काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गणतन्त्रको सहमति तीन जनाले गरेपछि मात्रै प्रचण्ड आएको प्रष्ट पारेका हुन्।
उनले एमाले, कांग्रेस र राजाबीच गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी ‘जनयुद्ध’ छाडेर आएको जानकारी गराए। नेपालले भने, ‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो। थाहा छ हैन यी जम्मै गर्ने हामी तीन जना नेता हो थाहा होस्। एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र। पछिमात्रै हुन् प्रचण्ड जी, पछि मात्रै हो। उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो।’
उनले एमाले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको तर माओवादी मंसिरमा मात्रै आएको दाबी गरे। नेपाल उक्त समयमा नेकपा एमालेका महासचिव थिए। ‘मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। निर्णय हामीले गरेको साउन महिनामा हो, हाम्रो पार्टी (एमाले)ले गणतन्त्र ल्याउने निर्णय गरेको साउन-भदौ महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गतेमा हो।’ उनले भने, ‘११ गते बस्दा म र गिरिजाबाबु थियौं। मेरो साथमा अमृत बोहोरा, भरतमोहन अधिकारी, कृष्ण सिटौला थिए। राजाका मुख्य सचिव र सचिव साथमा थिए, सबै हामीले सहमति गरेर कागज तयार गरेका हौं। त्यसमा राजाले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो।’
उनले पूर्वराजाको फर्किने इच्छा नरहेको कुरा उनकै सचिवबाट सुनेको भन्दै धन्यवाद दिए। ‘अहिले राजा फर्काउने कुरा छैन, उहाँको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ।’ नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति गर्ने भए पार्टी खोलेर राजनीतिक मैदानमा आउनसमेत आग्रह गरे।