काठमाडौं ।रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो ।
गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए ।
उनका अनुसार प्रहरी टोलीले आज (आइतबार) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।