मिमबहादुर परियार
काठमाडौं । सामाजिक सञ्जाल आजको विश्वकाे मुख्य शुत्रधार हाे। जसले विश्वलाई एकआपसमा जाेडेकाे छ । सूचना प्रविधि र मनाेरञ्जनकाे तह व्यापक वृद्धि गरेको छ । नेपालकाे करिब ६०% जनसङ्ख्याले सामाजिक सञ्जाल सूचना तथा मनाेरञ्जनको स्रोतकाे रुपमा प्रयोग गरेको देखिन्छ । केहीले भने यसलाई पेसाकाे रुपमा विकास गरि आफ्नो जीविकोपार्जन बनाएका छन् । यहीँ सबैकाे प्रिय मञ्च जब केपी शर्मा ओली सरकारले बिना तयारी निरंकुश शैलीमा बन्द गर्याे । त्यसपछि जेनजीकाे आवाज झन् चर्काे रुपमा सुनिन थाल्यो ।
जानकारहरुकाे अनुसार सामाजिक सञ्जालमाथि प्रतिबन्ध हुनुअघि केही जेनजी समूहले रेडिट नामक एप्पमा “नेपाे किड्स” अर्थात नेताका छाेराछाेरीकाे रहिस जीवनशैली उत्खनन अभियान सञ्चालन गरिरहेका थिए । उक्त कुरालाई मुख्य आधार मान्दैन काङ्ग्रेस र एमालेकाे संयुक्त सरकारले अचानक नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुगेको थियो । “नाेपाे किड्स” काे नालीबेली बाहिर आउन लाग्दा,नेताहरूका सन्ततिकाे रहिसि जीवनशैलीकाे पर्दाफासले प्रश्नकाे चाङ उनीहरूमाथि तेर्सिएकाे थियो । डडेल्धुराबाट आएको नेताको सम्पत्ति कति हुनुहुन्छ ? उनको पेसा यहीँ राजनीति हाे , त्यसबाट कति आयआर्जन हाेला ? हिसाबकिताब गर्ने हाे भने अहिलेकाे याे महङ्गीमा जेनतेन जीवन त चल्ला तर हातमा राेलेक्स घडी , काँधमा गुचीकाे झाेला आदि उनीहरूकाे आयआर्जन र पुर्ख्याैली सम्पत्तिबाट कुनै हालतमा पूरा हुनसक्दैन । अन्य नेताको सवालमा पनि प्रश्न उहीँ हाे । एउटा हिजोको सामान्य मान्छे, गाेडामा हात्ती छाप चप्पल लगाएर हिड्ने जनताको नेता रातारात कसरी अर्बपति भयो ? उसको परिवारकाे जीवनशैली कसरी विलासी भयो ?
यी तमाम प्रश्नको उत्तर भनेकै नेताहरु भ्रष्टाचार , नातावाद ,कृपावाद दलालतन्त्रमा लिप्त भएर नै हाे । नेताहरूकाे यहीँ भ्रष्टाचारी प्रवृत्ति र मनपरीतन्त्रबाट आजित जेनजी अर्थात सन् १९९७ देखि २०१२ भित्र जन्मेको पुस्ताले भाद्र २३ गते काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा सरकारले अकस्मात केही सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारका विरुद्ध आन्दोलन गरेका थिए । उक्त जेनजी पुस्ताकाे आन्दोलनमा राज्यको आक्रमणमा करिब ७४ युवाको मृत्यु भयो । सयौं घाइते भए । खर्बाैंकाे क्षति भयो । सार्वजनिक सम्पत्ति तथा निजी संस्थामाथि भएको आगजनी लुटपाटले राष्ट्र आक्रान्त भएको थियो । आन्दोलनकाे रापताप र क्षतिका कारण भाद्रा २४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको आन्दोलनकाे दबाबले पदबाट राजिनामा दिन बाध्य भए । अन्ततः दुई प्रमुख दल काङ्ग्रेस र एमालेकाे संयुक्त सरकार ढल्याे ।
सम्भवतः संसारमा आन्दोलनकाे २७ घण्टामा सत्ता परिवर्तन गरि राजनीतिक उथलपुथल गर्न सफल भएकाे याे पहिलो घटना हुनसक्छ । यद्यपि नेपालका जेनजीले गरेकाे आन्दोलन अहिले संसारभर अभ्यासमा छ । भदौ २३ काठमाडौं भएको युवा आन्दोलन एक उदाहरण हाे । विशेषगरी जुन राष्ट्रमा राजनीतिक अस्थिरता , गरिबी , बेरोजगारी , भ्रष्टाचार थेगी नसक्नु हुन्छ त्यस्ता राष्ट्रमा नव पुस्ता जाे कुनै राजनीतिक पार्टीमा आवद्ध छैन, तिनै आक्राेसित युवाले आन्दोलनकाे नेतृत्व गरेको देखिन्छ । श्रीलंका , बंगलादेश , इन्डोनेसिया अहिले नेपालमा सुरु भएको आन्दोलनकाे स्वरुप उहीँ हाे । युवाको आन्दोलन राजनीतिक अस्थिरता , अराजकताको उपज हाे । शक्ति र सत्ताको आढमा देश विकासको सट्टा परिवार र आफ्ना आसेसासे विकासकाे परिणाम हाे भाद्र २३ काे विद्रोह हाे । वि. स. २०४७ यता सरकारकाे बागडोरमा बसेका कथित नेताहरुकाे बेइमानीले आजको युवा पुस्ता आजित छ। समग्र राष्ट्र उनीहरूकाे स्वार्थका कारण विकास सुशासनकाे बन्दी भएको छ । हजारौं युवा देश छाेडेर विदेशमा आप्रवासी हुन बाध्य छ । राष्ट्र गरिबी बेरोजगारी भ्रष्टाचारकाे खाडलमा डुबेको छ ।
जेनजीकाे माग के हाे ?
भदाै २३ र २४ काे उथलपुथल पश्चात् सरकार परिवर्तन भएको छ । जेनजी पुस्ताको माग बमोजिम केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकार ढलेकाे छ। प्रतिनिधि सभाको बिगठन भएसँगै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । जसको मुख्य काम फाल्गुन २१ मा निर्वाचन गरि जनतालाई अझ विशेषगरी जेनरेसन जेड अर्थात जेनजी पुस्ताको मुख्य माग भ्रष्टाचारको अन्त्य , सुशासनको प्रत्याभूति दिलाउनु छ । याे अलवा जेनजी पुस्ता तथा समग्र नेपाली नागरिकको इच्छा चाहाना भनेको देशभित्र विकास ,सुशासन , शान्ति , समता , समानता र सामाजिक स्वतन्त्रताको प्रत्याभूति पनि चाहिएको छ ।
जेनजी पुस्ता भनिरहँदा केही आक्राेसित युवाको मागलाई प्राथमिकता दिनु न्यायाचित हुँदैन । काठमाडौं लगायतका सहरमा बस्ने युवाहरु मात्रै जेनजी हाेइनन् । अरबकाे तातो घाममा रगतपसिना बगाएर राज्यलाई रेमिटेन्स पठाउने पनि जेनजी नै हुन् । करिब चारहजार वर्षदेखि जात व्यवस्थाबाट प्रताडित लाखौंलाख दलित पनि जेनजी छन् । हजारौं याैनिक अल्पसङ्ख्यक , मुस्लिम , पिछडिएका क्षेत्रका युवा पनि जेनजी हुन् । उनीहरू माग आवश्यकता तमाम जेनजीका जस्तै माग छन् । देशभित्रकाे विद्यमान समस्या जस्तैः भ्रष्टाचार , सामाजिक अन्तरविरोध , गरिबी , बेरोजगारी अन्त्य सँगसँगै ६२-६३ का आन्दोलनकाे उपलब्धिकाे रक्षा पनि गर्नुपर्ने हुन्छ । यसको अलावा सीमान्तकृत उत्पिडपित जेनजीकाे माग विशेषगरी समावेशी समानुपातिक रक्षा र विकास आम जेनजी लगायत सबैले गम्भीर भएर मनन गर्नुपर्छ । अन्यथा अर्को आन्दोलन विद्रोह सुरू नहाेला भन्न सकिन्न ।
दाेसाँधमा समावेशी मुद्दा
जेनजी पुस्ता जसले अकल्पनीय राजनीतिक परिवर्तनकाे ढाेका खाेलेकाे छ । देशमा पहिलोपटक महिलालाई सरकार प्रमुख बनाएको छ । तथापि सीमान्तकृत समुदायलाई भने जेनजीकाे वर्तमान देखिएको रापताप र आक्राेशले कतै २०६२-६३ सालकाे जनआन्दोलन तथा नेपालकाे संविधान २०७२ ले स्थापना गरेका हकअधिकार तथा उपलब्धिकाे अपहरण हुने त हाेइन भन्ने डर पैदा भएको छ । सदियाैंदेखि सामाजिक संरचानात्मक लाभांशकाे रजगजमा हुर्केका जात समुदायले एकलौटी उपभाेग गरिरहेको अधिकारलाई समावेशी समानुपातिक सिद्धान्तले क्रमभंग गरेको थियो । दलित मधेसी महिला तथा उत्पिडित वर्गलाई सामाजिकआर्थिक राजनीति रुपमा अगाडि बढाउन मद्दत गरिरहेको थियो । समावेशी सिद्धान्तले नेपाली समाजलाई रुपान्तरणकाे मार्गमा हिड्न सिकाइरहेकाे थियो । अहिले जेनजीकाे आन्दोलनबाट सिर्जना भएको परिस्थितिले सीमान्तकृत समुदायमा कसैले उनीहरूका हकअधिकारलाई परिवर्तनको नाममा ताेडमाेड गर्छ कि भन्नेमा डर छ । अर्कोतिर जेनजी पुस्तामा नेपाली समाजको संरचना , अवस्थाप्रति ज्ञान जानकारी कमी भएको देखिन्छ । उनीहरूमा समालोचनात्मक चेतकाे आभाव देखिएको छ । जसकारण समावेशी मुद्दाप्रति खासै चासो र उठान आजको मितिमा जेनजीमम देखिँदैन । जुन नेपाली सीमान्तकृत समुदायको लागि ठुलो डरकाे रुपमा देखिएको छ ।
जेनजीले गर्नुपर्ने काम
युवा शक्ति अझ विशेषगरी जेनजी जसको उमेर २८ वर्ष मुनि छ । उनीहरू राष्ट्र निर्माण , सामाजिक परिवर्तन , विकास ,सुशासनका संवाहक हुन् । देशको आशा भराेसा सपना विपना उनीहरू नै हुन् । वास्तवमै जेनजीलाई परिवर्तन चाहिएको छ भने त्यसको सुरुवात स्वयम् जेनजीबाट सुरु हुर्नुपर्छ । आफ्नाे समुदायमा भएका कुसंस्कार , कुरीति , प्रथाको अन्त्य जेनजीकाे पहलमा हुनुपर्छ । राजनीतिक चेतना , निर्वाचन शिक्षा , समावेशी समानुपातिक अवधारणा , विकास सुशासनका विषयमा सजग र जानकार हुनुपर्छ । याे देशको नीति नियम कानुन र अग्रगामी विचारको विकास हुनुपर्छ । व्यक्तिवादी परिपाटीको अन्त्य गरि समुदायवादी सिद्धान्तलाई प्राथमिकतामा राख्नुपर्छ । अनिमात्र देश विकास हुन्छ । जेनजीले चाहेको देखेको सपना र सहिदको सम्मान हुन्छ ।