काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित भई भारत हुँदै नेपाल प्रवेश गरेको यसपटकको वर्षा प्रणाली पूर्वी नेपालबाट बाहिरिएको छ।
विभागले जानकारी दिएअनुसार वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएसँगै मनसुन कमजोर बन्दै मौसम खुल्न थालेको छ।तर, मनसुन स्वयं भने नेपालबाट अझै बाहिरिएको छैन।
सामान्यतया नेपालबाट मनसुन अक्टोबर २ (असोज १६) तिर बाहिरिन्छ, तर यस वर्ष सामान्यभन्दा केही ढिलो बाहिरिने विभागको अनुमान छ।
विभागका अनुसार उक्त प्रणाली सक्रिय रहँदा विशेषगरी कोशी प्रदेशका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको थियो। असोज १६ गते बिहानदेखि असोज १९ गते बिहानसम्म रोहतामपुर, मेघौली, ललितपुर, ताप्लेजुङ, इलाम लगायतका क्षेत्रहरूमा भारीदेखि अत्यधिक वर्षा र बाढीपहिरोका घटनाहरू देखिएका थिए।
विभागले दिएको विवरण अनुसार असोज १९ गते बिहान ८ बजेसम्म २४ घण्टाको अवधिमा रोहतामपुरमा ३५८.५ मिमी, मढीमा ३१५ मिमी, बेल्टारमा २५४ मिमी र टाँडीमा २८५ मिमी वर्षा रेकर्ड गरिएको थियो ।
लगातारको वर्षाका कारण कोशी प्रदेशका नदीहरूमा पानीको बहाव उच्च भएको र केही स्थानहरूमा बाढीको खतरा उत्पन्न भएको पनि विभागले जनाएको छ। तर, हाल वर्षा प्रणाली कमजोर भई बाहिरिएपछि नदीको बहाव घट्दै गएको र मौसम क्रमशः स्थिर हुँदै गएको विभागको आकलन छ ।
यद्यपि, विभागले असोज २० गतेसम्म कोशी प्रदेशका तटीय र नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।