Nepal Viral
अप्रिल 28, 2025

मिम बहादुर परियार

सेलनगरकाे कुनामा भगवान बनाउने घर छ । एक तले घर , तीन ठूला  काेठा छन् । बाहिर हरियो सेताे रङ्गले पाेतेकाे छ । छानाे भने  टिनले छाेपेकाे छ  । घर तल राति नदी अविरल बगिरहेकी हुन्छिन् । माथि शिरमा लाल पर्वत टलक टल्किरहेका देखिन्छन् ।भित्रबाट सधैं एकनासकाे टकटकटक आवाज आइरहेको हुन्छ । प्रायः त्यहाँ  विभिन्न आकार प्रकारका मूर्तिहरु बनिरहेका हुन्छन् । मूर्तिकारहरु  हात ग्राहक र महिनाको मागअनुसार दिनभर  नाचिरहेका हुन्छन् । दशैं ,तिहार, क्रिसमस ,बुद्ध जयन्ती ,  लगायतका विभिन्न चाडपर्वमा भगवानकाे माग राम्रै हुन्छ । भगवान रिसाएको, हाँसेकाे, ध्यानमा बसेकाे, नाचेकाे अनेक  प्रकारका  मूर्तिहरु भगवान बनाउने घरमा बन्छन् । उसाे त जानकारहरु भन्थे, देशभरका धेरै  मूर्ति यसै घरभित्र बनेका हुन् । कति मन्दिरमा पूजिएका छन त कतिबैठक काेठाका साे केसमा सजिएका छन् । कति त्यसै बेवारिसे अवस्थामा फालिएका छन् ।

कारखानाभित्र  टकटकटक, तल कलकल माथि झलझल नै भगवान बनाउने  घरको बाहिरी र भित्री  विशेषता थियो  । यस  घरको रुप हेर्दा सामान्य थियो । मैलाधैला मजदुरले भरिएको, जताततै कालैकालाे छरिएको । तर यहाँ भित्रका कालिगडहरु असामान्य थिएँ । उनीहरूको कलामा र ती कालामैला हातमा जादु थियो । मूर्ति अन्य ठाउँमा बनेका भन्दा भगवान घरमा बनेका मूर्ति हजार गुणा राम्रा र विशेष मानिन्थ्यो  । आकार प्रकार रुप रङ्गको जति तारिफ गरे पनि निकै कम हुन्थ्यो । यहाँको अर्को राेचक कुरा पनि थियो  । मुर्तिकारहरु सबै नास्तिक थिएँ । तर भगवान अनुसारका विशेषज्ञ भने थिए । शिव विज्ञ , गणेश विज्ञ , राम, हनुमान , बुद्ध ,जिजस, रावण विज्ञ इत्यादी  ।

यिनै धेरै विशेषज्ञमध्ये सबैभन्दा कान्छा विशेषज्ञ थिएँ सुर्यकुमार  । उमेर त्यस्तै एक्काईस थियो । विवाह यसै वर्ष गरेका थिए ,त्यो पनि जर्नेलकी छाेरी भगाएर । पहिला उनी भगवान घरमा साहेक भएर काम सुरु गरेका थिए ।  विशेषज्ञहरुलाई सघाउँथे । मूर्ति सफा गर्ने , प्याक गर्ने, रङ्ग भर्ने  , फाेन उठाउने काममा थिए उनी । यी कामबाहेक  विज्ञ मूर्तिकारलाई सहयोग सँगसँगै आफैं पनि दिनहुँ विभिन्न देविदेवताका मुर्ति बनाउँथे । मूर्ति ठिकठाक नै देखिन्थे । तर  कसैले उनलाई मूर्ति बनाएकै आधारमा चिनेका भने थिएनन् । जब सुर्यकुमारले शिवकाे मूर्ति बनाउन सुरु गरे । त्यसपछि उनले पछाडि फर्कनु परेन । बजारले उनको चर्चा आफैं गर्न थाल्यो । मान्छेहरु भन्थे उनलेे बनाएको शिवजीकाे मूर्ति एकदम बेग्लै हुन्छ  । कैलाश पर्वतमाथि शिवजीले तपस्या गरेको मूर्ति, उनको सिग्नेचर आर्ट मानिन्थ्यो  । हुन पनि त्यो मूर्तिकाे आकार , बुट्टा साह्रै राम्रा हुन्थ्यो  । हेर्दै बाेल्लान् बाेल्लान् जस्ता , तथास्तु भन्लान् भन्लान् जस्ता । तीन मूर्तिकै कारण  बजारमा सुर्यकुमार शिवजी विशेषज्ञकाे रुमा कहलिएका थिएँ  । बजारमा ठूलो हल्ला थियोे सुर्यकुमार बाहेक अरु कसैलाई शिव बनाउने अधिकार छैन । जसकारण देशबाट मात्रै नभइ भारतीय धार्मिक सहर अमरनाथ ,साेमनाथ, बद्री केदारनाथबाट धेरै मूर्ति बनाइदिन उनलाई  आग्रह आउँथ्यो । उनी पनि दिनरात नभनी अठार घण्टा भगवान बनाउन कामै तम्सिन्थे ।

कामको चापले सुर्यकुमारकाे दैनिकी निकै व्यस्त थियो । दिनकाे सुरुवात कुनै भगवानकाे मूर्तिलाई  दुई खुट्टाका पैतालाले च्यापेर , हातले घन ठाेक्दै मूर्तिका हात खुट्टा टाउकामा फूलबुट्टा भर्नबाट सुरु  हुन्थ्यो । दिनको अन्त्य बनाएका मुर्ति गाेदामभित्र थन्क्याएर  हुन्थ्यो । खासमा उनी पनि कुनै मूर्ति भन्दा कम हाेइनन् । जसरी मूर्ति सधैं एकै स्थान, रुपमा हुन्छ,त्यस्तै उनी पनि सधैं घरदेखि मूर्तिमै सिमित थिए । कामकाे चाप , उनको कलाकाे मागले पनि त्यस्तै बनाएको थियो । यता घरमा उनको व्यस्तताले केही असर पारेको भने थिएन । श्रीमती बुझकी थिइन् । माया पनि औंधी गर्थिन् । बेलाबेलामा भने अलि शंका गरेको जस्तो पनि गर्थिन् । तर विवाद भने कहिल्यै गरेकी थिइनन् ।

सुर्यकुमारकाे बानी राम्रै थियो । कहिल्यै झुटाे नबाेल्ने । शंकाकाे समाप्ति सत्य नै हाे ।  उनकी श्रीमतीलाई पनि थाहा थियो । तथापि , लाडिन शंका गरेझैं गर्थिन् । सुर्यकुमारकाे माग , कला , मिहिनेत र माया उनले नबुझेकी कहाँ हुन् र । ऊ विशेषज्ञ भएपछि घर ढिलो आउन थालेको हाे । र त उनी चुपचाप बसेकी थिइन् । नत्र पहिला बेलैमा घर पुग्थे सुर्यकुमार । दिनहुँ एकै प्लेटमा सँगै पानीपुरी खान चाेकमा जान्थे ।

कला र सीपको अगाडि कसैको केही नचल्ने रहेछ । नत्र मूर्ति र नास्तिक , सुर्यकुमार र शिवजीकाे मेल हुँदै  नहुनुपर्ने मेल थियो । देख्दा कस्तोकस्तो भान हुन्थ्यो । देवता अर्को नास्तिक नागरिक । तर पनि यी दुई चलेका थिए । माग यिनकै थियो । समय बिचित्रकाे छ । एउटा नास्तिकाे कला आस्तिककाे आस्थाभन्दा कयौं गुणा माथि थियो ।

हिन्दुका तेत्तीस करोड  देविदेवतामध्ये  शिवजी प्रति मानिस किन यति नतमस्तक ? सायद शास्त्रले भनेझैं   शिवजीकाे जिन्दगी, बिन्दास नै थियो । कसैलाई बाल दिँदैन थिए । आफ्नै सुरका थिए । गाँजा धतुराेमा मस्त हुन्थे । यधपी शिवलाई अरु भगवानले  नमानी सुखै थिएन । यहीँ कारण हुनसक्छ उनको लाेकप्रियताकाे मुख्य राज  । यता  मूर्ति विशेषज्ञ सबै नास्तिक थिए । भगवान बनाएपनि कसैले कुनै देविदेवता मान्दैन थिए । उनीहरूलाई मूर्ति मात्र बस्तु थियो । मान्छे भन्ने गर्थें भगवान बनाउने घरका सबै बिन्दास थिए । नकसैसँग रिसराग राख्छन्  न कसैप्रति डाहा । विशुद्व काम काम मात्रै काम ।

सुर्यकुमारकाे  काेठा र भगवान बनाउने घरको दुरी त्यस्तै सत्र मिनेट थियो  । तर उनी रातको दस नबजि घर जाँदैन थिए । कहिलेकाहीँ श्रीमतीले घर आउने बेला भएन भनी फाेन गर्थिन् । त्यसपछि  बल्ल घर हिड्थे । अक्सर ऊ घर जाँदा कहिले अन्धकार औंसी हुन्थ्यो त कहिले झलाकार पुर्णिामा । एकदिन ११ बजेपछि मात्र ऊ घरतिर हिड्याे  । काम  धेरै थियो । त्यहिपनि  ऊ कत्ति कथित देखिँदैन थियो । अघिपछि  लखतरान हुने,  घर जान पनि अल्छी मानेझैं गर्ने सुर्यकुमार त्याे औंसिकाे रातमा खै किन हाे  निकै खुसी थियो ।

अँधेरी रातमा ऊ जुन जस्तै चम्किलो देखिन्थ्यो । ऊ बेलाबेला भन्थ्याे, आज त ज्यान पुरै चङ्गा छ ! लाग्छ म उडान भर्दैछु । हुनपनि त्यहीँ कारखानाबाट घर जाने समयमा ऊ स्वतन्त्र भएर हिड्थ्याे  । आफ्ना रहर इच्छा सबै पूरा गर्थ्याे । अघिपछि उहीँ काम काम र काम  । मूर्तिभन्दा बाहिरकाे जिन्दगी अलिक हलुका लाग्थ्यो उसलाई । सधैं एकै काम त्याेपनि चार पर्खालकाे बिच, जतिबेला पनि टकटक आवास, दिनहुँ कसलाई मनपर्दाे हाे ?

सधैंका रात जस्तैः कानमा एयरफाेन ,हातमा फुच्चे काेक , मस्त गीत सुन्दै  ,एकदिन सुर्यकुमार काम सिध्याएर घर आउँदै थियाे । अचानक  काेठा नपुग्दै नथनी चाेकमा उसको जम्काभेट उनैले बनाउने शिवजीसँग भेट भयो । उनी एकछिन झसङ्ग भए । जटाधारी कपाल , शरीर भरी खरानी , घाँटीमा सर्प बेरेकाे, अग्लो कद ,  मूर्ति जस्तो , चित्र जस्तो , शिवजी जस्तो , मान्छेले मान्ने भगवानरुपी आकृति उनको अगाडी आयो   ।

देखेर सुर्यकुमार झसङ्ग भयो । हातको बाेटल भुँइमा झर्‍यो । नास्तिक भएपनि अचानक प्रभु भन्दै हात जाेड्न थाल्यो । यताउता हेर्छ ,  मख्ख पर्छ । प्रभु एक्कासी किन ?  एकछिन पछि उसले बनाउने  भगवान  बाेल्न थाल्छ । उसले दिनहुँ घनले ठाेकेकाे भगवान , कयौंले लड्डु चडाएकाे भगवान चल्न थाल्छ । त्यो देख्दा सुर्य कुमारलाई के गर्याैं के भनाैं झैं भयो । एकछिन ऊ विश्वास गर्दैन । काेक त लागेन भनी मनमनै प्रश्न गर्छ । पुन : प्रश्न गर्छ याे के अचम्म भयो , भगवान पनि बाेल्छन् ! विश्वास नलागेपछि आफ्नो छाला आफैं चिमाेठ छ । सबै ठिकठाक थियोे । ऊ मनमनै बाेलिरहँदा एक्कासी भगवान ठानिएको  व्यक्तिले गाेजीबाट चुरोट निकाल्छ । ब्राे सलाई छ भनी साेध्छ  ।

सुनेर सुर्यकुमार एकछिन अतालिन्छ । बाेल्न सक्दैन , बिस्तारै गाेजीबाट लाइटर निकालेर दिन्छ । माग्ने व्यक्तिले उसको हातबाट लाइटर तान्छ । हातको चुरोट मुखमा राखेर सल्काउँछ । लामाे सर्काै तान्छ । फु गरेर धुँवाकाे मुस्लाे उसको अगाडी बनाउँछ । लाइटर फिर्ता नगरी हिड्छ । सुर्यकुमार हेरेको हेरै हुन्छ । पर सम्म पुग्दा भगवान ठानिएको व्यक्ति चुरोटकाे धुँवा उडाउँदै हिडिरहेकाे हुन्छ । बाटोमा हिडिरहेका कुकुरलाई लात्ती हान्छ । पुनः कुनामा उभिन्छ, छेउको भित्ता हात्ती बनाउन थाल्छ । त्यो देखेर ऊ एकछिन थचक्क बस्छ ।

अबेर भैसकेको थियो । याे अवधिमा ऊ घरमा पुगिसकेको हुन्थ्यो । माेबाइलमा घन्टी बज्छ । अघिको माहोल एकछिन बिथलियाे । कल आयो कल आयो रिङटाेनले ऊ चेतमा फर्किन्छ । खाेजीबाट फाेन निकाल्छ, हेर्छ  । कल श्रीमतीको थियो । उसले कल उठायाे, किन ढिलो कता हुनुहुन्छ उताबाट श्रीमतीले भनिन् ।उसले आउँदैछु भनी कल काट्याे । अझै ऊ सचेतमा थिएन । निरन्तर अघि लाइटर खाेस्ने मानिसतर्फ हेरिरहेको थियो  । बिस्तारै ऊ उठ्यो । पाइन्ट टक्टकायाे । ढाड तन्कायाे , लामाे सास लियो । दायाँबायाँ हेर्याे बिस्तारै डेरातिर लम्कियाे । यसपटक उसका पाइला सुस्त थिए ।

उसका ती सुस्त पाइला पुनः कालाे घरमा  राेकिए । कालो घर , जहाँबाट  उसको घरमा पुग्न ठ्याक्कै सात मिनेट लाग्थ्यो । ऊ प्राय काेकको बाेतल यहीँ घरको डस्टबिनमा फाल्थ्याे । पाइला सार्नुअघि एकछिन नजर ढुलाउथ्याे । के रङ्ग लगाएको हाेला भन्थ्याे अनि घरतिर लम्कन्थ्याे । त्यस रात डस्टबिनमा फाल्न उसँग बाेतल थिए । र पनि ऊ राेकियाे , यसपटक उसलाई राेक्ने बाेतल नभइ  चर्काे आवाज थियो  । आवाज सुनेपछि ऊ घरतिर हेर्न थाल्छ । एकछिन पछि  भाँडाकुँडा भूइँमा बजारिएकाे आवज पनि थपियो । एउटा थाल भने सुर्यकुमारलाई लाग्यो । भाेलिसम्म मेरो काेठा खाली गर्नु । हाम्राे कुललाई तेरो जात चल्दैन । अछुत रहेछौं । तुरुन्तै सर्नु नत्र नराम्रो हाेला धम्की  आयो । कलहकै बिच बच्चा राेयाे । केटी मान्छेले बाेलिन्, दाइ त्यस्तो नभन्नु याे ठण्डीमा हामी कहाँ जाने ! सानो बच्चा छ । एकदुई महिना राेक्नु , मेरो श्रीमान विदेशमा हुनुहुन्छ । उहाँ आएपछि म सर्छु नि भनिन्  । पुरुष घरधनि पुनः चिच्याउन थाल्यो ।हुँदैन  कुजातहरु भाेलि गएनाैं भने सबै समान आगाे लगाइदिन्छु । मेरो भगवान रिसायाे । गैहाल! नत्र …भन्दै ढाेकामा लात हानेर ऊ आफ्नो काेठा भएको तलातिर जान्छ  ।

सुर्यकुमार कुनामा बसेर घरतिर हेर्न थाल्यो । ढाेकामा गणेश भगवानकाे चित्र थियो । छतकाे छेउमा शिवजीकाे बडेमानकाे मूर्ति । घरधनिकाे रुप त्यस्तो । एकछिन पछि  झ्यालबाट ती केटी मान्छेले हेरिन् । काखमा बच्चा समातेकी थिइन् । रुदै आँसु पुछेकाे देखिन्थ्यो । ऊ  केही बाेलेन ! कहालिलाग्दो दृश्य , मानवताले मृत्यु वहन गरेको अवस्था देख्दादेख्दै , ऊ नदेखेझैं गरी काेठातिर लम्किन्छ । काेठा नपुग्दै , माेडमा पुनः  ऊ झस्किन्छ, तर्सिन्छ । आज किन यस्तो भयो । पहिला कहिल्यै यस्तो  हुँदैन थियो । मनमनै प्रश्न गर्छ  । अगाडिको ठूलो डल्लो जस्तो आकृति हिडेकाे देख्छ । ऊ डरले थुरथुर काप्न थाल्छ । बिस्तारै बामे सर्दै , ठुलो डल्लोलाई छल्न  सटरकाे मुनि लुक्न बस्छ । ऊ सँगसँगै  सेताे कुकुर पनि बस्न आयाे । अब उसमा  अलिक आँट आयो । अघि देखेकाे  कुनामा कालाे पाेकाे हल्लिन थाल्छ । ऊ फेरि डरायाे , सहननै नसकेपछि चिच्यायाे । आज मेरो अन्तिम दिन रहेछ भन्याे । उसको आवाजबाट छेउको  कुकुर तर्सिएर  कुद्दै ठूलो डल्लो भएकाे ठाउँमा  गयो । वरिपरि घुम्याे , सुङ्याे । त्यहीँ बस्याे । कुकुर देखेपछि वृद्ध महिला उभिइन् । कमाल जिरिङन थियो ।  एकछिन उनले कुकुरलाई सुम्सुम्याँइन । त्यसपछि सुर्यकुमार ती बृद्व महिला भएको ठाउँतिर गए ।

आमा घर कहाँ हाे नि ? उसको पहिलो प्रश्न थियो । ती बृद्व महिलाले सुनेर पनि नसुनैझैं गरिन् । आफ्नो वरिपरि राखेका समान मिलाउन थालिन् । आमा ..आमा सुन्नुहुन्छ नि  पुनः उसले साेध्न खाेज्याे । एकछिन उसलाई ती बृद्व महिलाले हेरिरहिन् । रुन थालिन् । आमा ..आमा ! हामी छाैं नि नरुनु  सुर्यकुमाले भने । बाबु मेरो छाेराे पनि तिमी जस्तो छ । सानो दुखले हुर्काकाे थिइन । दिन भनिन रात भनिन । त्यसैको अनुहार हेेरेर जाेवन बिताए । आज सडककाे बास छ बाबु । कसलाई के भन्नु । आफ्नै सन्तानले दुख दियो , धाेका दियो भनेर कसलाई गुनासो गर्नु बाबु । यस्तै छ मेरो अवस्था ती बृद्वाले सुर्यकुमालाई सुनाइन् । यता उसको घरमा अभिभावककाे खाँचो थियो । आमा बा धेरै अगाडि परमधाम गैसकेका थिए । आमाको माया कस्तो हुन्छ भन्ने थाहा थिएन उसलाई  । उसले केही नसाेचि आमा जाउ घर । म तपाईंको छाेराे हुँ ,हिड्नु भन्यो ।

आमाले हुन्न बाबु , तपाईंको पनि परिवार हाेला । तपाईंको जस्तै सबैको मन नहुन सक्छ । मेरै कारण तपाईंको घरपरिवारमा झगडा हाेला । पछि फेरि फर्केर सडकमा आउनुपर्ने हाे । अहिले जे छ ठिकै छ । तपाईंले त्यति भन्नू भयो , तपाईंको भलाे हाेस् बाबु भनिन् । आमा मेरो विश्वास गर्नुहाेस् । मेरो घरमा काेहिँ छैन , सिवाय तपाईंको बुहारी । मलाई अभिभावक चाहिएको छ आमा  । तपाई अहिलेबाट मेरो अभिभावक , सुर्यकुमारले भने । ती आमाले केही बाेलिनन् । सुर्यकुमारले उहाँको छेउमा भएका झाेला उठाउन लाग्याे । खुट्टामा ढाेग्दै आमा जाउ अब भने उसले । आमाकाे आँखामा आँसु देखिन्थ्यो । माथि आकाशतिर एकछिन टाेलाइन् , पछ्याैरीले आँखा पुछिन । र पाइला सारिन् ।

सुर्यकुमार र आमाको हिडाइ देख्दा लाग्थ्यो ,वास्तविक आमा छाेरा यिनै हुन् । उसको एक हातमा झाेला अर्को हातमा आमाको हात समाएकाे थियो । पाइला बिस्तारै अघि बढेका थिए । आमा छाेरा गफिदै थिए । लाग्थ्यो , आमा छाेरा भनेको यस्तो हुनुपर्छ । आमा सुर्यकुमारकाे घर नजिकै माेडमा राेकिन् । ठूलो घरतिर औंलाे देखाउँदै , बाबु यहीँ हाे मेरो छाेराे बस्ने घर । घर निकै आलिसान थियो । आँगनमा दुईओटा गाडी थिए । बगैंचामा विभिन्न फूल फुलेका थिए । बिचमा मन्दिर जस्तो थियो । गेटमा कुनै एक भगवानकाे फाेटाे टाँसिएको थियो ।  सुर्यकुमारले पनि हेरे । केही बाेलेनन् । आमाले घरतिर थुक्दै जाउ बाबू भनिन् ।

एकछिनमा उनीहरू काेठामा पुगे । भित्रबाट सुर्यकुमारकी श्रीमती आइन् । बाबु काे हुन् यी नानी आमाले साेधिन् । उसले आमा उनी सरु , हजुरकी बुहारी भने । सरुलाई पनि उहाँ मेरो  आमा हुन् सुर्यकुमारले भने । उनले केही साेधिखाेजी गरिन् , सरासर पाउमा ढाेगिन् । सामान कुनामा राखेर सबै भित्र काेठामा गए । एकछिनमा  हाँसोकाे फाेहरा सुनिन्थ्याे । सरु र आमासँगै बसेकी थिइन् । सुर्यकुमार हातमुख धुन बाहिर निस्किएका थिए ।

मानिस अचम्मकाे प्राणी हाे । घरको भगवानलाई बाहिर फाल्दै बाहिरकाे ढुङ्गाेलाई घरभित्र भगवान भनी सजाउँछ । ऊ यस्तै ढुङ्गाप्रति  किन यति धेरै मरिहत्ते गर्छ ? माइनस २० मा समेत डुबुल्की मार्छ  । दमका बिरामी अग्ला मन्दिरकाे यात्रा गर्छन् । कति लेक लागेर मरेका छन् , भगवानकाे नाममा । कति मानसिक राेगी भएका छन् , भक्तिकाे नाममा । तर मानिस भगवानका पछि लागिरहेकै हुन्छन्  । भक्ति र शक्तिमै व्यस्त छन् । बिचरा भगवान मानिएको पथ्थर ! ऊ न बाेल्छ , न केही भन्छ न कसैलाई केही इसारा गर्छ ।

मानिसलाई यस्तै पत्थरकै माया भए अदालतका अगाडी पट्टी बाधेकाे मुर्ति किन सुनसान छ ? आखिर भगवान मानिएकाकाे भन्दा त्यो प्रतिमाकाे भूमिका पनि कहाँ कम छ र !  न्याय , अन्याय छुट्याउनेकाे प्रतीक हाे त्यो । कसैलाई विभेद नहाेस् , आफ्ना र परायकाे आधारमा निर्णय नहाेस् भनेर उनी वर्षाैंदेखि आँखा बन्द गरेर बसेकी छन् । 





जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ