बसन्तपुरको दशैं घरमा राखियो जमरा

काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापना, नेपालीको घरघरमा जमरा राखिएको छ । 

विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । 

घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ ।

उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हो ।

जौं को अङ्कुर दुर्गा देविको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर दशमी अर्थात् विजयादशमी को दिन टिका प्रसादसँगै समृद्धिको प्रतिकको रुपमा जमरा धारण गरी मान्यजनबाट आर्शिवाद लिने प्रचलन छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ