काठमाडौं । हिजो आत्मदाह प्रयास गरेकी गायिका नीतु पौडेल गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा रहेको खुलेको छ । गिरिको स्टुडियो रहेकै घरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् ।
बाबुलको एरेन्ज स्टुडियो अनामनगरमा छ, जुन घरको तल्लो तल्लामा नीतुले डुर्बिना क्याफे नामको कफीसप चलाउँछिन् । स्टुडियोमै बाबुलसित हिजो दिनभर विवाद भएपछि उनले तल्लो तलामा झरेर आत्मदाह प्रयास गरेकी हुन् ।
शरीरमा पेट्रोल छर्किएर आगो सल्किएपश्चात बाबुल पनि ओर्लिएर निभाउने प्रयास गरेका थिए । त्यसक्रममा उनी पनि सामान्य घाइते भए ।
घटनामा तत्कालै प्रहरी आएर उनीहरुको उद्दार गरेको थियो । दुवैलाई किर्तिपुरस्थित बर्न अस्पताल लगियो ।
नीतुको अवस्था गम्भीर रहेको बुझिएको छ । हातखुट्टामा सामान्य जलन भएका बाबुल भने हिजै डिस्चार्ज भए । डिस्चार्ज लगत्तै उनलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
नीतु र बाबुलबीच विवाहका विषयमा विवाद भएको अनुमान निकटवर्तिहरुले गरेका छन् । नीतु चाँडै विवाह गर्ने पक्षमा थिइन् भने बाबुल टारिरहेका थिए । चलचित्र संगीतमा हिट भएसँगै बाबुल आफूसँग टाढिन खोजेको महसुस नीतुले गरेकी थिइन् ।
पछिल्लो समय बाबुल संगीतमा निकै डिमान्डेड छन् । छक्कापञ्जा ५ को गीत ‘बल्ल बुझेँ चाल तेरो’ सुपरहिट भएपछि उनको चर्चा चुलिएको थियो । रसुवा घर भएकी नीतु भने थियटर कलाकार थिइन् । अहिले संगीत क्षेत्रमा संघर्ष गरिरहेकी छन् ।
नीतुले हिजो नै आफ्नो फेसबुक स्टोरीमा एउटा संवेदनशील स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्– आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिँदैछु अब ।