काठमाडौं । सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि झडप भएको थियो।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई ‘जेन जी’ भनेर चिनाउने विशेष गरी नवयुवा पुस्ताका प्रदर्शनकारीहरूको विरोध र्यालीपछि काठमाण्डूमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँ लगायत विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।
बिहान देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रवक्ता मुक्तिराम रिजालले भने, “हामीले १२ः३० बजे जारी भएको कर्फ्यू विस्तार गरेका छौँ। अब राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लागेको छ।”
तस्बिरको क्याप्शन,प्रदर्शनकारीहरूले सङ्घीय संसद्को बैठक बस्ने नयाँ बनेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका केही संरचनामा आगजनी गरेका छन्
प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको बताइएको छ।
‘विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले’ बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।
स्थानीय प्रशासनले कर्फ्यूको घोषणा गरेलगत्तै काठमाण्डूको सडकमा नेपाली सेनाको टुकडी तैनाथ भएको देखिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको उनले बताए।
उनले थपे, “शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ।”रिजालका अनुसार शान्तिपूर्ण प्रदर्शन “अराजक बन्दै” गएको र निषेधित क्षेत्र तोडिएकाले उक्त निर्णय लिइएको हो।
अधिकारीहरूले केही प्रदर्शनकारीहरू संसद् भवन परिसरभित्र पनि प्रवेश गरेको दाबी गरेका छन्।
“त्यस क्रममा सामान्य बल प्रयोग भएको छ। हामीले तत्कालै केही जनालाई नियन्त्रणमा लिएका छौँ,” रिजालले भने।
उनका अनुसार प्रदर्शनमा सहभागी भएका वा पक्राउ परेकाहरूको यकिन सङ्ख्या आउन बाँकी रहेको छ।
यसअघि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्ने निर्णयसहित विज्ञप्ति जारी गरेका थिए।
अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए।
टिकटकमा विभिन्न नेताका छोराछोरीको ‘विलासी जीवन’ झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित ‘नेपो बेवी’ ट्रेन्ड सुरु गरेका छन्।
त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ।
बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए।
