सुनिता परियार
ऐ सुमित…..
तँलाई पानी थाप भनेको होइन, फेरी गेम खेल्न थालिस् ।
कति भन्ने एउटै कुरा, माथिको वाक्य हामी बसेको होटेल साउनीको थियो । उमेरले चालिस कटेकी, गोरी र अलिकति हँसिली, तर कुरा गर्ने स्वभाव भने ठ्याक्कै हुकुमी आवाज आउँथ्यो । उनी सुमितलाई काम लगाइरहेकी थिइन । साँझको साढेसात बजेको थियो । मुस्ताङको लेते गाउँको होटेलमा हामी थाकेका यात्रुहरू तातो पानीको प्रतिक्षामा थियौँ । बाहिरको सिमसिम पानी र चिसो हावाले हातखुट्टा जम्ने अवस्था थिए ।
सुमितले झोला उठाउँदै मुस्कुराउँदै सोध्यो, “काँहाबाट आउनु भाको दिदी ?”
उसको आवाजमा उत्सुकता र अलिकति थकान मिसिएको थियो । म हाँसेर उत्तर दिँदै थिएँ, त्यत्तिकैमा भान्साकोठाबाट साउनीको आवाज आयो ।
तातो पानी पाहुनालाई दे है ।
सुमितले झट्ट फोन बन्द गर्दै हतारिँदै भन्यो, म पनि काम गर्दैछु नि, अब दिन्छु । त्यो भन्दै सुमित भान्सातिर दौडियो ।
भान्साभित्रको दृश्य रमाइलो थियो । चुल्होमा पानी उम्लिरहेको, भान्सामा पुराना तामाका भाँडाहरू चम्किरहेका, साउनी र उनको छोरी भान्साकोठामा व्यस्त थिए । पाहुनाहरुलाई तातो सुप दिएर हाँस्दै बोलाउँदै । सुमितले तातो पानीको जग समात्दै बाहिर निस्कँदा, बाहिरको हावा अझ चिसो भइसकेको थियो । उसले पानी दिदै हेर्नुन दिदि, यो ठाउँ यति सुन्दर छ तर के गर्नु चिसो धेरै छ । म मुस्कुराएँ, त्यो क्षणमा यात्राको थकान, सिमसिम पानी र हावाबीच पनि एउटा आत्मीयता महसुस गरायो । लेतेको साँझ, ताताो पानी, अर्गानिक खाना, सुमितको हतार, र साउनीको कठोर तर मायालु व्यवहारले त्यो साँझलाई अझै जीवन्त बनाइदियो ।
सुमितले पाँहुनाहरु प्रति गरेको व्यवहारले मलाई उसको बारेमा अझ धेरै बुझ्ने उत्सुकता जगायो । मैले सुमितसँग एक घण्टाको समय मागे उसले हुन्छ भन्न नपाउदै मैले डायरी र कलम लिएर उसको अगि पछि घुम्न थाले । सुमितले सबै काम सकेपछि हामी चिया पिउदै गफ गर्न थाल्यौ ।
अहिले सुमित १२ वर्षको भए । उनले ५ कक्षासम्म मात्र पढ्न पाएका थिए । आमाको मृत्यु पश्चात सुमितका बुबाले अर्को विवाह गरेका रहेछन् । सामान्य परिवारमा जन्मेका उनी सानीआमा र बुबाले खासै मतलब नगरेपछि हजुरआमाले स्कुल पढ्दै गर्दा म्याग्दीबाट लेते काम गर्न पठाएकी रहिछिन् । हजुरआमाले म्याग्दीबाट यहाँ पठाउनुभयो, उसले बिस्तारै भन्यो। यहाँ काम गरेपछि टन्न खान पाइन्छ, काम सिकिन्छ भनेर आको ।
यति सुन्ने बित्तिकै मन भारी भयो । चिसो हावा पनि तातो लाग्न थाल्यो । न त उसको उमेरको निश्चिन्तता, न त पढाइ, न त खेलकुदको स्वतन्त्रता । सुमित बोल्दै थियो, म चुपचाप उसको अनुहार हेरिरहेकी थिएँ । उसको आवाजमा गुनासो र कामको थकान दुवै मिसिएको थियो । मैले घर सम्झन्छौ भन्दा, सम्झन्छु तर हजुरआमालाई भेट्न मन छ । अनि साथीहरुलाई पनि । यहाँ साउनीआमा राम्रो हुनुहुन्छ, तर आमा भनेको आमा नै हुन्छ हैन दिदि ।
त्यो वाक्यले मेरो मन भताभुङ्ग बनायो । कहिलेकाहीँ त सानो उमेरमै मानिसले बाँच्न सिक्नुपर्छ, बलियो बन्नुपर्छ, जिम्मेवारी महसुस गराउँछ, जुन उमेरमा अरू बच्चा खेल्दै, रमाउँदै, आमाको काखमा न्यानो माया खोजिरहेका हुन्छन् । त्यो उमेरमा सुमितले जिम्मेवारी र आत्मनिर्भरता सिक्दै थियो । उसका ससाना हातहरू तातो पानी र भाँडाकुँडामा डुब्थे । तथापि उसका आँखामा अचम्मको चमक थियो । त्यो चमक जसले दुःखलाई जित्ने हिम्मत र फेरी स्कुल जाने सपना देख्थ्यो । म उसका कुरा सुन्दै थिएँ, र भान्साको चुल्होमा बलिरहेको आगो हेर्दै थिएँ । त्यो आगोको झिल्काजस्तै उसको मनमा पनि उज्यालो भविष्य बाँचिरहेको थियो । यहाँ एउटा १२ वर्षको बालक कठिनाइ र अभावबीच पनि जीवनलाई अंगाल्दै, केही सपनाहरु बचाउँदै थियो ।
सुमितसँगको त्यो भेट मुस्ताङ यात्राको सबैभन्दा महत्वपूर्ण क्षण बनायो । हामीले चिया पिएर लामो कुरा गर्याैं । उसको सपनाबारे, उसको स्कुलबारे, र आमाबारे । मलाई अचम्म लाग्यो, त्यति सानो उमेरको बच्चामा कति ठुलो सहनशीलता र हिम्मत थियो । सुमितले भन्यो, म काम गर्छु, तर पढ्न पनि चाहन्छु दिदि । तर कामले गर्दा स्कुल जान समय नै मिल्दैन । हजुरआमा बिरामी हुनुहुन्छ त्यसैले कमाएको जति पैसा सबै पठाइदिन्छु । उसका शब्दहरू साधारण थिए, तर ती शब्दभित्र बाल उमेरको गहिरो थकान, जिम्मेवारी र ममताको गन्ध थियो ।
पढ्ने सपना छ ? मैले बिस्तारै सोधेँ ।
सुमित मुस्कुरायो, त्यो मुस्कानमा आशा झल्कन्थ्यो ।
छ नि दिदि… कहिले कामबाट फुर्सद पाउँछु, त्यतिबेला पढ्ने कुरा दोहोर्याउँछु तर कसैले मेरो मतलब गर्दैनन् । तर पढ्ने इच्छा छ ।
म केही क्षण बोल्न सकिनँ, यी शब्दहरू डायरीमा उतार्दा मेरा हात काँपिरहेका थिए ।
शायद चिसोले होइन, भावनाले !
सुमितको अनुहार बारम्बार मेरो आँखा अगाडि आइरह्यो,
त्यो बालक जसले जिन्दगीको पहिलो पाठ संघर्षबाट पढ्दै थियो ।
सायद, जीवनका सबैभन्दा गहिरा सिकाइहरू हामी पुस्तकबाट होइन, यी यात्राबाट सिक्छौं ।
सुमितसँगको भेट केवल एउटा यात्राको घटना थिएन ।
अपरिचित बालकको सोच, जीवन भोगाई, मेरो दृष्टिकोण, र मानवताप्रतिको बुझाइको मोड थियो ।
बाहिरबाट हेर्दा उनी त केवल तातो पानी बोकेका बालक थिए ।
तर वास्तविकतामा , उनले मलाई “मानवताको न्यानोपन” के हो भन्ने पाठ सिकाए ।
त्यो साँझ मैले डायरीमा अन्तिम वाक्य लेखे ।
लेतेको चिसो हावामाझ, मैले एउटा सुमितको तातो मन भेटें ।
भोलिपल्ट विहान जानुभन्दा अघि मैले झ्यालबाट हेरेँ, सुमित अझै ढोकामा उभिएको थियो, हात हल्लाउँदै, मुस्कुराउँदै । त्यो पलले मलाई सम्झायो कि, हिम्मत, मुस्कान र व्यवहारले पनि हाम्रो हृदयलाई छुन सक्छ ।
सुमितको कथा केवल एउटा बालकको व्यक्तिगत संघर्ष मात्र थिएन, बरु यो हाम्रो समाजको वास्तविक अवस्था र हामी सबैको जिम्मेवारीको प्रतिबिम्ब थियो । सानो उमेरमै आर्थिक जिम्मेवारी बोकेका सुमित जस्ता बालबालिकहरूका जीवनले हामीलाई याद गराउँछ । बालबालिकाको अधिकार, शिक्षा र सुरक्षा केवल कानुनमा मात्र होइन, हाम्रो व्यवहार, हाम्रो दृष्टिकोण र हाम्रो समाजको संरचनामा पनि निर्भर छ । मैले महसुस गरेँ — बालबालिकाको जीवन केवल खेलकुद, शिक्षा र माया मात्रले उज्यालो हुँदैन् । सकारात्मक वातावरण, परिवारको माया र समाजको सहकार्यले मात्र उनीहरूको जीवन उज्यालो र पूर्ण बन्न सक्छ ।
यात्राको क्रममा मैले धेरै बालबालकहरूलाई होटेल, रेस्टुरेन्टमा काम गरेको देखेको छु । बस, माइक्रो जस्ता सार्वजनिक सवारी साधनमा सहचालक भएको भेटेको छु । तर उनीहरूको त्यो अवस्था बाध्यता थियो, बालपनको स्वतन्त्रता र शिक्षा पाउने अधिकारभन्दा बाहिरको जीवन । जहाँ अभाव, कठिनाइ र जिम्मेवारीले बाल्यकालको स्वतन्त्रता छिन्ने प्रयास गर्छ, त्यहाँ हाम्रो सहकार्य, समर्थन र संरक्षणले मात्र उनीहरूको भविष्य सुरक्षित रहन्छ । सुमितको मुस्कान र हिम्मतले मलाई एउटा स्पष्ट पाठ सिकायो, कठिन परिस्थितिमा पनि आशा र सपना जीवित रहिरहन्छ । त्यसका लागि समाज, परिवार र सरकार सबैको जिम्मेवारी अत्यन्तै महत्वपूर्ण हुनुपर्छ । समाजले पनि केवल गुनासो गर्ने होइन, बालश्रम, बालअधिकार उल्लंघन र बालबालकको शिक्षा , स्वतन्त्रता हनन् हुने घटनाहरूको सक्रिय विरोध गर्नुपर्छ ।
सुमित जस्ता हजारौं बालबालिकाहरू हाम्रो समाजमा अझै पनि शिक्षाकाे पहुँचबाट बञ्चित छन् । धेरैको अवस्था कमजोर छ, घरपरिवारमा आर्थिक संकट छ ।
बालबालिकाहरूको जीवन केवल व्यक्तिगत संघर्ष मात्र होइन, त्याे त हाम्रो समाजको संरचना, शिक्षा प्रणाली र मानव अधिकारको स्थिति प्रतिविम्ब हाे। हामीले यदि उनीहरूको अधिकार सुनिश्चित गर्न सकेनौं भने, उनीहरूको उज्यालो भविष्य मात्र होइन, हाम्रो समाजको उज्यालो भविष्य पनि जोखिममा पर्छ भन्ने तथ्य भुल्नु हुँदैन । कठिनाइ, अभाव र जिम्मेवारीले बाल्यकालको स्वतन्त्रता रोक्न सक्छ, तर यदि समाज, परिवार र सरकारले जिम्मेवारी निभायो भने उनीहरूले केवल जीवन मात्र बाँच्ने होइन, उज्यालो भविष्य सिर्जना गर्न सक्छन् ।
सुमितको मुस्कान र हिम्मतले मलाई धेरै कुरा सिकायो, कठिन परिस्थितिमा पनि आशा र सपना जीवित रहन सक्छ तर त्यसका लागि हामी सबैको जिम्मेवारी महत्वपूर्ण हुन्छ ।