Nepal Viral
अप्रिल 28, 2025

महानायक राजेश हमालकाे नरसिंहा जेठ ९ मा रिलिज हुने

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल आठ वर्षपछि पुनः ठुलो पर्दाकाे चलचित्रमा फर्किएका छन् । यसपटक राजेश नरसिंहा चलचित्रबाट  २०८१ जेठ ९मा देशभरका विभिन्न  हलहरुमा  देखिनेछन् । यद्यपि यसअघि नयाँवर्षको छेकोमा आउने भनिएको फिल्म अब आगामी जेठ ९ गते रिलिज हुनेछ ।

सोमबार पत्रकार सम्मेलन गर्दै निर्माताले नयाँ रिलिज डेट तय गरेका हुन् । प्रदर्शन मितिसहित हमाल र अर्का अभिनेता राज कटुवालको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरिएको छ ।

दुवैजनालाई पोस्टरमा एक्सन अवतारमा देख्न सकिन्छ । बदला र सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मबाट हमालले लामो समयपछि कमब्याक गर्न लागेका हुन् । आफ्ना प्रिय कलाकार पर्दामा फर्किने भएपछि प्रशंसक उत्साहित छन् ।

हमालले पछिल्लोपटक फिल्म ‘जस्ट फर यू’मा अभिनय गरेका थिए । उनले करिअरमा २३० फिल्ममा अभिनय गरेका छन् । ३ दशकपछि यो फिल्ममा सरोज खनालसँग हमालले स्क्रिन सेयर गरेका छन् ।

फिल्ममा हमाल र कटुवालसहित नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरले अभिनय गरेका छन् ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र महर्जनसँगै ध्रुव न्यौपाने र दीपक ढकालले निर्माण गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ