Nepal Viral
अप्रिल 28, 2025

पीडित डाेम परिवारलाई गाउँपालिका अध्यक्षकाे छाेरा धाकधम्की

धनुषा । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उनका छोराले धाकधम्की दिएपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएका छन् ।

महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपकको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियाे ।

गाउँपालिका अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरा रुकेश यादवले केही महिलाहरुलाई लिएर दिपक बसोबास गर्ने स्थलमा पुगेर धम्की दिएको थियो । उनको धम्कीका कारण दिपकको परिवार विस्थापित भएका छन् ।

दिपक शुक्रवार राति औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिन पुगे । अहिले पनि उनी पासवानकै घरमा छन् ।

पीडित दिपकले नेपालभाइरलसँग भने, ‘राति मेयरका छोरा रुकेश केहि महिलालाई लिएर आएका थिए । उनीहरुले धाकधम्की दिँदै मेरो श्रीमतीलाई सिरहा हिँड भन्न थाले । त्यसपछि श्रीमतीलाई सन्हैठा पठाइदिए । म यहाँ (कवुली पासवान)को घर आए । अनि बच्चाहरु रातभर प्रहरी चौकीमा बस्यो ।’

उनले आफ्नो परिवार असुरक्षित बनेको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष पक्राउ परेको विरोधमा उनका समर्थकहरुले राति नै सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा ढुङ्गामुडा गरेपछि उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ