राजावादी हो, रोइलो नगर! ’श्री ५’ को युग सकियो

 
अंगराज परियार


नेपालमा  बेलाबेला राजासंस्थाको बेमौसमी बाजा बज्ने गरेको छ  । बाजा बजाउनेहरू एउटा कित्तामा मात्र छैनन्, दुवै कित्तामा छन् । एकातिरका बाजा बजाउनेहरू ‘राजा आउँछन्’ भनेर दमाहा बजाइरहेका छन् । अर्कोतिर काउन्टरमा बसेर राजा आउँदैनन् भन्दै टेम्को ठोक्नेहरुकाे जमात पनि थामिनसक्नु छ । तथापि  पछिल्लो , फागुन ७ मा  पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिले राजासंस्था समर्थकहरूलाई हाैस्याउने काम गरिरहेकाे देखिन्छ  । तर, लोकतान्त्रिक प्रणालीमा एक पटक जनताले गरेको निर्णयलाई उल्टाउने प्रयास गर्नु ‘बेमौसमी बाजा’ भन्दा अरु केही नभएको विज्ञहरुकाे ठम्याइ  रहेको छ । राजा २-४ हजारकाे भिडले चाहादैमा राजसंस्थाकाे पुनःस्थापना असम्भव हाे ।

प्रिय राजावादी मित्रहरू,
तपाईंहरूको यो ’बेमौसमी बाजा’ बजाउने प्रयास देख्दा टीठ लाग्छ । तपाईंहरु ४५°सेल्सिएसकाे चर्काे गर्मीमा हिउँदे लुगा लगाएर घाम ताप्न खोज्दै हुनुहुन्छ । गणतन्त्रको यो उज्यालोमा, तपाईंहरूको ’राजा आउ’ भन्ने रोइलो त पुरानो रेडियोको बिग्रेको स्टेशनजस्तै बेसुरको सुनिन्छ । राजाको पालामा के थियो र अब के छ, एक पटक सोच्नुस् त ? त्यतिबेला दरबारमा झिलिमिली बत्ती बल्थ्यो, तर ९० प्रतिशत जनताको घरमा बिजुलीको नामाेनिसान थिएन । इतिहासको घडी पछाडि फर्काउन खोज्नुको सट्टा, वर्तमानको घडीसँग तालमेल मिलाउनुस् । किनकि, अब जनता नै राजा हुन्, र यो सत्यलाई स्वीकार्नुकाे अर्को विकल्प छैन । अन्यथा, तपाईंहरूको यो ’बाजा’ को आवाजमा कसैले नाच्ने छैन, बरु सबैले कान थुनेर हाँस्नेछन् ।

राजावादीहरुको राजतन्त्रप्रतिको मोह देख्दा दया लाग्छ, राजावादीहरु इतिहासको ’ ब्लाक एन्ड ह्वाइट’ फिल्ममा रंगीन सपना देख्न खोज्दै छन् । गणतन्त्रको यो ’हाइ–डेफिनिशन’ युगमा, तपाईंहरूको ’राजा आउ’ अभियान त ’डायल–अप इन्टरनेट’ जस्तै सुस्त भइसक्यो । राजतन्त्रको ’नोस्टाल्जिया’ मा बाँच्नुभन्दा, गणतन्त्रको ’रियालिटी’ मा रमाऔं । किनकि, इतिहासको ’रीवाइन्ड’ बटन छैन, तर भविष्यको ’फास्ट फर्वार्ड’ हाम्रो हातमा छ । 


राजावादीहरुले राजा चाहियो भन्ने नाराले तिनै पुराना दिन सम्झाउँछ, जब ’इन्टरनेट’ भन्नासाथ ’इन्टर के नेट?’ भन्ने प्रश्न उठ्थ्यो । अहिलेको समयमा, जहाँ ’स्मार्टफोन’ बच्चाहरूको खेलौना भइसकेको छ, तपाईंहरूको यो ’राजा प्रेम’ त ’टाइपराइटर’ मा ’इमेल’ पठाउने प्रयासजस्तै लाग्छ ।
गणतन्त्रको यो ’हाइ–डेफिनिशन’ युगमा ’राजा आउ, देश बचाउ’ भन्ने तपाईंहरूको नारा त्यस्तै हो जस्तो कि स्मार्टफोनको जमाना छोडेर फेरि टेलिग्राम पठाउन खोज्नु , यो भन्दा लाजमर्दो के हुन सक्छ? बुद्धि नभएका घाँस खाने जनावरहरू त आफ्नै बाटोमा हिंड्छन्, तर अन्न खाने मान्छे भएर पनि यस्तो बदमासी गर्नु त शर्मनाक हुन्छ  ।
राजतन्त्रको समयमा के थियो? जनता दरबारको आदेशमा चल्थे, बोल्न पाउँदैनथे, आफ्नो अधिकारको खोजी गर्न पाउँदैनथे । तर गणतन्त्रले हामीलाई बोल्ने, लेख्ने, सोच्ने स्वतन्त्रता दियो । अब तपाईंहरू फेरि त्यो पुरानो पिंजडामा फर्कन चाहनुहुन्छ?


गणतन्त्रको यो प्रकाशमा, तपाईंहरूको ’राजा आउ’ भन्ने अन्धकारमय सोचले कुनै स्थान पाउँदैन । समयसँगै अघि बढ्न नसक्नेहरू इतिहासको पानामा हराउँछन् । त्यसैले, आफ्नो सोचलाई अद्यावधिक गर्नुस्, नत्र तपाईंहरू आफैं इतिहासको कुनै कुनामा बिर्सनु हुनेछ ।

अब प्रश्न गरौं राजावादी मित्रहरुलाई, नेपालमा राजसंस्थाले झण्डै २४० वर्ष शासन ग¥यो । यो अवधिमा जनताले के पाए ? के गुमाए ? राजसंस्थाले सामन्ती व्यवस्था चलायो, जनता जहानियाँ शासनको दास बनाएको कुरा राजावादीलाई मनपनि कसरी नपरोस् । तपाईंहरू गणतन्त्रलाई पिंजडामा राखेर राजतन्त्रको आकाशमा उड्न खोज्दै हुनुहुन्छ । तर, याद राख्नुस्, गणतन्त्रको पखेटा काटेर तपाईंहरूको राजतन्त्र  आकाशमा उड्न सकिँदैन । गणतन्त्रले दिएको स्वतन्त्रताको आकाशमा उड्न सिक्नुस्, राजतन्त्रको पिंजडाबाट मुक्त हुन सिक्नुस् ।


गणतन्त्रमा तपाईंहरूको आवाज सुन्ने कान छन्, तर कृपया, ’राजा’ को पुरानो ’क्यासेट वा बेमौसमी बाजा फेरिपनि नबजाउनुस् । अब त ’स्पोटिफाइ’ को जमाना आयो, नयाँ ’प्ले लिस्ट’ बनाऔं, जहाँ सबैको आवाज समेटिएको होस् ।
नेपालको इतिहासमा राजतन्त्र एउटा समाप्त भइसकेको अध्याय हो ।  २०६२-६३ को जनआन्दोलनले देशलाई गणतन्त्रको मार्गमा अघि बढायो, जुन जनताको बलिदानबाट प्राप्त उपलब्धि हो । तर, केही अवसरवादीहरूले अहिले फेरि राजसंस्थाको पुनरुत्थानको सपना देख्दै छन् । प्रश्न उठ्छ— के इतिहासलाई उल्ट्याएर देशलाई अन्धकारतर्फ धकेल्ने सपना देख्न पाइन्छ ? राजसंस्था भनेको अँध्यारो युगको प्रतीक हो कम्सेकम उज्यालोमा त रमाउनुस् । 


शोषण र विभेद –दरबार हत्याकाण्ड जस्ता अपराधहरु आफ्नै परिवारभित्र रक्तपात भएको इतिहास बोकेको संस्थाले देशलाई स्थिरता दिन सक्ने दाबी कसरी गर्छ ? राजतन्त्र हुँदा नेपाल कति बन्यो कति बिग्रियो ? कति समृद्ध थियो? बेरोजगारी, गरिबी, भ्रष्टाचार त त्यही बेलापनि  थियो होलानी ?
अहिलेका राजा आऊ, देश बचाऊ“का ठेकेदारहरुको भाषण सुन्दा एकदमै रोचक छ, हैन ? खासगरी, जब “राजा आऊ, देश बचाऊ“ भनेर गलाको नसासम्म कराउने पात्रहरू गणतन्त्रकै दूध खाएर ठूल्ठूला जुँगा पालिरहेका छन् ।


अहिले सडकमा उफ्रिएर ‘राजा आऊ’ भन्दै माइकमा पड्किरहनु भएका राजेन्द्र लिङ्देनज्यूलाई सम्झिनुस् त! उहाँ कस्को कृपाले संसद् छिर्नुभयो? हो, हो, केपी ओलीकै । अनि, कमल थापा त झन् पुरानै राजावादी! राजाकै पालामा गृहमन्त्री भएर गणतन्त्रविरोधी आन्दोलन कुन्झ्याउने थापा गणतन्त्र आउनासाथ प्रचण्डको उपप्रधानमन्त्री पो भए! भोलि कसैसँग ठीक्क पारेर राष्ट्रपतिको सपनासमेत देख्न बेर छैन।
अब कुरा गरौं, यी महाराजाधिराजका भक्तहरूले गणतन्त्रको रुखमा ढुंगा हानेको। तर विडम्बना, त्यो रुखले दिएको फल भने चुपचाप टिप्छन्, चपाउँछन्, निल्छन् र फेरि “राजा आऊ“ भन्दै बांगो मुख लगाउँछन् । केपी ओलीले थापालाई एमालेको सूर्य चिह्न दिएर मकवानपुर–२ बाट उठाए, लिङ्देनलाई झापा–३ मा एमाले उम्मेदवार नै नउठाई भाग्यमानी बनाइदिए । अनि त, गणतन्त्रकै घरमा बसेर, गणतन्त्रकै चुलोमा आगो सल्काउँदै, राजाको गीत गाउन के बेर?

खासमा, “राजा आऊ, देश बचाऊ“ भन्नेहरू हिजो गणतन्त्रकै दूध र भात खाएर हुर्केका, गणतन्त्रकै खम्बामा टेकेर सिंहदरबार पस्नेहरू हुन्। बिचरा गणतन्त्र! जसले पालेर हुर्काएको हो, उसैले लात हान्न थाल्यो। अब त राजा फिर्ता ल्याउने अभियानको टेन्डर खोल्नुपर्छ जस्तो छ । सबैजना पालैपालो आउन्, मनग्ये कमिसन पनि खान पाउनेछन् । गणतन्त्रका मसिहाहरूले भात खुवाएर हुर्काएका यी ‘राजावादी’हरू यस्तै हुन् ।  खाने दाँत अरू, देखाउने दाँत फरक हुने रहेछ ।


अब त राजतन्त्र चाहियो भन्दै कराउनेहरूलाई एउटा सुझाव छ— राजा ल्याउन त सक्नुहुन्छ, तर गणतन्त्रले दिएको पेन्सन, सुरक्षा, गाडी, भवन सबै फिर्ता दिनुस् त पहिला! अनि बल्ल थाहा हुन्छ, राजावादी हुनुको असली मूल्य। नत्र, गणतन्त्रको गाई दुहेर, राजतन्त्रको पण्डित्याइँ देखाउनु हास्यास्पद मात्र होइन, नेपाली जनताको अपमान पनि हो !


तपाईंहरूको फेसबुक र युट्युबमा राजतन्त्रको पक्षमा गरिने हावा गफले गणतन्त्रलाई कुनै असर पार्दैन । ’श्री ५’ को युग सकिएको छ; अब जनता नै राजा हुन् । नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसकेको छ, र राजाले लगाउने श्रीपेच पनि प्रदर्शनीमा राखिएको छ । त्यसैले, पुराना सपनामा बाँच्न छोडेर, गणतन्त्रको यथार्थमा रमाऔं  । जनता नै सार्वभौमसत्ता सम्पन्न हुन्, र यही हाम्रो नयाँ पहिचान हो ।


राजतन्त्रको पुनस्र्थापनाले दलित समुदायलाई फेरि त्यही अँध्यारो युगमा धकेल्नेछ । जुनबेला हामीलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्थ्यो त्यो अव सहनेवाला छैनन् । त्यसैले, हामी दलित समुदायका सदस्यहरू राजतन्त्रको पुनस्र्थापनाको विरोधमा दृढ रूपमा उभिएका छौं । हामी हाम्रो स्वतन्त्रता, समानता, र सम्मानको रक्षा गर्न कुनै पनि मूल्य चुकाउन तयार छौं । राजतन्त्रको पुनस्र्थापनाको सपना देख्नेलाई हाम्रो स्पष्ट सन्देश छः हाम्रो स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि प्रयासलाई हामी स्वीकार गर्ने छैनौं।
दमाईहरूको बाजा बजाएर राजतन्त्रको पुरानो घडीलाई फेरि चलाउने प्रयास नगर्नुहोस् । गणतन्त्रको यो मेलोडीमा सबै जातजाति, धर्म, र समुदायले समान सुरमा गाउने पाउने अधिकार पाएका गाउन दिनुस् ।





जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ