गफ नदिनू…
शिशुलाई दूध खुवाउन खोजिरहेकी
मुन्टा छातीमै टाँसिएकी स्त्री,
बाकसमा फिरेको सन्तानसँग
अन्तिम पल्ट क्षेमकुशल सोधिरहेका आमाबाउ,
उचित ज्याला नपाएको झोकमा
साहूको पिठ्यूँपछाडि अश्लील गाली गरिरहेको मजदुर,
ग्यास च्याम्बरजस्तो बसमा
कोचिएकी गर्भवती,
विष खान/पासो लाउनबाट
आफूलाई बलजफती जोगाइरहेको
हर घडी हताश बेरोजगार,
सालैपिच्छे बाढीसँग लडाइँ गरेर
आफ्नो भागको बचेखुचेको संसार हार्ने मान्छे,
बजारमा आफूबाहेक सबै थोक महँगो भेटेर
रित्तै फर्किएको खिन्नता नै खिन्न हुने अनुहार,
बरु मृत्युको प्रमाणपत्रको कामना गर्ने
हातमा औषधिको पुर्जी बोकेको बिरामी,
बच्चाबच्चीका फिस, किताब–कापी र टिफिनको दुष्चक्रमा
उमेरै नपुगी जो भिर्छ बुढ्यौली,
एक निजी छाकका लागि
सार्वजनिक बन्न विवश शरीर,
दैनन्दिनका दुःखले चपाइएर
जो भएको छ मुखबाट फालिनुअघिको चुइँगम,
सदियौँदेखि खुद जिन्दगी मजाक भएपछि
जसले बिर्सेको छ हाँस्न…
यी बाह्र थरीलाई
गफ नदिनू
नदिनू
बाह्र–सत्ताइस गफ नदिनू ।
विनोद विक्रम केसी ✍️