तीनकुने घटनापछि राप्रपा आफ्नै नेतृत्वमा आन्दोलनकाे तयारी

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने घटनापछि वर्तमान व्यवस्था विरोधी राजावादी समूहको प्रभावित बनेको छ । शुक्रबार राजधानीको तीनकुनेमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ महाभियानसहितका राजावादी समूहले राजा फर्काउने दाबीसहित गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । 

उक्त हिंसात्मक आन्दोलनको चौतर्फी आलोचना भएको छ भने प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका राजावादीहरू पक्राउ परेका छन् । यस्तै संयुक्त आन्दोलन समितिका संयोजक नवराज सुवेदी गुहेश्वरी हाइटस्थित निवासमै ‘नजरबन्द’ अवस्थामा छन् । 

यस्तै तीनकुनेमा आन्दोलनकारीलाई भड्काएर भागेका दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेपनि उनी अझै पक्राउ पर्न सकेका छैनन् । हिंसात्मक घटनामा २ जनाको मृत्यु हुनुका साथै सुरक्षाकर्मी र प्रदर्शनकारी दुबैतर्फ दर्जनौँ घाइते भएका थिए । 

प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् । यस्तै नेपाल प्रहरीका घाइते थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको उपचार जारी छ । 

यस्तै घाइते कुल ५१ जना प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी छ ।

आन्दोलन समितिले शुक्रबारको प्रदर्शनअघि गरेको पत्रकार सम्मेलनमा संयोजक सुवेदीले संयुक्त आन्दोलन समितिमा कमान्डर को जिम्मा दुर्गा प्रसाईलाई दिएको बताएका थिए । यस्तै उनको नेतृत्वको महाअभियानले आफू नेतृत्वको समिति गठन गर्नु पूर्व नै शुक्रबारदेखि घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको उल्लेख गरेका थिए । तर, प्रसाईं नै भागेपनि उनको आन्दोलन छिन्नभिन्न भएको छ । 

सुवेदीले चैत १६ गतेलाई छाडेर आज (चैत्र १७ गते)देखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने बताएका थिए ।  उनले एक हप्ताभित्र सरकारले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे चैत्र २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजान बाध्य हुने चेतावनी समेत दिएका थिए । तर, अहिले आन्दोलन समिति थप कार्यक्रम गर्न सक्ने अवस्थामा नरहेको उक्त समितिका रहेका एक नेताले बताए । ‘नेताहरू नै पक्राउ परेपछि अब के गर्ने भन्नेबारे बैठक समेत बस्न सकेको छ । सबै अन्योल छ हेरौँ अब के हुन्छ’, ती नेताले भने । तीनकुनेको हिंसात्मक घटनापछि राजावादीहरू रक्षात्मक समेत बनेका छन् भने सरकारकै कारण अप्रिय अवस्था निम्तिएको दाबी गरिरहेका छन् । 

उता राप्रपा आफ्नै ढंगले अघि बढ्ने तयारी गरेको छ । राजावादीले गर्ने सबै आन्दोलनमा सघाउने नीति लिएको उक्त पार्टीले अब भने आफ्नै ढंगले कार्यक्रमलाई अघि बढाउने तयारी गरेको हो । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वघोषित चैत २६ गते काठमाडौँमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा वैशाख ७ गते हुने राजधानी केन्द्रित आन्दोलन हुने बताए । उनले उच्च मनोबल सहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई अपिल समेत गरेका छन् । तर, तीनकुने घटना भने सरकारकै कारण भएको उनको जिकिर छ । उनले राप्रपा हिंसाको विपक्षमा भने रहेको स्पस्ट पारे । 

उनले भने, ‘जसले जुन उद्धेश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भएपनि निन्दनीय छ। राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन।’

राप्रपाले तीनकुने घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानविन गर्न माग माग समेत गरेको छ।  

One thought on “तीनकुने घटनापछि राप्रपा आफ्नै नेतृत्वमा आन्दोलनकाे तयारी”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ