Nepal Viral
सेप्टेम्बर 3, 2025

शिवपुरीकोे रोयल भिल्ला रिजोर्टमा प्राज्ञहरूको मस्ती

काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका वर्तमान प्राज्ञ परिषद्का पदाधिकारीहरूले नियुक्ति भएर आएदेखि नै एकपछि अर्को गर्दै विभिन्न जात्रा देखाउँदै आइरहेका छन् । नियुक्ति प्रक्रिया नै ‘कीर्ते’ गराएर आएका प्रज्ञाका पदाधिकारीहरूको क्रियाकलाप सुन्दै लाजमर्दो रहेको छ ।

पहिलो जात्रा उनीहरूले नियुक्त भएर आएपछि पद तथा गोपनीयताको शपथ ग्रहणमै देखाएका थिए । ‘नेपालको संविधान २०७२’ अनुसार पद तथा गोपनीयताको शपथ गराउनुपर्नेमा कुलपति भूपाल राईले प्राज्ञ सदस्यहरूलाई ‘नेपालको अन्तरिम संविधान २०६४’ अनुसार शपथ ग्रहण गराएको समाचार सावर्जजनिक भएपछि उनीहरूको केटाकेटीपन उदाङ्गो बनेको थियो ।

यसै गरी प्राज्ञपरिषद्को पहिलो बैठकको निर्णयमा नेपाली भाषालाई ‘खस भाषा’ भनी अपमान गरेपछि झन् उनीहरूको अतिवादीपन र अनुदारपन थप छर्लङ्ग भएको थियो । अर्को विवादस्पस्द र आपत्तिजनक कदम थियो– वि.संं २०२२ देखि निरन्तर रूपमा प्रत्येक वर्ष असार ९ गते आयोजना हुँदैआएको राष्ट्रिय कविता महोत्सव । नेपाली भाषामा आयोजना हुने कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय तीन जना गरी उत्कृष्ट पाँच जना विजेता चयन गर्ने परिपाटीलाई खारेज गर्दै कुलपति राईको अगुवाईमा परिषद्ले महोत्सवलाई बहुभाषी बनाउने र उत्कृष्ट दश जना छनोट गर्ने निर्णय ।

यसैगरी नेपाली वाङ्मयको विशिष्ट सेवा गरेबापत् सम्मानका रूपमा विशिष्ट वाङ्मय साधकहरूलाई प्रज्ञा–प्रतिष्ठानले उपलब्ध गराउँदै आएको आजीवन सदस्य सेवासुविधा बन्द गर्ने निर्णय । जुन निणर्यलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । यस्ता अनगिन्ती कदम सरासर प्रज्ञा र समग्र नेपाली वाङ्मयको हितविपरित छन् ।

प्रज्ञाले गर्ने गरेका प्रायः कार्यक्रम विवादस्पद रहँदै आएका छन् । यसै सिलसिलामा मङ्गलबार बुढानीलकण्ठको रोयल भिल्ला रिजोर्टमा आयोजित ‘प्रज्ञा वृहत् नेपाली शब्दकोश’सम्बन्धी एक दिने ककटेल–डिनरसहितको आवासीय कार्यक्रम त झनै आपत्तिजनक रहेको स्वयं प्राज्ञहरू नै बताउँछन् ।

प्रज्ञा भवनमा सुविधा सम्पन्न हलहरू छन् । स्रोतसाधनहरू छन् । तर, शब्दकोशसम्बन्धी केही शब्दहरूमा छलफल गर्नका लागि भनेर प्रज्ञाले शिवपुरी जङ्गलको रोयल भिल्ला रिजोर्टमा आवासीय कार्यक्रम राखेको प्राज्ञ परिषद्का एक जना सदस्यले बताए । पाँच वर्षअघि मात्र गरिएको संशोधनलाई पुनः संशोधन गर्नुपर्ने कुनै कारण नभएता पनि बहाना बनाएर रिजोर्टमा रमाइलो गर्न गएको स्वयं प्राज्ञरू नै बताउँछन् ।

निकै महङ्गो रोयल भिल्ला रिजोर्टमा कुलपति राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, सदस्य सचिव धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरू मदुसूदन गिरी, कृष्णराज अधिकारी, बाबा बस्नेत, कौशिला रिसाल, त्रैलोक्यमान बनेपाली र अमर न्यौपाने सहभागी भएका थिए भने राजन मुकारुङ र हंशावती कुर्मी भने सहभागी भएनन् । सभाबाट बालाकृष्ण अधिकारी, कृष्णराज सर्वहारी, चेतनाथ धमाला र तारामणि राई सहभागी रहेका थिए ।  

यसै गरी भाषा तथा व्याकरणविद्का रूपमा धर्मराज अधिकारी, भरतकुमार भट्टराई, बलराम प्रसाईं, विष्णुप्रसाद दाहाल, भुवन न्यौपाने र शेखर अर्याल सहभागी रहेका थिए । कार्यक्रम सदस्य सचिव सुवेदी प्रमुख रहेको नेपाली भाषा, कोश तथा व्याकरण विभागको बजेटमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमका लागि अढाई लाख बढी रकम विनियोजन गरिएको  लेखा शाखा सम्बद्ध एक कर्मचारीले बताए । पहिलो दिनको  ककटेलसहितको रात्रिभोज राति साढे दश बजे सकिएको थियो भने भोलिपल्ट साँझसम्म कार्यक्रम चलेको थियो ।  

ककटेल र डिनरसहित आवासीय रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रज्ञाका प्रशासन, योजना, लेखा र सचिवको सचिवालयका कर्मचारीहरू गरी करिब ४२ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागी एक जना प्राज्ञ सभा सदस्यले बताए ।  उनले भने, “ककटेल कार्यक्रम निकै रमाइलो भयो । कुलपति, उपकुलपति र सदस्य सचिवहरू बढो मदिराप्रेमी र रसिक स्वभावका हुनुहुँदो रहेछ । मस्तसँग पिउनु भयो, ख्याल–ठट्टा गर्नुभयो  र नाच्नु पनि भयो ।”   

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ