अन्तरजातीय बिहेको कहर : तीन महिनासम्म न बच्चाको न्वारान, न भेटिए श्रीमान्

काठमाडौं : सहिद लखन गाउँपालिका—१ बक्राङकी मनिका परियारले छोरा जन्माएको ठ्याक्कै तीन महिना भयो । तर, यत्तिका दिन भइसक्दा पनि छोराको न्वारान भएको छैन । छोरा जन्मिएपछि खुसियाली मनाउने उनीसँग कोही पनि साथमा छैनन् ।

 भागेर गरेको बिहे हुनाले माइती यसै खुसी छैनन् । ढाँट छल गरी भित्र्याएको हुनाले घर परिवारले गाउँ निकाला गरिसके । जीवन काट्ने भनेको एउटा श्रीमान् पनि गर्भ रहेको थाहा हुने बित्तिकै फरार भए । मनिकाका दिन अहिले रोएरै कट्ने गरेका छन् ।उनले जेठ १० गते गोरखा अस्पतालमा छोरा जन्माइन् । केही दिन त अस्पतालले खुवायो, पिलायो पनि । त्यसपछि जाने ठाउँ भएन । ‘घरबाट निकाले, माइती गाउँमा एकजना काकीले एउटा सानो टहरो दिनुभएको छ । त्यहीँ ओत लागेकी छु’, मनिका भन्छिन्, ‘बच्चाको न्वारान नभएकाले माइतीले पनि घरभित्र छिर्न दिँदैनन् । यही सानो घरमा रोएरै दिनरात बिताइरहेकी छु ।’

 कमाइ गर्ने कोही छैनन्, आम्दानी शून्य छ । आफ्नो सुत्केरी ज्यान र शिशुलाई पोषण छैन । ‘मेरो दूध आउँदैन । अलिअलि आएको दूध नि बच्चाले खान मान्दैन । दूध किनेर खुवाउनुपर्छ । केले किन्ने ?’, हरेक शब्दमा रुँदै उनी भन्छिन्, ‘खान नपाएर होला, बाबु दिनरात रुन्छ । म सहन नसकेर रुन्छु । आफू त जे जसो गरुँला बच्चालाई खुवाउनै गाह्रो भयो ।’ साँघुरो कोठाभित्र बस्दा गर्मीले बच्चाको ज्यानभरि घमौरा र टाउकामा खटिरा आएको तर बाटो खर्च र उपचार खर्च नहुँदा स्वास्थ्य संस्था पनि जान नसकेको उनको दुःखेसो छ ।

माइतीको पनि आर्थिक अवस्था नाजुक छ । ‘आमा छैनन्, बुवा केही गर्न नसक्ने बुढो हुनुहुन्छ । हामीले नै उहाँलाई हेर्नुपर्ने अवस्था छ । एउटा भाइ छ, ऊ पनि पोखरातिर ज्याला मजदुरी गरेर बस्छ’, उनी भन्छिन्, ‘गाउँपालिकाले अलिअलि सहयोग गर्‍यो । छरछिमेक, इष्टमित्रले हेर्नुसम्म हेरिसके । कति मागुँ, कति दुःख दिउँ । अधिकारका लागि श्रीमान्सँग लडदने कोही छैनन् । म यस्तो कमजोर छु, काखको बच्चा बोकेर कहाँ जाउँ ?’ बल्लतल्ल एकपटक न्याय माग्न जिल्ला प्रहरी कार्यालयसम्म पुगेकी थिइन् । प्रहरीले घरतर्फका ससुरालगायतलाई झिकाएको पनि थियो । तर न ससुराहरूले प्रहरीसामु गरेको प्रतिबद्धता पूरा गरे, न प्रहरीले श्रीमान् खोजिदिन सक्यो ।श्रीमानलाई खोजी गरिपाउँ भनेर प्रहरीमा निवेदन दिएको पनि महिना दिन बितिसक्यो । अझै खोज्न सकेको छैन’, उनी भन्छिन्, ‘मेरो पक्षबाट जोडदार आवाज उठाइदिने माइती पनि छैनन् । सीधासाधा भएर हो कि, न्याय पाइएन ।’

मनिकाले २०८० मंसिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग विधिवत् विवाह गरेकी थिइन् । मिलनकै करकापमा परेर प्रेममा परेको, उनकै करपाकमा थर झुक्याएर विधिवत् बिहे पनि गरेको उनी बताउँछिन् । तर, केही दिनमा सत्यतथ्य खुलेपछि फेरि भागेर काठमाडौंमा काम खोज्दै गएको उनले बताइन् ।

‘घरबाट निकाले पनि हामी दुवैजना आफ्नो सुरले चितवनमा काम गथ्र्यौं । त्यहाँबाट पनि पोहोरको वैशाखमा काठमाडौं गयौं’, उनले भनिन्, ‘भदौमा पेटमा बच्चा बसिहाल्यो । त्यसपछि हामी यतै माइतीमा आयौं । घर खर्च जुटाउन भनेर उनी (श्रीमान्) मंसिरमा काम गर्न झापा गए । त्यसपछि अहिलेसम्म अत्तोपत्तो छैन । यत्रो बाबु जन्मिँदा पनि न उनी आए, न कुनै खबर आयो ।’ 

अहिले न्वारान गर्ने अभिभावक नहुँदा आफू वल्लो घाट न पल्लो तीर भएको उनको दुःखेसो छ । ‘न खानेकुरा छ, न बस्ने ठाउँ’, उनी भन्छिन्, ‘न्वारान गर्ने मान्छे नहुँदा माइतीगाउँको पनि हेलाँहोचो भएको जस्तो भएको छु ।’ त्यतिबेला आफूले मायामा फँस्न र विवाह गर्न इन्कार गरे पनि मिलनले फकाएर फँसाएको उनी सम्झन्छिन् ।

स्मरणीय : प्रस्तुत सामग्री पत्रपत्रिका स्तम्भअन्तर्गत अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो l 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ