Nepal Viral
अप्रिल 28, 2025

चिन्ता चिन्तन र नेपाली चरित्र

तिरूपति परियार

मेरो परिवार धरानमा भएकोले म हप्तैपिछे यात्रा गरिरहन्छु । सधै जसो यस हप्ता पनि म यात्रा गर्ने तरखरमा थिएँ तर दुर्भाग्यवस सौर्य एयर लाईन्सको प्लेन उडेको केहि सेकेन्डमै दुर्घटनाकाे खबरले मलाई आकाशकाे यात्रा गर्न आँट आएन । सदैव हवाइमार्गमम यात्रा गर्न रुचाउने  म , त्यसबखतकाे हृदयविदारक घटनाले मलाई  तुरुन्तै लाेकमार्ग राेज्न बाध्य बनायो ।  यद्यपि , वर्षाको समयमा  थल मार्ग पनि त्यति धेरै भरपर्दो र विश्वासिलो माध्यम भने थिएर तर मसँगै परिवार भेट्नुकाे विकल्प पनि थिएन  ।


अघिल्लो हफ्ता बिहान ३ बजे माइक्रो बस चढेर म धरानतिर लागें । ड्राइभरले चाबहिलको ३ स्थानबाट मान्छे चडाई बिस्तारै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो समाते । गेटदेखि केहि पर पुगेपछी …..पूर्व-पूर्व भन्दै डाइभर यात्रु बाेलाउँदै थिए । यत्तिकैमा एक जना आएर ‘म त राजविराज जाने हो, तपाइँ को गाडी राजविराज जान्छ ?” भनेर चालकलाई साेधे । ड्राइभरले एकछिन टक्क रोकेर केहि सोचेझैं गर्दै उत्तर दिए, “ जाने हो, भाडा कति दिने हो ?” ती मान्छेले १४०० दिन्छु भने। “यो गाडी त हिले जाने हो, मैले पनि बीच बाटोबाट अर्को गाडीमा हालिदिन पर्छ, खै मेरो हातमा त खासै नआउने भयो भन्दै अलि घुर्क्यायझैँ गरेर गाडी अघि लगे । ती मान्छेले एकछिन पर्खाएर आफ्नो ट्याक्सीबाट सुतिरहेको अर्को मान्छेलाई निद्रामै धरपकड शैलीमा उठाए, “ तपाईको गाडी आयो ल जानुस , भने ।”


ट्याक्सीबाट एकजना मधेस मुलको युवा निक्लिए। मैले खासै ध्यान दिइन, मलाई आफ्नो निद्रा नै प्यारो थियो । उनी कराउँदै गाडी भित्र पसे- (मधेसी टोनमा) भयो भयो दाइ, मैले धेरै दिसके, अझै कति लिनु हुन्छ? गोजी नै रित्याउने बिचार छ? दलाली रुचाउने ती व्यक्तिले उसको सामान गाडीको पछाडि राखी सकेका रहेछन् । ती राजबिराज जाने यात्री भने ठट्यौली  शैलीमा कानमा लगाएको एयरपडमा कोसँग हो मुसु मुसु हाँस्दै गफिदैं थिए । गफ गर्दै , उनले  एक पोका गुट्का मुख हाले , बेस्सरी चपाए, झ्यालबाहिर पिच्च थुके । उक्त कार्यपछि उनको  थकित अनुहार हँसिलो देखिन्थ्यो ।
गाडी कोटेश्वरतिर लागेपछि डाइभरले भने – ए भाइ , तिमीले कति दियौ त्यो ट्याक्सी वालालाई? मलाई १५०० हातमा थमाइ दिएको छ “ । केटोले हिसाब गर्दै भन्यो, “तपाइँलाई पनि ठगेछ त्यो ट्याक्सीवालाले, मसँग भाडा १९०० र गाडी खोजिदिए बापत १०० लग्यो, झन्डै २००० फुत्काएको मसँग पनि “ हाँस्दै ती युवा फेरी एयरपड कानतिर लागे र आफ्नो हितैषीसँग गफिन थाले ।


कुरा गर्दै जाँदा कुराभित्रकाे चुरो बुझियाे ।  ती भाइ कतारबाट रातिमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका रहेछन् ।  आफ्नो घर राजविराज जानको लागि गाडी खोज्ने क्रममा ती ट्याक्सीवालासँग कोटेश्वर जाने कुरा भएको रहेछ । ट्याक्सीवाला बाठो पल्टिएर, त्यो भाइलाई एकछिन आफ्नो ट्याक्सीमा आराम गर्न लगाएर गाडी खोज्नतिर लागेछन् । यस क्रममा, म चढेको गाडी फेला पर्यो अनि सुरु भयो दलालको खेला । त्यो ट्याक्सीवालाले दलाली गरेकै भरमा कुनै  सेवा प्रदान नगरी देशलाई रेमिटान्स पठाउने  ती भाइबाट ५०० ठग्यो | दलाल ड्राइभरले जस्तैः  माइक्रो ड्राइभरले  १५०० लिएर गाईघाटमा  १७० थमाएर अलपत्र अवस्थामा छाेेडे | विदेशबाट लामो यात्रा तय गरेर नेपाल फर्केको ती भाईले २००० तिर्दा पनि सहज तरिकाले आफ्नो गाउँ घर पुग्न सकेनन् । जबकी काठमाण्डौंबाट राजविराजसम्मको भाडा दर यातायात व्यबस्थापन विभागले रु. १२९० निर्धारण गरेको छ  | गाईघाटबाट अझै दुइ घण्टा लाग्छ राजविराज पुग्न तर त्यहाँबाट उसले गाडी, पाउने हो कि हैन ? कति बेला पाउने हो, कति बेला घर पुग्ला भन्ने अनिश्चित नै थियो ।
गाडीभरी मान्छे थिए, अधिकांश युवा पहाडे मूलका । यो सबै वृतान्तको मुखदर्शक भएर बसेका थिए । राजबिराज पुग्नुपर्ने ती भाइ  दुईपटक  ठगिएकाे साक्षी हुँदासमेत एकजनाको पनि मुखबाट एउटा शब्द निक्लिएन । त्यसपश्चात म गहिरो चिन्तनमा डुबें ।

मलाई ती भाइप्रति सहयात्रीले गरेकाे व्यवहार , ड्राइभरहरुकाे ठगी, ताेकिएकाे रकमभन्दा धेरै पैसा तिर्दा पनि ऊ आफ्नो घर समयमै पुग्न सकेनन् । हामी गाडीमा बसेका उसका सहयात्रीहरु आवरणले मान्छे थियौं । तर हाम्रो चेतना , अवस्थाले हामीलाई मान्छे मान्न लायकको भने थिएन । हामी ती भाइ खुलेआम आफ्नै देशमा कथित सचेत युवाहरूकाे माझ दुईपटक ठगिदासमेत एक शब्द बाेलेनाैं । हामी वास्तवमा स्वार्थी हाैं । आफू अनुकूलबाहेक अन्य कार्यमा हामी अन्जान बस्न रुचाउँछाैं।

यात्रा अवधिभर  धेरै कुरा मनमा आइरहे । अचानक  एक महिना अगाडी शेख हसिनाले आफ्नो ज्यान जोगाउन, आफ्नो जन्म र कर्म थलो, आफुले राज गरेको देश र परिवेस सबै त्यागेर हेलिकप्टरमा भाग्नु परेको थियो । युवाहरुले आरक्षणमा नीतिगत भ्रष्टाचारलाई रोक्न गरेको आन्दोलनले एउटा  शासकलाई घोडा टेकन बाध्य बनाएको घटना ताजा नै छ | ‘इन्क़लाव जिन्दावाद’ भन्दै सडकमा गरेको आन्दोलनले सारा देशलाई जगायो, एउटा देश, सत्ता र ब्यबस्थालाई नै परिवर्तन गर्ने आँधी ल्यायो।  युवाको जोश र हिम्मतको सामु तानशाह टिक्न सकेन | संसारभरमा हेर्ने हाे भने  देशभित्र  परिवर्तन युवाहरुकै अगुवाइमा भएका छन | तर विडम्बना हामी भने ठगीको मतियार भएर गाडीमा बसिरहेका थियौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक सयौं युवाहरुको घुइंचो लागेको तस्बिर सामाजिक सञ्जालमा छ्याप छ्याप्ती देख्न सकिन्छ | एक थरि युवा रोजगारका लागि विदेशिदै छन् भने अर्का थरि उच्च शिक्षा हासिलका लागि गएका सम्पूर्ण युवाहरु जो उच्च शिक्षा हासिल गर्ने भनेर अन्य देश जादैछन । के उनीहरु पुनः देश फर्किने मनशायले जादैछन? कि उतै पलायन हुने सोच बोकेर प्लेन चढ्दैछन्? कुनै माध्यमिक तहमा पढ्ने विद्यार्थीलाई सोध्नुस्, उसको जवाफमा अस्ट्रेलिया, जापान, अमेरिका, युके वा अन्य कुनै देशको नाम पाउनुहुनेछ | स्वभाभिक पनि हो, लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत छनौट नै प्राथमिक रहन्छ अथवा यसो पनि भनौ कि उदारवादले श्रीजना गरेको यो सन्दर्भमा व्यक्ति स्वयंलाई आफ्नो भविष्य निर्माण गर्ने सर्वाधिकार रहन्छ र आफ्नो ल्याकतले भ्याएसम्म उपलब्ध गुणस्तरीय शिक्षामा पहुँच पाउनु पर्छ ।


यसो भनिरहँदा हामीले हाम्रो समाजमा कस्तो सोच र नैतिकताको निर्माण गरिरहेका छौ? हाम्रो उदारवादको मोडेल के हो? व्यक्तिगत निर्णय नै केन्द्रमा रहने हो भने हालको समयमा समाजवाद र समुदायावादमाथि ब्यक्तिबाद हावी हुदैछ | यसले कालान्तरमा हाम्रो सामाजिक संरचना, सोसल कन्ट्राक्ट, संरचनागत परिवारवाद, समुदायवाद अनि राष्ट्रवादमाथि नै धावा बोल्ने देखिन्छ । उत्पादकत्वमा ह्रास आउने र सम्पूर्ण अर्थव्यवस्थामै संकट नआउला भन्न सकिंदैन ।  श्रीलंकाको झैं संकट हाम्रै पालामा सहन गर्नु पर्ने हुन्छ | राज्यले समयमै यी सवालहरुको सम्बोधन गर्दै भविष्यमा आइपर्न सक्ने समस्या हरुको निरुपण गर्नुपर्ने हुन्छ |
देशमा देखिएको वैदेशिक पलयान समस्याको  समाधानको यात्रामा  सरकार र नागरिकको भूमिका उत्तिकै महत्वपुर्ण रहन्छ । जिम्मेवार नागरिक, दुरदर्शी तथा जवाफदेही सरकारको संयुक्त प्रयासले परिवर्तन सायद तेती धेरै कठिन र टाढा नहोला । यद्यपि , शिक्षा, स्वास्थ्य र रोजगारीसहित सम्पूर्ण आधारभूत आवाश्यकता तथा सार्वाजनिक हितका विषयमा समयानुकुल उचित नीतिगत फ्रेमवर्क र त्यसको प्रभावकारी कार्यान्वयन अत्यावाश्यक छन् | गुणस्तरीय शिक्षामा पहुँचसंगै सक्षम तथा दक्ष जनशक्तिलाई पर्याप्त मात्रामा रोजगार सृजना गर्नुका साथै लगानी जोखिमताकाे व्यवस्थापन गरि उद्यमशीलतालाई बढावा दिनु पर्ने देखिन्छ | श्रमको श्रम , आकर्षक पारिश्रमिक निर्धारण हुने हो भने प्रत्येक श्रमिकले आफ्नो व्यक्तिगत प्राथमिकताको पूर्ति गर्न सक्दछ अनि मात्र अधिकार सम्मपन्न नागरिकले गर्वका साथ  राष्ट्रियता बोकेर देशभित्र  बस्ने छन् ।


अन्त्यमा , प्रसिद्ध गायन समूह ,नेपथ्य ब्याण्डले सधै भन्ने गर्छ, “हिमाल पहाड तराई, कोहि छैन पराई” सुन्दा कानलाई पनि आनन्द आउने हरफ ।  तर व्यवहारमा भने तेती आनन्दमय भएको देखिँदैन । उदाहरणकाे लागि यात्राको क्रममा मेरो देखाइ र भोगाइको बेलिबिस्तार प्रस्तुत गर्दै गर्दा हामी युवा आफ्नै स्वार्थी संसारमा रमाइरहेका छाैं  । हाम्रो राेजाइ र भाेगाइमा धेरै भिन्नता छ । हामीले गर्नुपर्ने काम धेरै छन् तर हामी  नगर्नुपर्ने  काम बारम्बार गरिरहेका छाैं । यस्तो अवस्थामा  युवा पुस्ताको प्राथामिकिता,  हाम्रो भविष्यले कस्तो निर्माण गर्ला ? हाम्रो समाजको संरचना र शिक्षाको परिपाटीको भूमिका उपर गहिरो चिन्तन आवश्यक देखिएको छ । अन्यथा यहीँ अवस्थामा युवा जमात अघि बढ्ने हो भने राज्यले विकराल अवस्थाकाे सामना गर्नुपर्ने देखिन्छ । भलै गीतमा “हिमाल पहाड तराई, कोहि छैन पराई” नाराका गाउन सकिएला तर खोक्रो राष्ट्रवादको झोला बोकेर नाङ्गो सडकमा पाखण्ड प्रश्तुत गर्नु कति न्याचित हाेला !  हेक्का रहोस, कस्ता कस्ता बाहुबली त सत्ताच्युत भएर कुलेलाम ठोक्नुपरेको छ, यदि आजको युवालाई प्रयोग मात्र गर्ने डिजाईन हो भने भोलि तिनै युवाले खेद्ने छन् | चेतना भया !! 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ