काठमाडौं ।चैत १५ गते शुक्रबार तीनकुने, कोटेश्वर, जडीबुटी क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको पूर्ति गर्न भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र काट्ने तयारी गरेको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) आफ्नो टिमसित छलफलपछि निर्मल निवासलाई पत्र पठाउने निचोडमा पुगेका उनीनिकट स्रोतले जनाएको छ । यसअघि उनले शक्ति प्रदर्शन गर्दा दरबारमार्गमा फोहोर गरेकोमा एमालेलाई र एयरपोर्ट क्षेत्रमा फोहोर गरेकोमा राप्रपालाई जरिवाना पत्र पठाएका थिए ।
शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा जनधनको क्षति भएको थियो । घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो भने दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाटसमेत गरेका थिए ।