यो थियो भने, हामीसँग दिदीसँगको खुसीका तस्बिरहरू हुन्थे, यादहरू अझ जीवन्त हुन्थे। तर आज पनि हाम्रो मनमा उहाँको हाँसो, माया र स्नेह कैद छ।
हामीले धेरै कुराहरु हरायौं, तर दिदीको माया र सम्झना कहिल्यै हराउने छैन।आज पनि कहिले काँही उहाँलाई सम्झिँदा आँसु बग्छन्, तर त्यो आँसुमा उहाँप्रति गहिरो सम्मान हुन्छ।
म कान्छी भएर हुर्किएँ, दिदी गुमाएपछि अचानक जीवनले मलाई जिम्मेवारीको भारी थमायो। बुवामम्मीको ठुली छोरीको अभाव पूरा गर्ने , भाइहरुको भबिस्य ।
म दिदीको दायित्व सम्हाल्न लागेँ, कहिलेकाही यस्तो लाग्छ मैले आफूलाई कतै हराएको अनुभव गरेको छु। दिदी, तपाईं नभए पनि तपाईंको माया मेरो आत्मामा सदैव जीवित छ।
तपाईंका सपनाहरू पूरा गर्ने यो यात्रा मा हामी निरन्तर अघि बढिरहेको छौ । समय बित्दै जादा अझ धेरै अभाबको महसुस गरेकी छु। यदि स्वर्ग सत्य हो भने त्याहीबाट यसैगरी हामिलाइ नियालेर हाम्रो रक्षाकवज बनिरहनुहोस ।
आज भन्दा ठीक ११वर्ष अघि, यतिखेर म दिदीसँगै हस्पिटलको शैय्यामा उहाँको पीडासँग बसिरहेको थिएँ। औषधिको गन्ध, डाक्टर–नर्सको हतार, हृदय चिर्ने मौनता… यी सबैले त्यतिबेला समयलाई रोकिदिएको जस्तो लाग्थ्यो।
आज ठीक ११ वर्षपछि, फेरि यही समयमा दिदीको हस्पिटल बसाइ सम्झिँदा मन अझै चिरिन्छ। समयले घाउ पुरिन्छ भन्ने सुनेकी थिएँ, तर दिदीको सम्झनाले भने के हरपल पीडा पनि दिन्छ, शक्ति पनि। दिदी, तपाईंको अनुपस्थितिले जीवन अधुरो बनाएको छ, तर तपाईंको माया र स्मृति नै मेरो यात्राअघि बढाउने आधार बनेको छ।
धेरै माया !!!
तपाईंको प्यारा भाइबहिनीहरु
निता घतानी बाबा
रोशन घतानी
राजन घतानी
हार्दिक श्रद्धाञ्जली लता बैनीप्रति