सेप्टेम्बर 6, 2025

कंगारुलाई बचाउन कार रोकेर उदार गर्दा दुई नेपाली महिलाको निधन

काठमाडौं । मेलबर्नको उत्तरी क्षेत्रमा पर्ने क्रेगिबर्न नजिकै Hume Freeway मा दुई नेपाली महिलाको दुःखद निधन भएको छ। उनीहरू घाइते कंगारुलाई बचाउन कार रोकेर निस्किएका बेला अर्को सवारीले ठक्कर दिँदा घटना भएको हो।

३०–३० वर्षका दुई महिला मेलबर्नतर्फ गाडी हाँकिरहेका थिए। बाटोमा कंगारुलाई ठक्कर दिएकाले उनीहरूले कार रोक्दै बाहिर निस्केर जनावरलाई सहयोग गर्न खोजे। तर त्यही समयमा पछाडिबाट आएको अर्को सवारी चालकले अँध्यारो र वर्षा लागेको कारण कार देख्न सकेन। गाडी मोड्ने क्रममा ती दुई महिलालाई उच्च गतिमा ठक्कर दियो।

बिभरिजकी ३० वर्षीया एक महिलाको घटनास्थलमै ज्यान गयो। थोमास्टाउनकी अर्की ३० वर्षीया महिलालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइए पनि उपचारको क्रममा निधन भयो। ठक्कर दिने चालक घटनास्थलमै रहेर प्रहरीलाई सहयोग गरिरहेको छ।

Victoria प्रहरीका रोड पोलिसि सहायक आयुक्त ग्लेन वेयरले अँध्यारो, उच्च गतिमा चल्ने सडकमा गाडी रोक्नु खतरनाक हुने बताएका छन्। उनले भने, “विशेषगरी राति र ओसिलो मौसममा बाटोमा निस्कनु अत्यन्तै जोखिमपूर्ण हुन्छ। यो घटना ती महिलामात्रका लागि होइन, पछाडिबाट आउँदै गरेका चालक र घटनास्थल देख्ने अरू सबैका लागि त्रासदीपूर्ण बन्यो।”

यो दुर्घटनाले यस हप्तालाई भिक्टोरियाको सडकका लागि भयावह बनाएको छ। चार दिनमै नौ जनाले ज्यान गुमाएका छन्, जसमा पैदल यात्री, मोटरसाइकल चालक र अन्य सवारीमा सवारहरू समेत छन्। यस वर्ष भिक्टोरियाको सडकमा ज्यान गुमाउनेको संख्या २०५ पुगेको छ, जुन २०२४ को सोही अवधिभन्दा बढी हो।

आयुक्त वेयरले मृत्युका घटनामा कुनै स्थायी ढाँचा नदेखिएको भन्दै चालक शिक्षा र जनचेतनालाई अझै सशक्त बनाउन आवश्यक रहेको बताए। उनले जंगली जनावरसँग ठोक्किने वा बाटोमै उद्धार गर्ने जोखिमबारे सचेत रहनु सबैका लागि जरुरी भएको पनि स्मरण गराए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ