मिम बहादुर परियार

आऊ , बस्याैं बैठक
मिलाउँ हात गराैं बात
खाउँ चिया अनि सिया
गराैं चियर्स लगाउ भाग
बनाउ देश , मिलाउ केश
प्रतिशत यताउता तल र माथि ।

छानाैं राेजाैं र बुझाैं
कुन खाने के खाने, गराैं तय
नदी नाला पहाड हिमाल कि
बालुवा गिट्टी काठ कि
रेड ब्ल्याक ब्लु लेभल कि
खाउँ खुवाउँ , दिउँ दिलाउ
नाचाैं र नचाउँ ,
आखरी मिलाउनु छ भाग
खानु छ कमिसन ।

हाे , टाल्नु छ सडक
भत्काउनु छ घर
बिगार्नु छ नक्शा
गराउनु छ बजेट पास
खानु छ बजेटका परिकार
मिलाई मिलाई
ग्रेभि फ्राई र झाेल ।

तारे हाेटलमा प्लेट भरेर
गिलास थपेर
झाेला भरेर
मिलाउँदै बात
कसेर हात
ठाेकाउँदै गिलास
यस्तै छ नेपाली विकास ।

खाँदाखाँदै
दलालकाे घर बदलियाे
तला गाडी थपियो
चल अचल सम्पत्ति कति हाे कति
रातारात लाख..करोड र अरब भयो
चाैकिदार..ठेकेदार ..मन्त्री भयो
कुटनैतिक आयाेगकाे नाइके भयो ।

खाएर उसले आफ्नाे सबथोक सजायाे
देश र जनताका सपना खायाे
बनायो , बदलियाे , किन्याे
सबैलाई चुपचाप बनायो
गरिब निमुखाकाे हत्या गर्याे
राेगले मार्याे भाेकले मार्याे ।

उसको प्रगतिले
जनताका घर भत्किए
बाटाे भत्कियाे
स्कुल अस्पताल भत्किए
एम्बुलेन्स दमकल बिग्रिए ,
बजेट तहसनहस भयो
ढुकुटी रित्याे
मान्छे अभावले छट्पटी छट्पटी बिते ।

खाउँ बाड् लुट
छुट छ तिमीलाई
सलुट छ तिमीलाई
हेक्का राख कात्रोकाेे गाेजि हुन्
इतिहासमा भ्रष्टकाे खाेजि हुन्न ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ