काठमाडौं– आन्दोलनरत जेनजी समूहबाट नयाँ सरकारका लागि नेतृत्वमा नाम सिफारिस भएकी पूर्व प्रधानन्याधीश सुशीला कार्कीले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्दैछिन्।
कार्की निकट स्रोतले दिएको जानकारी अनुसार भेटवार्ता राष्ट्रपति निवास शितल निवासमा तय भएको छ। ‘उहाँलाई राष्ट्रपतिकोबाट फोन आएको छ। सम्भवत आधा घण्टाभित्रै उहाँहरुको कुराकानी हुन्छ’ स्रोतले भन्यो।
भेटवार्तामा नयाँ परिस्थति र सरकार बनाउने कानुनी अभ्यासबारे छलफल हुने बताइएको छ।
जेनजीका प्रतिनिधीहरुले अघि १० बजे पनि कार्कीलाई फोन गरेर देशको अभिभावकत्व लिइदिन आग्रह गरेका थिए। जेनजी प्रतिनिधीसँग कार्कीले कानुनी कुराहरु सहज भएमा देशको नेतृत्व लिन आफू तयार रहेको तर त्यसका लागि राष्ट्रपतिसँग छलफल हुनुपर्ने बताएकी थिइन्। त्यसपछि जेनजी प्रतिनिधिहरुले सेना प्रमुखलाई यसको समन्वय गरिदिन आग्रह गरेका थिए।
बिहीबार साँझ मात्र राष्ट्रपति पौडेलले केही कानुनविदसँग नयाँ सरकारको गठन प्रक्रिया र त्यसको कानुनी पक्षबारे छलफल गरेको पनि बताइएको छ। पूर्व प्रन्यालाई सरकारको नेतृत्व दिँदा पैदा हुने कानुनी पक्षको कुरा पनि सो छलफलमा उठेको थियो।